कार्टुनको निसाना भ्रष्टाचार

अभिषेक अधिकारी २०७९ जेठ २९ गते १२:०५

पोखरा ।
नेताहरुको मुखबाट बारम्बार सुनिन्छ-भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता । तर व्यवहारमा भने ‘म मेरो देश नेपालमा भएको भ्रष्टाचारप्रति पूर्णसहनशील’ भन्ने खाले नै छ । यही सन्देश दिएको छ नारदमणि हर्ताम्छलीको कार्टुनले ।

नारदमणि जस्तै ३६ जना व्यंग्यचित्रकारका व्यंग्यचित्रको प्रदर्शनी शनिबारदेखि पोखरा महेन्द्रपुलको आर्ट ग्यालरीमा सुरु भएको छ । सबैजसो कार्टुनले देशको भयावह दर्शाइरहेको छ । भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनीलाई ‘निसाना’ नाम दिएर कार्टुनिस्ट क्लब अफ नेपालले आयोजना गरेको हो । अकृन अधिकारीको कार्टुनले भ्रष्टाचारीहरुको लत नै देशलाई कंगाल बनाउने बनिसकेको स्थितिलाई उजागर गरेको छ ।

कार्टुनिस्ट अविन श्रेष्ठको कार्टुनले भ्रष्टाचार रोक्ने देशको नीति केवल देखावटी प्रयास भएको बुझाउँछ । कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजको सिर्जनाले सरकारी अनुदान कार्यक्रमले गर्दा भ्रष्टाचार गर्न निकै सजिलो भएको चित्रण गरेको छ । कार्टुनिस्ट अनुप गुरुङले सरकारी कमसल कामको नतिजा, रविन सायमीले भ्रष्टाचारीहरुको जीवनमा आएको परिवर्तन, विश्व थापाले नेपालको यातायत व्यवस्थापनमा हुने अयमितता, वात्स्यायनले उपहारको नाममा हुने भ्रष्टाचार विरुद्धका विषयवस्तुलाई आफ्नो कार्टुनमा चित्रण गरेका छन् ।

कार्टुनिस्ट क्लबका निवर्तमान अध्यक्ष अविन श्रेष्ठले नेपालका कार्टुनिस्टहरुले नराम्रो कामको मात्र चित्रण गर्ने गरेको आरोप लाग्ने गरेको बताए । श्रेष्ठले भने, ‘नेपालमा ९९ प्रतिशतभन्दा बढी व्यंग्यात्मक कार्टुनहरु भ्रष्टाचार विरुद्ध हुन्छन् । राम्रो कुरा त यसै राम्रो छ नि नराम्रो कुरालाई विषय बनाउँदा त्यस क्षेत्रमा सुधार हुन्छ कि भन्ने कार्टुनिष्टहरुको आशय हुन्छ ।’ साहित्यकार सरुभक्तले पोखरमा उपस्थित सम्पूर्ण कार्टुनिस्टहरुलाई सम्बोधन गर्दै पत्रिकामा कार्टुनको महत्व र यसको उद्गमको बारेमा जानकारी दिए । लियोनार्दाे दाभिन्चीका कलामा पनि व्यंग्यचेत रहेको उनले बताए ।

कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले आजभोलि भ्रष्टाचार पनि डिजिटल माध्यमबाट हुने भएकाले भ्रष्टाचारको आयाम थप मजबुत हुँदै गएको बताए । कार्टुन प्रदर्शनी जेठ ३० गतेसम्म चल्नेछ । आइतबार अपराह्न ३ बजे दुर्गा बराल वात्स्यायनको उपस्थितिमा अन्तक्र्रिया हुँदैछ ।

तपाईको प्रतिक्रिया