जनप्रिय क्याम्पस संस्थापक प्रमुख पालिखेको स्मृतिमा ४ लाखको अक्षय कोष

समाधान संवाददाता २०७९ जेठ २९ गते १५:१२

पोखरा ।
मानित विश्वविद्यालय उन्मुख जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको १७ औं स्मृति दिवसका सन्दर्भमा वक्ताहरूले उनको योगदानको कदर गर्दै लामो समयसम्म सम्झनालायक काम गर्नुपर्ने बताए ।

जनप्रिय बहुमुखी क्याम्पसद्वारा आयोजित स्मृति दिवसमा गणेशमान पालिखेकी जीवनसाथी गंगादेवी पालिखेले रक्तचन्दनको वृक्ष रोपी कार्यक्रमको उद्घाटन गरिन् । गंगादेवीले पति गणेशमानको सम्झनामा परिवारका तर्फबाट ४ लाख रूपैयाँको अक्षयकोष स्थापनाको घोषणा गरेकी छन् । उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक र कर्मचारीलाई पुरस्कृत गर्ने उद्देश्यले हेरक वर्ष पालिखेको स्मृति दिवसका अवसरमा प्रदान गर्ने गरी अक्षय कोष स्थापना गरिएको हो ।


निमित्त क्याम्पस प्रमुख कृष्णबाबु बरालले जनप्रिय क्याम्पसलाई मानित विश्वविद्यालयको प्रारूप बनाउन र विकासमा योगदान दिएको चर्चा गरे । २०६० सालमा त्रिभुवन विश्वविद्यालयको बिबिए कार्यक्रम उपत्यका बाहिर पहिलो पटक जनप्रिय क्याम्पसमा ल्याएका पालिखेले यसलाई गुणस्तरीय बनाउन सक्रिय थिए । बिविएको उत्कृष्ट नजिताले नै जनप्रियलाई थप लोकप्रिय बनाएको बरालले बताए ।

Advertisement


समुदायले स्थापना गरेको क्याम्पसमा समुदायले दिएको जिम्मेवारी पालिखेले आफ्नो भौतिक शरीर रहँदासम्म इमान्दारितापूर्वक बहन गरे । उनमा नेतृत्व क्षमता र कार्य दक्षता थियो भन्ने पुष्टि गरेका थिए । विश्वविद्यालय अनुदान आयोगबाट दुई पटकसम्म गुण मापन तथा प्रत्ययानको प्रमाणपत्र पाउन र शिक्षा मन्त्रालयबाट दुई पटक मुलुकभरिका सामुदायिक क्याम्पसमध्ये उत्कृष्ट पुरस्कार प्राप्त गर्न सफल क्याम्पसको मेरुदण्डका रूपमा पालिखेले खेलेको भूमिका स्मरण गर्न लायक छ ।


२०६२ जेठ २९ गते माओवादीले गणेशमान पालिखेलाई उनकै निवास अगाडि नागढुंगामा गोली हानी हत्या गरेको थियो । शिक्षामै सहादत प्राप्त गरेका कारण सरकारले उनलाई शैक्षिक सहिद घोषणा गरेको हो । कास्की जिल्लाबाट २०२२ सालमा एम कम पास गर्ने उनी पहिलो व्यक्ति हुन् । २०२३ सालमा पश्चिम जर्मनीबाट औद्योगिक व्यवस्थापनमा स्नातक गरेका पालिखेले २०३० देखि २०३२ सालमा पृथ्वीनारायण क्याम्पसको प्रमुख भएर काम गरेका थिए ।

Advertisement

२०४६ सालमा स्वेच्छिक अवकाश लिएपछि उद्योगमा होमिएका पालिखेलाई जनस्तरबाट स्थापित जनप्रिय बहुमुखी क्याम्पसको संस्थापक प्रमुखका लागि प्रस्ताव गरेपछि १४ वर्ष निरन्तर नेतृत्व दिएका थिए ।

जनस्तरबाट स्थापित जनप्रिय बहुमुखी क्याम्पसको संस्थापक प्रमुखका लागि प्रस्ताव गरेपछि पालिखेले १४ वर्ष नेतृत्व दिएका थिए


पब्लिक क्याम्पस प्राध्यापक संघ, नेपाल राष्ट्रिय प्राध्यापक संगठन, प्रगतिशील प्राध्यापक संगठन, प्रजातान्त्रिक प्राध्यापक संघ, कर्मचारी संघ जनप्रिय इकाई, स्वतन्त्र विद्यार्थी युनियन लगायत प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूले पालिखेले जस्तै क्याम्पसलाई केन्द्रमा राखेर काम गर्नुपर्ने विचार राखेका थिए ।

स्वर्गीय पालिखेको सम्झनामा बिबीए तथा पुस्तकालय भवनलाई गणेशमान पालिखे स्मृति भवन नामकरण यसअघि नै गरिएको जानकारी प्रशासक महादेवकुमार पालिखे जानकारी दिए ।

तपाईको प्रतिक्रिया