माछापुच्छ्रेलाई बालमैत्री बनाइने

समाधान संवाददाता २०७९ असार ४ गते १५:१७

पोखरा ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकालाई ०८२ असार मसान्तसम्ममा बालमैत्री गाउँपालिका घोषणा गरिने भएको छ । त्यसका लागि पालिका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद अधिकारीले हस्तास्क्षर गरेका छन् ।

Advertisement

इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले जनप्रतिनिधिले ५१ सूचक पूरा गर्दै २०८२ असार मसान्तसम्ममा पालिकालाई बालमैत्री बनाउने प्रतिवद्धता गरेको जानकारी दिए । ‘पालिकाका जनप्रतिनिधिले बालमैत्री गाउँपालिका बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ,’ उनले भने, ‘स्थानीय सरकारले बालमैत्री स्थानीय शासन निर्माणका लागि नीति तथा कार्यक्रम बनाउँदा ध्यान दिनुपर्छ ।’ उनले स्थानीय तहले बालबालिकाको अधिकार र कर्तव्यप्रति सचेत बन्दै सबै पालिकाका जनतालाई सुसूचित गराउन सुझाव दिए ।

माछापुच्छ्रे गाउँपालिका, इन्सेक गण्डकी प्रदेश र सामाजिक विकास कार्यालय कास्कीले आयोजना गरेको बालमैत्री स्थानीय शासन प्रवद्र्धन कार्यक्रमसम्बन्धी अभिमुखीकरणमा पालिका अध्यक्ष मीनबहादुर गुरुङले सरोकारवालासँगको समन्वयनमा बालमैत्री गाउँपालिका घोषणा गरिने बताए । उनले प्रतिवद्धता अनुसारको काम गरेर देखाउने उल्लेख गरे । पालिका उपाध्यक्ष सीता अधिकारीले सबै सूचकलाई पूरा गरेर पालिकालाई बालमैत्री बनाउने बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले नतिजा देखाउने गरी सबै सूचकलाई कार्यान्वयनमा लैजाने जानकारी दिए । उनले बालमैत्री पालिका बनाउन आवश्यक नीति कार्यक्रम र बजेटको व्यवस्थापन गर्ने उल्लेख गरे । कार्यक्रममा गण्डकी प्रदेश बाल समन्वय अधिकृत बद्री वाग्लेले बालमैत्री स्थानीय शासनका सूचक, बाल अधिकारको संरक्षण, विकास र स्थानीय तहको भूमिकाबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष हरिश्चन्द्र लम्साल, सामाजिक विकास कार्यालय कास्की अध्यक्ष ईन्द्रबहादुर थापा लगायतले बाल अधिकारका बारेमा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया