मर्मत नभएपछि सांकेतिक सडक बन्द

रिखिराम जिसी २०७९ जेठ ३१ गते १०:२७

पोखरा ।
बेगनासताल–भोर्लेटार राजमार्गको पचभैया सडकखण्ड मर्मत नभएको भन्दै स्थानीयले सांकेतिक सडक बन्द गरेका छन् । तालबेसीदेखि भोर्लेटारसम्मको सडक स्तरोन्नति भए पनि उक्त पचभैया खण्ड स्तरोन्नति नहुँदा सोमबार विहान ३० मिनेट दबाबमूलक सांकेतिक सडक बन्द गरिएको स्थानीय चिरञ्जीवी सुवेदीले बताए ।

Advertisement

‘सोमबार बिहान साढे ८ देखि ९ बजेसम्म स्थानीयको सहभागितामा माझीकुना जाने चोकमा सडक बन्द गरेका हौँ,’ उनले भने, ‘बारम्बार महानगरदेखि मन्त्रालयसम्म जानकारी गराउँदासमेत बेवास्ता भएपछि सडक बन्द गर्न बाध्य भएका हौँ ।’ स्थानीयले सोमबार भेला गरी दामोदरभक्त थापाको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेका छन् ।

बेगनासताल–भोर्लेटार जाने मोटर बाटोको ट्र्याक खोलेको ३४ वर्ष भयो । तत्कालीन खाद्य संस्थानमार्फत खोलिएको उक्त ट्र्याक २०६५ सालमा तत्कालीन सडक डिभिजन कार्यालयमार्फत कालोपत्रे गरिएको थियो । पोखरा बेगनासतालदेखि लमजुङ जाने सडकमा दैनिक ५-७ सय गाडी आउजाउ गर्छन् । उक्त सडकको बेगनासतालदेखि तालबेसीसम्मको क्षेत्र नियमित मर्मत नहुँदा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । कालोपत्रे भएपछि सडक नियमित मर्मत गर्न ७ जना कर्मचारी राखिएको थियो । तर सडक प्रदेश अन्तर्गत गएपछि उक्त कर्मचारी प्रदेशले कटौती गर्‍यो ।

गत वैशाख ५ गते स्थानीयहरुले सडकको समस्या समाधानमा पहल गर्न महानगरदेखि मन्त्रालयसम्म ध्यानाकर्षण गर्ने निर्णय गरेका थिए । सोही अनुरुप मुख्यमन्त्री, अर्थ मन्त्रालय, पूर्वाधार विकास तथा भौतिक पूर्वाधार मन्त्रालयदेखि महानगरपालिकासम्म बजेटका लागि ध्यानाकर्षण गराएका थिए । ध्यानाकर्षणको सुनुवाइ नभएको भन्दै स्थानीयले सोमबार विहान सडक बन्द गरेका हुन् ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले फोन गरेर सडक मर्मत गर्न आवश्यक बजेट छुट्याउने बताएको सुवेदीले बताए । ‘मन्त्रीज्यूले फोन गरेर मर्मत गर्न बजेट छुट्याउँछु भन्नुभएको छ,’ उनले भने, ‘उपभोक्ता समितिमार्फत भोलि नै मन्त्रालयमा जान्छौँ ।’ सडकको महानगरबाट निरीक्षण गरेकाले सडक बन्नेमा केही आशा पलाएको उनको भनाइ छ ।

Advertisement

बेगनासतालदेखि भोर्लेटार जाने सडकको तालबेसीदेखि भोर्लेटारसम्मको सडकको प्रदेश सरकारमार्फत स्तरोन्नति भएको थियो । तर बेगनासतालदेखि तालबेसीसम्म प्रदेश सरकारको नपर्ने भन्दै स्तरोन्नति भएको थिएन ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया