जिसस लमजुङमा एमालेको प्यानलै विजयी

समाधान संवाददाता २०७९ जेठ २९ गते ११:३१

बेसीसहर ।
जिल्ला समन्वय समिति लमजुङमा नेकपा एमालेको प्यानलै विजय भएको छ । प्रमुख, उपप्रमुख र सदस्यहरु एमालेकै विजयी भएका छन् । प्रमुखमा नेकपा एमालेमा पूर्णबहादुर गुरुङ निर्वाचित भए ।

निर्वाचनबाट १० मतका साथ राइनास नगरपालिका ९ का गुरुङ प्रमुख पदमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी सुन्दरबजार नगरपालिका ७ निवासी नेपाली कांग्रेसका मुरली कुमालले ६ मत ल्याए । मतदाता १६ जना रहेकोमा १६ मत नै खसेको थियो ।
मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार उपप्रमुख र सदस्य पदमा भने नेकपा एमालेका उमेदवार निर्विरोध भए ।

उपप्रमुख पदमा बेंसीसहर नगरपालिका ७ का बुनाकुमारी रिमाल निर्विरोध निर्वाचित भइन् । महिला सदस्यमा मस्र्याङ्दी गाउँपालिका ३ की बबिता मजाकोटी सार्की, मध्यनेपाल नगरपालिका ३ की शारदा साँखी, सुन्दरबजार नगरपालिका २ की विमला खड्का निर्वाचित भएका छन् । खुला सदस्यमा मध्यनेपाल नगरपालिका ८ का मोहनबहादुर गुरुङ, दोर्दी गाउँपालिका ६ का शेरबहादुर बोगटी र बेँसीशहर नगरपालिका ६ का केशरबहादुर खत्री, अल्पसंख्यक सदस्यमा सुन्दरबजार नगरपालिका ११ का गमबहादुर दुरा निर्वाचित भएका छन् ।

Advertisement

जिल्ला समन्वय समितिमा १ जना प्रमुख, १ जना उपप्रमुख, कम्तिमा ३ जना महिला र कम्तीमा १ जना दलित वा अल्पसंख्यक गरी बढीमा ९ जना सदस्य चुनिन सक्ने व्यवस्था संविधानमा छ । प्रमुख पदमा निर्वाचन भए पनि अन्य पदहरुमा निर्विरोध भएको हो । जिल्ला समन्वय समितिको प्रतिनिधि चुन्ने निर्वाचनमा नगरपालिका प्रमुख-उपप्रमुख, गाउँपालिका अध्यक्ष-उपाध्यक्ष मतदाता थिए । लमजुङको ८ पालिकाका १६ जना मतदातामध्ये ९ जना नेकपा एमालेबाट निर्वाचित भएका थिए । एमालेको पक्षमा १० मत आएको हो । नेपाली कांग्रेसको ५ जना र नेकपा माओवादी केन्द्रको २ जना मतदाता थिए ।

Advertisement

तपाईको प्रतिक्रिया