गण्डकी प्रदेश बजेट: स्थानीय तहलाई ७२ करोड, नवलपुरको फलाम खानीलाई १५ करोड

समाधान संवाददाता २०७९ असार १ गते १७:३२

पोखरा ।
गण्डकी प्रदेश सरकारले नवलपुरको धौवादीमा रहेको फलाम खानी सञ्चालन गर्न १५ करोड रुपैयाँ विनियोजन गरेको छ । हुप्सेकोट गाउँपालिकामा रहेको धौवादी डाँडामा देशकै सबैभन्दा ठुलो फलामखानी भएको विश्वास गरिएको छ ।

प्रदेश अर्थमन्त्री रामजीप्रसाद बरालले आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा सो रकम विनियोजन भएको घोषणा गरेका हुन् ।

स्थानीय तहलाई ७२ करोड
गण्डकी प्रदेश सरकारले सवारी साधन करमार्फत आउने ७२ करोड रुपैयाँ स्थानीय तहमा पठाउने घोषणा गरेको छ ।

Advertisement

संघीयतामा अधिकार बाँडफाँट अन्तर्गत संघीय सरकारले सवारी कर उठाउने अधिकार प्रदेश सरकारलाई दिएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुशासन र कृषि उत्पादनलाई प्राथमिकता दिएको छ । कृषि उत्पादन अन्तर्गत मकैको बिउ उत्पादनका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री बरालले बताए ।

प्रदेशलाई स्याउमा आत्मनिर्भर गराउन १७ करोड विनियोजन गरिएको छ ।

Advertisement

कोरोनाका कारण अविभावक गुमाएका बालबालिकालाई १ करोड बजेट विनियोजन
गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०७९-८० को बजेट मार्फत कोरोनाका कारण अविभावक गुमाएका बालबालिकाहरूको शिक्षा स्वास्थ्य तथा विविध सुरक्षाका लागि १ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

बुधबार प्रदेशसभा मार्फत आगामी आर्थिक वर्षको बजेट वक्तव्य जारी गरेको प्रदेश सरकारले यस्तो बजेटको व्यवस्था गरेको हो । यस्तै, सामाजिक न्यायका लागि अनाथ बालबालिका तथा पिछडा वर्गका बालबालिकाको शिक्षा स्वास्थ्यका लागि मुख्यमन्त्रीसँग विशेष बजेटको व्यवस्था गरिएको समेत प्रदेश सरकारले जनाएको छ ।

तपाईको प्रतिक्रिया