मुस्ताङको घमी खोला पुलको ठेकेदारलाई एक हप्ते अल्टिमेटम,काममा नफर्किए ठेक्का तोड्ने चेतावनी
जोमसोम-उत्तरी चिनको स्वशासितक्षेत्र तिब्बतको कोरलानाका जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजना अन्तर्गत निर्माणधिन उपल्लो मुस्ताङको घमी खोला पुलको काम ठेकेदारले अलपत्र छाडेपछि उपल्लो मुस्ताङ आउजाउ गर्ने सवारी साधनलाई सास्ती बनेको छ ।२०७५ सालको पुस १६ गते ६ करोड ८० लाख लागतमा सम्झौता भएको घमी खोला पुलको चालु वर्षको हिउँदयामपछि निर्माणको काम ठप्पै छ ।
राष्ट्रिय गौरवको सडक आयोजना अन्तर्गत उपल्लो मुस्ताङ जोड्ने निर्माणधिन घमी खोला पुल निर्माणको जिम्मा हिमढुङ ठोक्कर ईमोटल जेभी कन्ट्रक्सनले लिएको थियो । सम्झौता अवधि ३ वर्ष रहेको घमी खोला पुलको काम २०७८ पुस ९ गते सकिनु पर्ने थियो ।तर,ठेकेदार कम्पनीको चरम ढिलासुस्ती र लापारवाहीका कारण पुलको निर्माणको भौतिक प्रगती अहिले ४० प्रतिशत मात्र देखिएको छ । घमी खोला पुलको लम्बाई जम्मा ४० मिटरको छ भने डे्रने र फुटपाथसहित ११ मिटरको पुल बनाउने सम्झौता भएको बेनी-जोमसोम-कोरला सडक आयोजनाले जनाएको छ । निर्माण कम्पनीका प्रतिनिधिलाई पटक/पटक पुल निर्माणको काम सूचारु गराउन आयोजनाले ताकेता गरेपनि सम्पर्कमा आउन सकेको छैन ।पुलको ठेक्का मोबिलाईजेसन वापत निर्माण कम्पनीले लिएको ७० लाख ५० हजार रकम हालै आयोजनाले सरकारको नाममा फिर्ता लिईसकेको छ ।
आयोजना प्रमुख जगत प्रजापतीले घमी खोला पुल निर्माणको जिम्मा लिएको हिमढुङ ठोक्कर ईमोटल जेभी कन्ट्रक्सनले एक हप्ता भित्र फिल्डमा पुगेर काम नगरे ठेक्का तोड्ने प्रक्रिया अघि बढाईने जानकारी दिए ।ॅहामीले निर्माण कम्पनीको ठेक्का मोबिलाईजन वापत लिएको पैसा तानिसकेका छौ,पटक पटक ताकेता गरेका छौं,आयोजना प्रमुख प्रजापतीले भने,ॅकाम गर्ने मौसम अनुकुल समय यही हो, तर,उसले काम गर्ने तदारुकता देखाएको छैन ।’ हिउँदयाममा हिमपात हुने र अत्यधिक चिसोका कारण निर्माणको काम गर्न कठिन हुने भएको र ठेकेदारले काम गर्नु पर्ने मौसममा काम नगर्दा सबैलाई समस्या उत्पन्न भएको आयोजना प्रमुख प्रजापतीको भनाई छ ।
यस्तै,मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले वर्ष भित्र निर्माण कम्पनी फिल्डमा पुगेर निर्माणको काम सुरु नगरे ठेक्का सम्झौता रद्द गरी नयाँ ठेक्का लगाउनु पर्ने बताएका छन् ।घमी खोल पुल निर्माणमा चरम ढिलाई हुँदा स्थानीय जनप्रतिनिधि समेत रुष्ट बनेका छन् । लोघेकर दामोदरकुण्ड गापाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले घमी खोला पुल निर्माण कम्पनीले पुल बनाउन चाँसो नदिएको बताए । उनले ठेकेदारले अबिलम्ब कारवाही गरी नयाँ ठेक्का लगाउन आयोजनालाई ध्यान आर्कषण गराए ।
यता ,उपल्लो मुस्ताङको घमी खोलामा पुल निर्माणमा ढिलाई हुँदा उपल्लो मुस्ताङमा खाद्यान्न ,निर्माण सामाग्री र ईन्धन लिएका गएका बालवाहक ट्रक र टिपरलाई आउजाउमा सास्ती बनेको अमित बिल्डर्सका ईन्जिनीयर अजय गुप्ताले जानकारी दिए । उनका अनुसार बर्खायामको असार नलाग्दै सोमबार घमी खोलामा दुई वटा मालवाहक टिपर फसियो । अमित विल्डर्सको ग १ क ३७६४ र अर्को ईन्धन बोकेको बा ५ ख १४५६ नम्बरको टिपर घमी खोलाको वाहव उच्च हुँदा ५ घण्टा खोलामै अड्कियो । घमी खोलामा अड्कियो २ वटा टिपर झिक्न चराङबाट डोजर मगाएर खोलामा अड्किएको टिपर बाहिर निकालिएको ईन्जिनीयर गुप्ताले बताए ।
यस्तै,उपल्लो मुस्ताङको घमी खोला पुलको ठेक्का लिएको हिमढुङ ठोक्कर ईमोटल जेभी कन्ट्रक्सनले अरु दुई वटा पुलको काम पनि अलपत्र पारेको आयोजनाले जनाएको छ ।उक्त कन्ट्रक्सनले मार्फा खोला पुल र छुसाङ खोला पुल बनाउन २१ करोडमा सम्झौता गरेको थियो । यि दुबै पुलको काममा पनि निर्माण कम्पनीले ढिलासुस्ती गर्दा आयोजनाले ठेक्का मोबिलाईजेसन वापत लिएको १ करोड ११ लाख ५० हजार सरकारको नाममा फिर्ता लिएको थियो । आयोजनाका अनुसार मार्फा खोला पुलको ५० प्रतिशत र छुसाङ खोला पुलको भौतिक प्रगती ७५ प्रतिशत रहेको छ । निर्माण कम्पनीले विभिन्न बहानवाजी बनाएर ३ वटै पुलको म्याद पटक/पटक थप गर्दैआईरहेको छ ।
तपाईको प्रतिक्रिया