ढल र नाला सफाइ अभियान सुरु
पोखरा । पोखरामा ढल र नाला सफाइ अभियान सुरु भएको छ । शुक्रबार बिहान पोखराको पृथ्वीचोकबाट सेतीतर्फ लगिएको नाला सफा गरेर अभियान सुरुवात गरिएको हो ।
महानगरका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत बलाराम रिज्याल, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाही, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक रमेश थापा, महानगरका विभिन्न वडाका अध्यक्ष एवं जनप्रतिनिधिको सफाई अभियानमा सहभागिता थियोे ।
महानगरका मेयर आचार्यले सरसफाइको काम महानगरको आफ्नै नियमित काम भए पनि यसपालि सडक किनाराका नाला र ढल सबैभित्रै पसेर सफा गर्न सुरु गरिएको जानकारी दिए । ‘सरसफाइ महानगरको नियमित काम हो । यसपालि अबको ३ दिन पोखराको टुडिँखेलदेखि बिरौटा हुँदै छोरेपानका साथै सबै नाला र ढल बग्ने स्थलमा भित्रै पसेर सफाइ गर्दै छौं,’ उनले भने ।
मेयर आचार्यले पोखराको पुरानो ढल निकासले थेग्ने अवस्था नरहे पनि अहिले वर्षादको सुरुवातमा सफा गर्दा केही सहज हुने बताए । आगामी दिनमा थेग्ने खालको र व्यवस्थित ढल निकास गर्न महानगर लाग्ने उनले प्रतिवद्धता गरे ।
पोखरामा फोहोरमैलाको दिगो रुपमा व्यवस्थापनका लागि नयाँ ल्यान्डफिल साइट ३३ नम्बर वडामा बनाउने बिहीबार बसेको कार्यपालिकाको बैठकले निर्णय गरेको उनले जानकारी दिए । उनले उक्त ल्यान्डफिल साइडका लागि तत्काल काम थाल्ने प्रतिवद्धतासमेत उनले जनाएका छन् ।
महानगरको अभियानमा स्थानीय, स्थानीय प्रशासन, प्रहरीसहित टोल विकास संस्था र अन्य सामाजिक संघ, संस्थाले समेत साथ दिने जनाएका छन् । उपमेयर मञ्जुदेवी गुरुङले पोखरालाई सफा र सुन्दर राख्न महानगरले चाल्ने हरेक अभियानमा सबै सहभागी बन्नुपर्ने बताइन् । उनले आफ्नो सहर सफा र सुन्दर राख्न नागरिक पनि आफैं खटिने र महानगरलाई पनि रचनात्मक सुझाव दिँदै सहभागी हुनुपर्ने बताइन् ।
पोखरा महानगरपालिका सरसफाई शाखाका प्रमुख कल्पना बरालका अनुसार शुक्रबार १६ टनभन्दा बढी फोहोर संकलन भएको छ । नाला भित्रको सफाइ सडक विभागले गर्नेछ भने त्यसको व्यवस्थापन महानगरले गर्ने भएको छ ।
तपाईको प्रतिक्रिया