रिखिराम जिसी, पोखरा ।
एक जनाले खबर गरे—सेतीमा बाढी आयो, केही घर बगे । खबर बिजुली गतिमा फैलियो । सेना, प्रहरी र सशस्त्र प्रहरीकहाँ झन् छिटो पुग्यो खबर । सुरक्षाकर्मी हत्तपत्त सरसमान बोकेर सेती नदीतिर दौडिए । हेर्दाहेर्दै केही मानिस नदीमा बग्दै आएको देखियो । र्याफ्टिङ र डुंगामा केही सुरक्षाकर्मी ती मानिसतिर गए । बग्दैबग्दै गुहार मागिरहेकालाई पानीबाट तानेर डुंगामा राखे ।
नदीको बीचमा बडेमानको एउटा ढुंगा थियो । त्यहाँ दुई मानिस अड्किएको देखियो । तीनलाई लिन पनि डुंगा पुग्यो । बाढीको खबर पाएर गएको टोलीका केही सुरक्षाकर्मी सेतीको भीरबाट डोरीमा झुन्डिँदै तल आइपुगे । नदीमा फसेकालाई किनारमा ल्याए ।
पानीमा बग्दै आएकालाई एउटा टोलीमा किनारमा ल्याएर प्राथमिक उपचार थाल्यो । डुब्दा पानी खाएकाहरुको पेट थिचेर पानी निकाल्न थालियो । घाउचोट लागेकालाई महलमपट्टि नदी किनारमै भयो । सिकिस्तलाई चाहिँ प्राथमिक उपचारपछि एम्बुलेन्स डाकेर अस्पताल पठाइयो ।
यही दृश्यका बीच एक जना मानिस चिच्च्याउँदै, कराउँदै आइपुगे । भन्दै थि, ‘मेरो दाइ हरायो ।’ उनका दाजु बाढीमा बेपत्ता भएको अनुमान सुरक्षाकर्मीले लगाए । गोताखोर टोली तम्तयार थियो । नदीमा डुबुल्की मारिहाल्यो । अक्सिजन सिलिन्डर बोकेर पानीमा पसेका २ जना धेरै बेर बाहिर देखिएनन् । पानीभित्र पसेको केही बेरमा दुई जनाले हातमा केही समातेर बाहिर ल्याए । त्यो मानिसको शव थियो ।
भेटिएको शवलाई नदी किनारमा घेरा हालेर राखियो । शरीर ओल्टाइपल्टाइ गरी सुरक्षाकर्मीले हेरे । घाउचोट कहाँ कहाँ लागेको छ भनेर कागजमा टिपे । अर्काले चाहिँ अनुहार चिनिने, पूरै शरीर देखिने गरी र दायाँबायाँ गरी धेरै तस्बिर लिए । शवसँग भेटिएका समानको टिपोट भयो । शव पोस्टपार्टमका लागि नजिकैको अस्पताल पठाइयो ।
यो पोखराको सेती नदीको दोबिल्ला खण्डमा शनिबार देखिएको दृश्य हो । तर शनिबार बाढी आएको थिएन । सेती आफ्नै गतिमा शान्त बगिरहेको थियो । तर के थाहा बर्खा याममा जुनसुकै पनि बाढी त आउन सक्छ । यसैलाई ख्याल गरी जिल्ला सुरक्षा समितिले सेतीमा उद्धार कसरी गर्ने भनेर प्रयोगात्मक अभ्यास गराएको हो । अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी संलग्न रहे ।
जिल्ला सुरक्षा समितिका प्रमुखसमेत हुने प्रमुख जिल्ला अधिकारी (सिडिओ) जयनारायण आचार्यले पोखरामा सेती नदीमा विपदको जोखिम रहेको हुँदा अभ्यास गर्नुपरेको सुनाए । उनले भने, ‘अरु बेला फेवातालतिर पनि उद्धार अभ्यास हुँदै आएको हो, तर सेतीमा धेरै दुर्घटना भइरहेका छन् ।’ जोखिममा उद्धार गर्न पनि सेतीमा कठिन हुने हुँदा अभ्यास आवश्यक भएको उनले बताए । ‘जुन टोलीले आज उद्धार अभ्यास गर्यो, यो टिमका सबै यसअघिका उद्धारमा सधै लागिरहनुभएको छ,’ उनले भने, ‘उहाँहरुको प्रेरणाका लागि पनि यो कार्यक्रम गरेका हौं ।’
कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले उद्धारमा आवश्यक थुप्रै सरसामानका अभावका बाबजुद पनि उद्धार टोलीले थुपै्र जनाको ज्यान जोगाउँदै आएको जानकारी दिए ।
यसअघि मनसुन जन्य विपद्का घटनामा उद्धारलाई प्रभावकारी बनाउन नेपाल प्रहरी सशस्त्र प्रहरी गण मुख्यालय पोखरा र गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङमा एकसाथ खोचमा खसेर घाइते भएकाको उद्धार तथा उद्धारपछि प्राथमिक उपचारसम्बन्धी तालिम भएको थियो ।
तालिममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहभागी थिए । तालिममा सशस्त्र प्रहरी गण मुख्य कार्यालय पोखरा र विपद् व्यवस्थापन गुल्म बागलुङमा गरी नेपाली सेनाका १० जना, नेपाल प्रहरीका ४० जना र सशस्त्र प्रहरी बलका १० जना गरी ६० जनाको सहभागिता थियो ।
तस्बिर राधिका कँडेल/रासस
रिखिराम जिसी
जिसी समाधान संवाददाता हुन्
तपाईको प्रतिक्रिया