नयाँ बजेट, पुरानै कार्यक्रम

नयाँ कार्यक्रमका नाममा एक निर्वाचन क्षेत्र एक कृषि सडक

रिखिराम जिसी २०७९ असार ३ गते १०:४८

पोखरा ।
अर्थमन्त्रीका हैसियतमा मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पोहोर असार १ गते बजेट ल्याउँदा कोभिड १९ विरुद्धको खोप किन्न रकम व्यवस्था गरेका थिए । तर प्रदेश सरकारले खोप खरिद गर्नै परेन । संघ सरकारले नै उपलब्ध गराएको खोप प्रदेशवासीले लगाए ।

झन् अहिले त कोभिड १९ का बिरामी शून्यप्राय भइसके । यो असार १ गते अर्थमन्त्री रामजीप्रसाद बरालले ल्याएको बजेटमा कोभिड १९ नियन्त्रण वा रोकथामका लागि बजेट छुट्यााउनै परेन । तर मन्त्री बरालले बजेटमा थुप्रै पुराना योजना, कार्यक्रमलाई निरन्तरता दिएका छन् । अर्थमन्त्री बरालले बुधबार प्रदेश सभामा बजेट वाचन गर्दा सबैभन्दा ठूलो राशि सडक, पुल र झोलुंगे पुलका लागि १० अर्ब विनियोजन भएको उल्लेख गरे । यो पूर्वाधारका लागि छुट्टिएको रकम हो । बरालले पूर्वाधार र त्यो पनि सडकलाई विशेष जोड दिने परम्परा दोहोर्‍याए ।

बजेट वक्तव्यमा सुनिएको अर्काे ठूलो रकम खानेपानीका लागि थियो । पूर्ववर्ती पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले प्रदेशमा १ घर १ धारा कार्यक्रम सुरु गरेको थियो । त्यसैलाई निरन्तरता दिँदै बरालले उक्त योजनाका लागि २ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरेका छन् । यसपालि अर्थमन्त्री बरालले भने सांसदमार्फत बजेट बाँड्ने योजना काटेका छन् । तर उनले सत्तापक्षीय सांसदले बुझाएका योजनामा धेरै बजेट राखेको भन्दै आलोचना भएको छ । उनले कुनकुन सांसदका निर्वाचन क्षेत्रका योजनामा बजेट धेरै पारेका छन् भन्ने थाहा पाउन भने बजेट कार्यक्रम पुस्तिक (रेडबुक) प्रतीक्षा गर्नुपर्छ । रेडबुक भने सार्वजनिक भइसकेको छैन ।

Advertisement

अर्थमन्त्री बरालले अघिल्लो आर्थिक वर्षमा भएको सहिद दिलबहादुर रम्तेल स्मृति उच्च शिक्षा प्रोत्साहन छात्रावृत्ति कार्यक्रमलाई निरन्तरता दिएका छन् । यसका लागि बरालले ३० लाख रुपैयाँ विनियोजन गरेका छन् । गण्डकी विश्वविद्यालयको उद्देश्य अनुरुपका शैक्षिक एवं भौतिक पूर्वाधारको विकास गर्न २४ करोड बजेट छ । ३ वर्ष पहिले सुरु गरिएको दुर्गम स्थानमा रहेका जटिलतायुक्त गर्भवती तथा सुत्केरी महिलालाई एअर लिफ्टिङ कार्यक्रमले आगामी साल पनि निरन्तरता पाएको छ । अघिल्लो आर्थिक वर्षमा सुरु गरिएको उद्यमी युवा समृद्ध प्रदेश निर्माणमा टेवा कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको हो । युवामा सीप, क्षमता र नेतृत्व विकास गर्ने, प्रदेश सरकार र युवा उद्यमीबीच लगानीको साझेदारी बढाउने उद्देश्यले उक्त कार्यक्रममा २ करोड ५० लाख विनियोजन गरिएको छ ।

सरकारले १ निर्वाचन क्षेत्र १ कृषि सडक नीति कार्यान्वयन गर्ने भएको छ । यो नयाँ कार्यक्रम हो । उक्त कार्यक्रमका लागि ३६ करोड विनियोजन गरिएको छ । अर्थमन्त्री बरालले नयाँ र महत्वाकांक्षीभन्दा कार्यान्वयन गर्न सकिने खालेमात्रै कार्यक्रम ल्याएको बताएका छन् । पूर्वअर्थमन्त्री किरण गुरुङले भने बरालको बजेटलाई नवीनताविहीनको संज्ञा दिए । ‘कुनै नयाँ कार्यक्रम छैन, पुराना पनि बहुवर्षीय योजनामा बजेट प¥यो परेन भन्ने थाहै छैन,’ उनले भने ।

Advertisement

आगामी वर्ष १ स्थानीय तह १ प्रमुख पर्यटकीय पदमार्ग कार्यक्रम छ । यस्तो कार्यक्रम यसअघि पनि थियो । पोखरा ३३ पुँडीटार र नवलपुरको लोकाहा खोलामा प्रस्तावित प्रादेशिक औद्योेगिक क्षेत्र र १ स्थानीय तह १ उद्योग ग्राम स्थापना र सञ्चालनलाई निरन्तरता दिन १ करोड विनियोजन गरिएको छ । प्रदेश गौरवका सडक, १ निर्वाचन क्षेत्र १ सडक, रणनीतिक महत्वका सडक, स्थानीय तहको प्रशासनिक केन्द्र जोड्ने सडक, विभिन्न प्रादेशिक सडक, सडक पुल र झोलुंगे पुल निर्माणका लागि १० अर्ब विनियोजन भएको छ ।

कोरोना महामारीका कारण अभिभावक गुमाएका बालबालिकालाई सामाजिक सुरक्षावापत राहत एवं विद्यालयमा अध्ययनरत बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिन १ करोड बजेट छ । अर्थमन्त्री बरालले आगामी वर्ष २०७९-८० का लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएका हुन् । जुन अघिल्लो आर्थिक वर्षभन्दा ५ अर्ब ८५ करोड ८९ लाख ३३ हजार बढी हो । चालु आर्थिक वर्ष मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ३० अर्ब ५ करोड ६७ लाखको बजेट ल्याएका थिए ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया