हिमाल र उषा साइक्लिङ च्यापियन

समाधान संवाददाता २०७९ असार ५ गते १०:१८

अनुप पौडेल, पोखरा

पोखरा राष्ट्रिय साइक्लिङ प्रतियोगितामा पुरुषतर्फ हिमाल टमाटा र महिलातर्फ उषा खनाल च्याम्पियन बनेका छन् । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना, साइकल सिटी पोखरा र साइक्लिङ संघ कास्कीको सहआयोजनामा शनिबार भएको ४५ किलोमिटरको प्रतियोगितामा नेपाल आर्मीका टमाटा र गोरखाकी उषा प्रथम भएका हुन् ।

२ घन्टा ३४ मिनेट १० सेकेन्डमा निर्धारित दूरी पार गर्दै टमाटा पुरुषतर्फ र सोही दूरी ३ घण्टा ८ मिनेट ४० सेकेन्डमा पार गर्दै महिलातर्फ उषा प्रथम भएका हुन् । पुरुषतर्फ एपिएफका लक्ष्मण मल्ल द्वितीय र कास्कीका हिक्मत विक तृतीय भएको खेलकुद विकास समिति सदस्य सचिव सुवास खड्काले जानकारी दिए । मल्ले २ घन्टा ३७ मिनेट ५० सेकेन्डमा र विकले २ घन्टा ४६ मिनेट ३९ सेकेन्डमा निर्धारित दूरी पार गरे ।

Advertisement

महिलातर्फ नुवाकोटकी लक्ष्मी मगर द्वितीय र धरानकी ईन्द्रकुमारी तामाङ तृतीय भए । मगरले ३ घन्टा ३३ मिनेट ७ सेकेन्ड र तामाङले ४ घन्टा ५ मिनेट ३ सेकेन्डमा ४५ किलोमिटर पार गरे । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३०, २० र १० हजार रुपैयाँ पुरस्कार, मेडल र प्रमाणपत्र पाएका छन् । सहभागी सबैलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा पोखरा, काठमाडौं, गोरखा, बुटवल लगायतका ८१ खेलाडी सहभागी थिए । पुरुष ७६ जना र महिला ५ जना प्रतियोगितामा सहभागी भएको सहआयोजक साइक्लिङ संघ कास्की अध्यक्ष शंकर भण्डारीले जानकारी दिए ।

पोखरा १६ स्थित कालीखोलाको पुलबाट सुरु भएको प्रतियोगिता रेयालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकीडाँडा लगायत हुँदै कालीखोलाको पुलमै पुगेर सकिएको थियो ।

Advertisement

प्रतियोगिता उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आउँदो बजेटमा खेलकुद प्रवद्र्धन गर्न सक्ने गरी रकम विनियोजन गर्ने प्रतिबद्धता जनाए । विभिन्न पेसा, व्यवसायमा आवद्ध व्यक्तिलाई एकै ठाउँमा उभ्याउने भएकाले खेलकुद एकताको प्रतीक भएको उनले बताए । ‘देशमा सबै कुरा विभाजित छन् । तर, खेलकुदले विभिन्न ठाउँमा रहेकालाई एकै ठाउँमा ल्याउँछ,’ मेयर आचार्यले भने, ‘खेलकुद प्रवद्र्धन र खेलाडी उत्पादनमा हामी जोड दिन्छौँ ।’

महानगर खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले पहिलो पटक साइक्लिङ प्रतियोगिता आयोजना गरेको र यसलाई निरन्तरता दिइने बताए । पोखरामा साइक्लिङको सम्भावना भएका र स्वास्थ्यका लागि पनि राम्रो हुने भएकाले साइक्लिङ प्रवद्र्धनमा जोड दिइने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया