हेमजा शुभकामना कपमा आयोजकको विजयी सुरुआत

समाधान संवाददाता २०७९ असार ५ गते १२:४५

पोखरा ।
हेमजा युनाइटेड क्लबको अयोजनामा शनिबारदेखि छैटौं हेमजा शुभकामना गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरा २५ हेमजा स्थित गौरीशंकर खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजकले वीरगञ्ज युनाइटेडमाथि ३–१ को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको सुरुवातदेखि नै निकै दबाबमा राखेको हेमजाका लागि सुमन अर्याल नायक बने । उनले २ गोलको महत्वपूर्ण योगदान दिए । अर्को गोल कमल थापा मगरले गरे । वीरगञ्जका लागि कृपा चौधरीले गोल गरे । हेमजाले खेलको दोस्रो मिनेटमै गोल गर्ने अवसर खेर फाल्यो । कमलले नै गरेको करिब ८० यार्ड टाढाबाट गरेको सशक्त प्रहारमा वीरगञ्जका गोलरक्षक तथा कप्तान दिलमणि चौधरी बाधक बने । लगत्तै वीरगञ्जका विवेक चौधरीको प्रहारलाई हेमजाका गोलरक्षक दीप कार्कीले बचाउ गरे ।

७ औं मिनेटमा सुरजज्यु ठकुरीको क्रसमा सुमन अर्यालको प्रहारमा वीरगञ्जका डिफेन्डर शिसास थापा बाधक बने । उनले हेमजाको गोल गर्ने अवसरलाई डिफेन्ड लाइनबाट क्लियर गरिदिए । खेलको ११ औं मिनेटमा हेमजाले पेनाल्टीको अवसर पायो । हेमजाका सुनील विकको क्रसलाई डि एरियाभित्र नियन्त्रणमा लिने प्रयास गर्दा वीरगञ्जका सिर्जन क्षेत्रीको हातमा लागेपछि पेनाल्टी दिइएको थियो । उक्त पेनाल्टीमा सुमनले सहजै गोल गरे । २७ औं मिनेटमा हेमजाका फ्लोरेन्टले वीरगञ्जका कृपा चौधरीलाई डि एरिया नजिकै लडाएपछि वीरगञ्जले खेलमा फर्किने अवसर प्राप्त गरेको थियो ।

Advertisement

निकै नजिकबाट पाएको फ्रि–किक विवेक चौधरीले सदुपयोग गर्न सकेनन् । उनको प्रहार बाहिरियो । २८ औं मिनेटमा हेमजाका कप्तान मनबहादुर तामाङको क्रस पासमा कमलले उत्कृष्ट हेडर गर्दा गोलरक्षक दिलमणिले बचाउ गरे । २९ औं मिनेटमा वीरगञ्जका विवेक अफसाइड रहँदा बराबरी गर्नबाट चुके । कृपाले उत्कृष्ट पास गरे पनि उनी पहिले नै अफसाइड रहँदा बराबरीको अवसर खेर गयो । ३६ औं मिनेटमा कमलले डिबक्सभन्दा बाहिरबाट गरेको शक्तिशाली प्रहार वीरगञ्जका गोलरक्षकको हातमा लाग्दै गोल भयो ।

त्यसपछि वीरगञ्ज निकै दबाबमा पर्‍यो । पहिलो हाफमा २ गोलले पछि परेको वीरगञ्जले दोस्रो हाफको अन्त्यमा मात्रै खेलमा फर्किने प्रयास गरेको थियो । हेमजाले दोस्रो हाफको सुरुवाती २ मिनेटमै गोल गर्दै अग्रता तेब्बर पार्दा वीरगञ्ज समस्यामा परेको थियो । खेलको ४८ औं मिनेटमा हेमजाका सुमनले व्यक्तिगत दोस्रो गोल गरे । उनी खेलको म्यान अफ दी म्याचसमेत भए ।
वीरगञ्जले खेल सकिन केही मिनेटमात्रै बाँकी रहँदा ३ अवसर खेर फालेको थियो । ती अवसर खेर जाँदा जितबाट बञ्चित हुँदै वीरगञ्ज घर फर्किएको छ । निर्धारित समयको ५ मिनेट बाँकी रहँदा कृपा चौधरीका लगातारका ३ अवसर खेर गए । उनको चौथो प्रयास भने गोलमा परिणत भयो । उनले खेलको ८८ औं मिनेटमा गोल गरे ।

Advertisement

८ दिनसम्म चल्ने प्रतियोगिताका विजेताले ६ लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले ३ लाख पाउनेछ । प्रतियोगितामा ए डिभिजन र आयोजक सहित ८ टिमको सहभागिता छ । हेमजा युनाइटेड पोखरामा सम्पन्न कास्की जिल्ला क्लब स्तरीय लिग विजेतासमेत हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्रतियोगिताको उद्घाटन गरेका थिए । उनले हेमजामा खेल पूर्वाधार विकासका लागि बसेर छलफल गर्ने बताए । आचार्यले हेमजाले पोखरा रगंशाला भन्दा बाहिर पनि ठूला प्रतियोगिता सम्भव भएको सन्देश दिएको उल्लेख गरे । मेयर आचार्यले अब गोल्डकपलाई निरन्तरता दिनसमेत आग्रह गरे ।

तपाईको प्रतिक्रिया