‘युटर्न’ लाउरे
पोखरा ।
र्याप गाएर चर्चित आशीष राना (लाउरे) गएको पुस १४ गते चर्चित हुनुको कारणचाहिँ फरक थियो । उनी गीतले होइन गिरफ्तारीले चर्चित भए । लागुऔषध प्रयोगकर्ताका रुपमा उनलाई कास्की प्रहरीले पक्राउ गरेको थियो । ५६ दिन हिरासतमा बसेर उनी अदालतको आदेशमा निस्किए । धरौटीमा उनी निस्किएको ४ महिना बितिसक्यो । अब भने उनी ‘युर्टन’ भएर सांगीतिक दुनियाँमा झुल्किँदैछन् ।
पुस १४ मा पक्राउ पर्नुअघि उनी पूर्वी नेपालको कुनै सांगीतिक कार्यक्रममा सहभागी भएर गृहनगर पोखरा आएका थिए । हिरासत बसाइपछि उनी सार्वजनिक मञ्चमा पहिलोचोटि असार ६ गते पोखरा सभागृहमा सहभागी हुँदैछन् । त्यस दिन उनले सांगीतिक प्रस्तुतिमात्रै दिने छैनन् । गीतबाट उनले देशको वास्तविकता सुनाउँथे । त्यो दिन उनले दिने प्रमुख सन्देश भने लागुऔषध दुर्व्यसनका विरुद्ध हुनेछ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले ७ दिन चलाउन आँटेको लागुऔषध दुर्व्यसन विरुद्ध अभियानको पहिलो दिन लाउरेले उक्त सन्देश दिन लागेका हुन् । प्रहरीले उनलाई लागुऔषध दुव्र्यसन विरुद्ध अभियन्ता र एकजना दूतका रुपमा उपस्थित गराउँदैछ । हुन पनि लाउरे अब त्यस अभियानमा सामेल हुन इच्छुक छन् । उनले दुर्व्यसन छाडिसके । अरुलाई पनि छाड्न प्रेरित गर्ने उनको अभियान हुनेछ ।
हिरासतमा ५६ दिन बस्दा नै सकारात्मक वातावरण र प्रेरणा पाएको लाउरेले शुक्रबार कास्की प्रहरीद्वारा आयोजित पत्रकार सम्मेलनमा सुनाए । हिरासतमा हुँदा प्रहरीका मोटिभेसन, सकारात्मक सुझाव पाउँदा लागुपदार्थबाट छोड्न सम्भव भएको लाउरे बताउँछन् । ‘सरहरुबाट बेला बेलामा काउन्सेलिङ गर्नुहुन्थ्यो, युवाको प्रतिनिधि भएका कारणले यसले गर्दा समाजलाई नराम्रो असर पर्छ भन्नुहुन्थ्यो,’ उनले भने, ‘सरहरुकै सकारात्मक मोटिभेसन, सुझावले गर्दा यो सम्भव भएको छ ।’ जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी रमेश थापाले जानेबुझेको एकजना युवालाई सम्झाउन बुझाउन सकिन्छ भनेरै लाउरेलाई परामर्श दिएको बताए ।
लागुपदार्थ सेवनका जीवनमा धेरै आरोह व्यहोरे लाउरेले सुनाए । ‘लागुपदार्थ सेवन गर्दा काममा फोकस गर्न गाह्रो हुन्थ्यो,’ उनले भने, ‘लागुपदार्थ सेवन गर्दा धेरै कार्यक्रम छुटाउनुपरेको थियो । विदेशमा लिएर जान नमिल्ने, कार्यक्रमै क्यान्सिल गर्नुपथ्र्यो ।’ कलेज पढ्ने बेलादेखि ख्यालख्यालमै आफू कुलतमा लागेको लाउरे बताउँछन् । पछिपछि भने लागुऔषध नभई नहुने अवस्था आएको उनको अनुभव छ । भन्छन्, ‘यो त यौटा बिरामी नै हो, डाइबिटिजको बिरामीलाई इन्सुलिन चाहिएजस्तो चाहिरहने ।’ विद्यार्थी जीवनमा मन चञ्चल हुँदा र मन र दिमागमा द्वन्द्व बढ्दा कुलतमा फस्ने अनुभव हो उनको ।
लागुपदार्थ सेवन गर्ने व्यक्तिले सेवन गर्न छोड्न वातावरण पनि राम्रो चाहिने र्यापर लाउरे बताउँछन् । ‘राम्रो वातावरण, राम्रो सन्देश पाउँदा मैले लागुपदार्थको सेवन छोडें,’ उनले भने । छोडिसकेपछि पनि आफू वरिपरिको संगल सर्कल राम्रो हुनुपर्ने उनको धारणा छ । भन्छन्, ‘शरीरलाई एक दुई महिना गाह्रो हुन्छ, तर मेन्टल्लीचाहिँ जीवनभरि नै कन्ट्रोल गर्नुपर्छ ।’
६ गते सभागृहबाट जिल्ला प्रहरी कार्यालय कास्कीले सुरु गर्ने लागु औषध विरुद्धको अभियानमा रिकभरिङ नेपाल र नेपाल टुरिजम एन्ड होटल मेनेजमेन्ट कलेज(एनटिएचएमसी)ले साथ दिँदैछन् । सामाजिक उत्तरदायित्व बहन गर्दै कलेज लागुऔषध विरुद्धको अभियानमा सरिक हुन लगेको प्रिन्सिपल प्रकाश रेग्मीले बताए । अभियान अन्तर्गत विद्यार्थीलाई परामर्श, समुदायमा अन्तक्र्रिया, लागु औषध प्रयोगकर्ता पुनस्थापना केन्द्रमा अन्तर्क्रिया लगायत कार्यक्रम हुने जानकारी एसपी थापाले जानकारी दिए ।
एसपी थापाका अनुसार जिल्ला प्रहरीको हिरासतमा रहेकामध्ये ९० प्रतिशत लागुऔषध दुव्र्यसनमा संलग्नहरु छन् । पोखरामा यो ठूलो चुनौती भएको उनी बताउँछन् । भन्छन्, ‘लहलहैमा फँसेकाहरुलाई परामर्श दिएर कुलतबाट मुक्त गराउन कोसिस गर्छाैं, आर्थिक प्रलोभनमा लागेर कारोबार गर्नेहरुमाथि कडा कारबाही चलाउँछौं ।’ उनले भनेझै लहलहैमा लागेर फँसेकालाई मुक्त गर्ने एउटा प्रयास स्वरुप र्यापर लाहुरेले दुर्व्यसन त्याग्ने संकल्प गरेका छन् ।
तपाईको प्रतिक्रिया