जोमसोममा सञ्चालित होटल तथा रेष्टुरेन्टहरुको अनुगमन

समाधान संवाददाता २०७९ असार २ गते ९:२८

जोमसोम–
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बाग्लुङले हिमाली जिल्ला मुस्ताङको जोमसोममा संञ्चालित होटल तथा रेष्टुरेन्टहरुको अनुगमन गरेको छ ।
प्रविधि युक्त खाद्य स्वछता कायम गराउने उद्देश्यले डिभिजन कार्यालयले बुधबार र बिहिबार जोमसोमका २६ वटा होटल तथा रेष्टुरेन्टहरुको अनुगमन गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बाग्लुङको आयोजनामा भएको खाद्य स्वछता कायम गर्ने अनुगमनमा जिल्ला घरेलु तथा साना उद्योग कार्यालय मुस्ताङ,घरपझोङ गाउँपालिका,उद्योग वाणिज्य महासंघ,नेपाल पत्रकार महासंघ, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मुस्ताङले सहकार्य गरे ।

होटलहरुको प्रविधियुक्त खाद्य स्वछता अभिवृद्धि गर्दै पर्यटक तथा उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि डिभिजन कार्यालय बाग्लुङसहितको अनुगमन टोलीले जोमसोममा संञ्चालन रहेका होटल ,रेष्टुरेन्ट र खाजाघरहरुमा प्रयोग भईरहेका खाद्य पदार्थ राख्ने उपकरण ,प्रविधि र ति खाद्य पदार्थहरुको कसरी सुरक्षित भण्डारण गरिएको भन्ने थाहा पाउँन बजार अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बाग्लुङका प्राविधिक सहायक सहन्सा कुमार मेहताले जानकारी दिए ।

Advertisement

डिभिजन कार्यालयको अनुगमनका क्रममा होटल तथा रेष्टुरेन्टमा खाद्य स्वछता कायम नभएको र जथाभावी रुपमा अवान्छित रुपले खाद्य बस्तुको प्रयोग र भण्डारण गरेको पाईएमा त्यस्ता खाद्य बस्तुहरु प्रयोगमा ल्याउन नदिने र व्यवसायीहरुलाई खाद्य स्वछता कायम गराउन र मेट्रियल अन्तर्गतको फलफुल ,तरकारी र मासुजन्य पदार्थको भण्डारण गर्न प्राविधिक सल्लाह सुझाव दिईएको प्राविधिक सहायक मेहताले उल्लेख गरे ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बाग्लुङले मुख्यगरी जोमसोमका होटल तथा रेष्टुरेन्टहरुको किचन र किचनको सरसफाईलाई प्राथमिकतामा राखेर निगरानी बढाएको उनले बताए । होटलमा अनिवार्य हुने तरकारी र मासुजन्य पदार्थको सुरक्षित भण्डारण गर्दा व्यवसायीहरुको अज्ञानताका कारण कतिपय खाद्य बस्तु अखाद्य वस्तुको रुपमा परिणत हुने सम्भावना रहेकाले उनीहरुलाई प्रविधिको उपयोग गर्दै सुरक्षित भण्डारण गर्ने तरिकाको प्राविधिक सल्लाह दिएको प्राविधिक सहायक मेहताले जनाए ।

Advertisement

यस्तै,अनुगमनका क्रममा होटल तथा रेष्टुरेन्टहरुमा सदावहार प्रयोगमा आउने तेलको गुणस्तर उपकरणको सहायताले फिल्डमै परीक्षण गरिएको र अखाद्य देखिएको अवस्थामा सुल्लाह र सुझाव सहित त्यस्ता वस्तु प्रयोग गर्न नहुने सुझाईएको थियो । डिभिजन कार्यालय बाग्लुङले यसवर्ष जोमसोम बजारलाई लक्ष्य गरी खाद्य स्वछता कायम गर्न अनुमगन गरेपनि अर्को वर्ष बृहत रुपले विभिन्न नियमित कार्यक्रम संञ्चालन ल्याउन तैयारी भईरहेको प्राविधिक सहायक मेहताको भनाई छ । मुस्ताङमा कार्यालयले पहिलो पटक होटल तथा रेष्टुरेन्टको खाद्य स्वछता कायम राख्न अनुमगन गरेको उनले बताए ।

चालु आर्थिक वर्षको अन्तिम महिनामा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बाग्लुङले अनुगमन गरेको हो ।कार्यालयका प्राविधिक सहायक मेहताले भने,‘हाम्रो कार्यालयमा कार्यालय सहयोगीसहित जम्मा ३ जना कर्मचारी कार्यरत छन् ।सीमित कर्मचारीले बाग्लुङ ,म्याग्दी र मुस्ताङ हेनुपर्ने जिम्मेवारी छ ।कार्यक्षेत्र धेरै तर जनशक्ति कम भएकाले हामीलाई बढी समय लाग्दा मुस्ताङमा ढिला हुन पुग्यो ।’

यस्तै,घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख तोयानाथ तिमिल्सिनाले मुस्ताङको जोमसोममा खाद्य स्वछता कायम राखी यहाँका होटलहरुमा खाद्य सुरक्षा मैत्री बनाउन बजार अनुगमन प्रभावकारी भएको औल्याए ।उनले हामीले बजार अनुगमनमा व्यवसायीहरुलाई प्राविधिक पाठ सिकाएको छौं,जसले आउँदा दिनमा होटल तथा रेष्टुरेन्टहरुमा खाद्य स्वछता कायम राख्न पक्कै योगदान पू¥याउने कार्यालय प्रमुख तिमिल्सिनाले दावी गरे ।

तपाईको प्रतिक्रिया