पाेखरामा भोलि राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुने

समाधान संवाददाता २०७९ असार ३ गते ११:११

पोखरा ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा असार ४ गते शनिबार पोखरा राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुँदै छ । साइक्लिङ प्रवद्र्धन गर्ने उद्देश्यसहित साइक्लिङ संघ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो ।

४५ किलोमिटरको यो प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । महिला र पुरुष गरी २ विधामा प्रतियोगिता हुनेछ । पोखरा १६ स्थित कालीखोलाको पुलबाट सुरु हुने प्रतियोगिता रेयालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकीडाँडा लगायतका ठाउँ हुँदै कालीखोलाको पुलमै आएर टुंगिने छ । प्रतियोगिता बिहान ७ बजेदेखि सुरु हुने समितिले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन ड्यामसाइडस्थित खेलकुद विकास समितिको कार्यालय, न्युरोडस्थित साइकल ल्यान्ड, सिर्जना चोकस्थित चालिसे साइकल, पोखरा माउन्टेन बाइक एडभेन्चर हल्लनचोकमा पाइने फारम भर्नुपर्ने छ । काठमाडौंमा साइक्लिूट उषा खनाललाई सम्पर्क गरेर फारम भर्न सकिने आयोजकले जनाएको छ । तोकिएका स्थानबाट शुक्रबार दिउँसो २ बजेसम्म फारम भर्न सकिने सहआयोजक साइक्लिङ संघ कास्की अध्यक्ष शंकर भण्डारीले जानकारी दिए ।

Advertisement

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३०, २० र १० हजार रुपैयाँ पुरस्कार, मेडल र प्रमाणपत्र पाउने छन् । सहभागी सबैलाई मेडल र प्रमाणपत्र दिइनेछ । खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले पछिल्लो समय साइक्लिङमा धेरैको रुचि बढेकाले प्रतियोगताले साइक्लिङलाई खेलकै रुपमा विकास गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । यो पहिलो प्रयास भएको र आगामी वर्षमा विदेशी साइकलयात्रीलाई पनि सहभागी गराउने गरी तयारी हुने उनले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया