पर्यटन विधेयक विधायन समितिमा

समाधान संवाददाता २०७९ असार १ गते ११:४३

पोखरा ।
गण्डकी प्रदेशमा पर्यटन सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक विधायन समितिमा गएको छ । मंगलबार प्रदेशसभामा विधेयकको सैद्धान्तिक छलफलपछि गण्डकी प्रदेशका पर्यटन, उद्योग तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले विधायन समितिमा लैजाने प्रस्ताव गरेका थिए ।

Advertisement

लगत्तै सभामुख नेत्रनाथ अधिकारीले सभामा विधेयक निणायार्थ प्रस्तुत गरेका थिए । विधेयक दफाबार छलफलका लागि सर्वसम्मत विधायन समितिमा गएको सभामुख अधिकारीले जानकारी गराएका थिए । यसअघि सैद्धान्तिक छलफलमा भाग लिने अधिकांस सांसदले ढिलो आएपनि विधेयक प्रदेशको लागि सकारात्मक भएको बताएका थिए । पूर्वपर्यटन मन्त्री विकास लम्सालले गण्डकी प्रदेश पर्यटकको राजधानी र केन्द्र पोखरा रहेको बताए । विधेयक सकारात्मक रहेकाले विधेयक ल्याउने नाममा कमजोर विधेयक नबनाउन उनले आग्रह गरे ।

विधेयक गण्डकी प्रदेशको गौरवको विधेयक भएकाले यसमा प्रतिपक्षको रुपमा पार्टीले सहयोग गर्न तयार रहेको उनले व्यक्त गरे । सांसद ललितकला गुरुङले प्रकृतिले गण्डकी प्रदेशलाई अत्यन्तै साथ दिएकाले यो विधेयकले पर्यटनलाई थप टेवा पुग्ने बताइन् । प्रदेश पर्यटनको संभावनाको क्षेत्र भएकाले यसतर्फ ध्यान दिन पनि उनले आग्रह गरिन् । सांसद दीपक कोइरालाले अन्तिम कार्यकालमा भएपनि विधेयक आउँदा खुसी लागेको बताए । ‘प्रदेशको पर्यटनको व्यवस्थापन गर्न यसलाई सुरुमा गर्न पाएको भए अझै समृद्धिबाट अगाडिको यात्रा हासिल गर्न सकिन्थ्यो,’ उनले भने, ‘प्रदेशलाई पर्यटनलाई मजबुत बनाउन यो विधेयक महत्वपूर्ण भूमिका खेल्नेछ ।’

Advertisement

विधेयकले प्रदेशको पर्यटनको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्ने, आयआर्जनमा वृद्धि गर्ने, गरिबीलाई कम गर्ने, विकास निर्माणमा सहयोगी भूमिका निर्वाह गर्न महत्वपूर्ण रहने उनले बताए । प्रदेशको पर्यटनको समृद्धि र विकासका लागि विधेयक महत्वपूर्ण रहेको सांसद पियारी थापाले बताइन् । यस्तो महत्वपूर्ण विधेयक अन्तिम कार्यकालमा आउनु दुःखद हो, उनले भनिन्, ‘पहिले नै आउनुपर्ने विधेयक केही ढिलो गरी आउँदा पर्यटन विकासमा केही पछि पर्‍यो ।’ विधेयकले आफ्नो अधिकार प्रयोग गरेर अझै राम्रो बनाउने विश्वास लिएको पर्यटन, उद्योग तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले बताए ।

तपाईको प्रतिक्रिया