ग्रीन डेभलपमेन्ट बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा बुढाथोकी

समाधान संवाददाता २०७९ असार २ गते १३:२७

पोखरा ।
पोखराको सभागृह चोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा हरिबहादुर बुढाथोकी नियुक्त भएका छन् । बैंकका कर्जा तथा व्यवसाय प्रवद्र्धन विभाग प्रमुख बुढाथोकीलाई बैंक सञ्चालक समितिको जेठ ३१ गते बसेको १७६ औं बैंठकले असार १ गतेदेखि लागू हुनेगरी कायम मुकायम प्रमुख कार्यकारी पदमा नियुक्त गरेको हो ।

१६ वर्षभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव भएका बुढाथोकी बैंकको कर्जा तथा व्यवसाय प्रवद्र्धन विभाग प्रमुखको रुपमा कार्यरत थिए । ४ वर्षअघि बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका उमेशकुमार आचार्यको जेठ ३१ गते कार्यकाल समाप्त भएकाले बुढाथोकीलाई कामय मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको हो । २० वर्षको बैंकिङ अनुभवमा १५ वर्षभन्दा बढी प्रमुख कार्यकारी अधिकृत रहेका आचार्यलाई बैंकको उन्नति र प्रगतिमा पुर्‍याएको योगदानको कदर गर्दै धन्यवाद दिने र उनको उज्ज्वल भविष्यको कामना गर्ने निर्णयसमेत बैंक सञ्चालक समितिले गरेको बैंकका सूचना अधिकारी सुशील पौडेलले बताए ।

आचार्यको सम्मानमा बैंकले बिदाइ कार्यक्रम आयोजना गरेको छ । उनको ४ वर्षे कार्यकालमा बैंकले आफ्नो व्यवसायमा उल्लेख्य वृद्धि, डिजिटल बैंकिङ गर्नुका साथै कार्यक्षेत्र विस्तार गरेको र शाखा सञ्जालमा व्यापक विस्तार गरेको छ ।
व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका कायम मुकायम कार्यकारी अधिकृत बुढाथोकीको कर्जा व्यवस्थापनमा विषेश अनुभव छ । बुधबार आयोजित पदस्थापना कार्यक्रममार्फत् कार्यभार सम्हालेका बुढाथोकीले आम सर्वसाधारणमा बैंकिङ पहुँच पुर्‍याउने नेतृत्व लिने जनाए ।

Advertisement

ग्राहक, सेयरधनी तथा नियमनकारी निकायको चाहना तथा नीति, निर्देशन बमोजिम बैंकको सेवामा आमुल परिवर्तन ल्याउन विशेष भूमिका निर्वाह गर्ने उनले बताए । बैंकले हाल कास्की, बागलुङ, म्याग्दी, तनहुँ र नवलपुरमा रहेका १६ शाखा कार्यालयवाट अत्याधुनिक बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया