खेलकुद मन्त्री मनाङे भन्छन्: अर्थमन्त्री बराल र अर्थ सचिवलाई कारबाही हुनुपर्छ

समाधान संवाददाता २०७९ असार ५ गते १२:१०

पोखरा ।
अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले असार १ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० बजेटमा युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले असन्तुष्टी जनाएका छन् । मन्त्री गुरुङले अर्थमन्त्री बरालसँगै अर्थ सचिवको समेत मिलेमतो मन्त्रिपरिषदबाट पारित भएको भन्दा बेग्लै बजेट प्रस्तुत गरेको भन्दै दुवैजनामाथि कारबाही हुनुपर्ने माग गरेका छन् ।

‘यो त सरासर बेइमानी नै हो नि, सांसदले आफ्ना जनताका योजना पूरा गर्ने बजेट नै काट्ने, त्यो पनि मुख्यमन्त्री र मन्त्रिपरिषदलाई ढाँटेर ।’ ‘संसदीय परम्परामा गर्नै नहुने काम गर्ने मन्त्रीलाई त्यसै छोड्न मिल्छ र भन्या ?’ उनले भने ।

अर्थमन्त्री बरालले असार १ गते ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेका थिए । त्यसमा आफूखुसी खर्च गर्न पाउने गरी अर्थ मन्त्रालयमा अर्थ विविध भनेर ३ अर्ब राखिएको अरु मन्त्रीहरुको आरोप छ । तर कतिपय मन्त्रालयलाई भने २० करोड रुपैयाँ पनि बजेट दिइएको छैन । मन्त्रीहरु र सत्ता पक्षीय सांसदहरु नै अर्थमन्त्रीको कार्यबाट तीब्र असन्तुष्ट बनेका छन् ।

Advertisement

बजेटको योजना तथा कार्यक्रम पुस्तिका अझै नआएको हुँदा अरु थुप्रै गडबडी खुल्न बाँकी रहेको सत्ता पक्षीय एक सांसद बताउँछन् । माओवादीले पनि आफ्नो पार्टीका मन्त्री बरालले मन्त्रिपरिषदले पारित गरेको सट्टा अर्को बजेट बाचन गरेको विषयलाई संवेदनशील रुपमा लिएको छ ।

सत्ता पक्षका सांसदहरुले समेत अर्थमन्त्रीको कार्यप्रति तीब्र आक्रोश व्यक्त गरेपछि प्रदेश सभामा आइतबारका लागि भनिएको बजेटमाथिको छलफलै रोकिएको छ । अर्थमन्त्रीको विषयलाई लिएर नेपाली कांग्रेस संसदीय दल र माओवादी संसदीय दलको बैठक आइतबार बस्दैछ ।

Advertisement

तपाईको प्रतिक्रिया