
बेसीसहर ।
पहाडी जिल्ला लमजुङमा बर्खे धान रोपाइँ सुरु भएको छ । जिल्लामा मकै बाली भित्र्याएसंगै केही दिन अघिबाट उच्चपहाडी क्षेत्र एक हजार ६०० मिटर उचाइमा धान रोप्न सुरु गरिएको हो ।
चाँडै मकै पाकेका ठाउँ र पानी पर्याप्त भइसकेको ठाउँहरुमा धान रोप्न सुरु भइसकेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मदन रेग्मीले बताए । उनले भने, “यस वर्ष पानी परिरहेकाले अब केही दिनपछि त जिल्लाका अधिकांश ठाउँहरुमा रोपाइँ धमाधम हुनेछ । मर्स्याङ्दी गाउँपालिका–५ घेर्मुफाँटमा यतिबेला धमाधम धान रोपाइँ भइरहेको छ । यहाँ किसानले समूह बनाएर धान रोपाइँ गरिरहेका छन् । स्थानीयवासीले घेर्मुफाँटमा जौधान, मार्सी, झिनुवा, एक्ले जातको धान लगाउने गरेका छन् ।
त्यस्तै सञ्चारकर्मीसमेत रहेका मध्यनेपाल नगरपालिकाका किसान संगीत नेपालीका अनुसार मध्यनेपालका रिस्ती, भोर्लेटार फाँटलगायत पानी भएको ठाउँहरुमा रोपाइँ सुरु भएको छ । जिल्लाका केही ठाउँहरुमा रोपाइँका लागि तीव्र तयारी भइरहेको छ । बेँसीसहर नगरपालिका–११ रामचोकबेँसीमा रोपाइँका लागि आली ताँस्ने, भित्ता सफा गर्ने, बाजो जमिन जोत्नेलगायत कार्य भइरहेको स्थानीयवासी ईश्वर सेढाईंले बताए । उनले भने, “अब यी कामहरु सकेपछि यहाँका किसानले केही दिनपछि रोपाइँ सुरु गर्नेछन् । मर्स्याङ्दी गाउँपालिका–८ घाम्राङका बासिन्दा गमप्रसाद गुरुङले भने, ‘पानी परिरहेको र अब आउने बिहीबारदेखि यहाँका स्थानीयवासीले रोपाइँ सुरु गर्न लागेका छन् ।
(किसानले सावित्री, जेठोबुढोसहित उन्नत जातका मकवानपुर, गोरखनाथ, लोकनाथ, मनसुली र हाइब्रिड जातको धान लगाउँदै आएका छन्)
जिल्लामा ठूला–ठूला फाँटहरु रामचोकबेँसी, राइनासटार, धमिलिकुवाँ, चक्रतीर्थ, भलाखर्क, भोर्लेटार, दुईपिप्ले, सोतिपसल, परेवाडाँडा, सत्रसय, सुन्दरबजारलगायत स्थानमा चाँडै गहुँ, जौ तथा मकै पाक्ने ठाउँमा चाँडै रोपाइँ सुरु भएको उक्त केन्द्रले जनाएको छ । जिल्लाका ४५ हजार ५० हेक्टर खेतीयोग्य जमिनमध्ये १५ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा धानखेती हुँदै आएको छ ।
जिल्लाका किसानले सावित्री, जेठोबुढो, रामधान, सुनौलो सुगन्ध, लोकतन्त्र, एक्लेजस्ता उन्नत जातका धानलगायत मकवानपुर, गोरखनाथ, लोकनाथ, मनसुली, युएस ३१२, उपज, वर्षे तीन हजार चारलगायत हाइब्रिड जातको धान लगाउँदै आएका छन् । कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा–२ र सुक्खा–३ जातका धान लगाउने गरेका छन् । गत वर्ष १४ हजार २६० हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीबाट ४४ हजार ७७६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया