अझै बन्न सकेन विद्युतीय शवदाह गृह
आउँदो मंसिरसम्म योजना पूरा गर्ने गरी काम अगाडि बढेको ठेकेदार कम्पनीको दाबी

पोखरा ।
रामघाटमा शवदाहलाई व्यवस्थित गर्ने उद्देश्यले निर्माण सुरु गरिएको विद्युतीय शवदाह गृहको काम ३ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । कोभिड महामारी र स्थानीयको विरोधका कारण अघि नबढेको निर्माणले अहिले पनि गति लिन सकेको छैन ।
२ वर्षमा गृह निर्माण सम्पन्न गर्ने गरी सरकारले शवदाह गृह निर्माण गर्न काठमाडौंस्थित सिनर्जी विल्डर्स प्रालिलाई २०७६ भदौमा जिम्मा दिएको थियो । १२ वाई ३६ मिटरको पक्की भवन उक्त परियोजनामा निर्माण हुने गरी सम्झौता गरिएको थियो । तर ३ वर्ष बितिसक्दा पनि विद्युतीय शवदाह गृहको काम नसकिएको हो ।
स्थानीयको अवरोधका कारण तोकिएको समयमा योजना पूरा हुन नसकेको सिनर्जी विल्डर्स प्रालिका सञ्चालक इन्द्र खनालले बताए । ‘स्थानीयको अवरोधको मुद्दा सर्वाेच्च गयो,’ उनले भने, ‘गएको भदौमा मुद्दा किनारा लाग्यो, सम्झौता सकिन ४ अघिदेखि काम सुरु गर्यौँ ।’ गएको चैतसम्म म्याद थप गरिएकोमा बेलाबेलामा सरकारले बजेटको अभाव हुदा काम सम्पन्न हुन नसकेको सञ्चालक खनालले बताए । हालसम्म आयोजनाको ७० प्रतिशत कार्य सम्पन्न भएको उनको भनाइ छ । आउँदो मंसिरसम्म योजना पूरा गर्ने गरी काम अगाडि बढेको छ । भवन निर्माण धमाधम भइरहेको छ । मेसिन ल्याउने काम बाँकी छ ।
एकै पटकमा २-३ जनासम्मको शव विद्युतीय प्रविधिबाट जलाउन सकिने गरी गृह निर्माण गर्न लागिएको हो । थोरै जनशक्तिबाट शव व्यवस्थापन गर्न र वातावरण प्रदूषण कम गर्न उक्त आयोजनाले टेवा पुग्ने अपेक्षा राखिएको छ । गृह निर्माणका लागि संघीय सरकारबाट ३ वर्षअघि १४ करोड १३ लाख रुपैयाँ बजेट विनियोजन गरि निर्माण अगाडि बढाइएको थियो ।
योजनामा स्थानीयले अवरोध गर्दा निर्माण हालसम्म पनि नसकिएको संघीय आयोजना कार्यान्वयन इकाई कास्कीका इन्जिनियर रेखा लामिछानेले बताइन् । ‘नियमित रुपमा काम गर्न नसक्दा सम्झौता बमोजिम काम सम्पन्न हुन सकेन, रोकिएको काम २०७८ भदौबाट मात्र सुरु भयो,’ उनले भनिन्, ‘चैतमा म्याद सकिएपछि म्याद थपको प्रक्रिया अगाडि बढाइएको छ ।’ पोखराको सेती नदीको विभिन्न घाटहरुमा दाहसंस्कार हुँदै आएको छ । तर परम्परात शैलीबाट दाउराले शव जलाउने घाटहरु पनि व्यवस्थित छैनन् । अर्काेतिर दाउराको प्रयोगले वन विनासलाई मद्दत गरेको छ । वातावरण प्रदूषण पनि बढाएको छ ।
बिजुलीबाट चल्ने शवदाहगृह बन्यो भने दाहसंस्कार व्यवस्थित हुने विश्वास गरिएको छ । आधुनिक र विद्युतीय शवदाहगृहले वातावरण प्रदूषण पनि कम हुन्छ । दाउराको चिता बनाएर दाहसंस्कार गर्दा अपनाइने सांस्कृतिक र परम्परागत कर्महरु पनि विद्युतीय शवदाहगृहमा गर्न सकिने व्यवस्था भने हुनेछ । यसअघि काठमाडौंको पशुपति आर्यघाटमा विद्युतीय शवदाहगृह निर्माण भई सञ्चालनमा आइसकेको छ । २०७२ माघ १० गतेदेखि नेपालमै पहिलो शवदाह गृह सञ्चालनमा आएको थियो ।
पोखराको शान्तिघाटमा बिजुली र दाउरा दुवै प्रयोग हुने शवदाहगृह पोखरा महानगरपालिकाले स्थापना गरेको थियो । निजी बैंकसँगको सहकार्यमा निर्मित उक्त शवदाहगृहमा दाहसंस्कार गर्दा परम्परागत तरिकामा भन्दा थोरै दाउरा प्रयोग हुन्छ । तर केही समय चलेर त्यो शवदाहगृह बन्द छ । एभरेष्ट बैंक लिमिटेडले वातावरणमैत्री र प्रदूषणरहित शवदाहगृह निर्माणमा पोखरा महानगरपालिकालाई सघाएको थियो । परम्परागत रुपमा दाहसंस्कार गर्दा ३ सय केजी भन्दा बढी दाउरा लाग्नेमा शान्तिघाटमा निर्मित हाइब्रिड शवदाहगृहमा १ सय केजीमा एउटा शव जलाउन सकिन्थ्यो । महानगरसँगको समन्वयमा एभरेस्ट बैंकले ६० लाख रुपैयाँ उक्त शवदाह गृह स्थापनामा खर्च गरेको थियो ।

रिखिराम जिसी
जिसी समाधान संवाददाता हुन्








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया