फिल्म समीक्षा: चिसो समाजका चिसा मान्छेहरु

युवराज गुरुङ ‘युनिश’ २०७९ असार ५ गते १३:२८

युनिश गुरुङ ।
घुमिरहेको गाडीको चक्का जस्तै हो– जीवनचक्र पनि । यात्रामा चक्का घुम्दा घुम्दै पङ्चर हुन्छ । हावा फुस्किन्छ । फेरि टालटुल गर्दै अगाडि बढ्छ । मानव जीवनको दौडानमा पनि समयको छिर्केले ढाल्छ । फेरि आशाको वैशाखीले उठाउँछ । संघर्षले भरिपूर्ण जीवनको बाटो त्यति सहज छैन । तैपनि ढल्दै । उठ्दै । धुलो टकटक्याउँदै भएपनि गन्तव्यसम्म पुग्नुपर्छ । यस्तै जीवन दर्शनका विषयवस्तुलाई निर्देशक दीपेन्द्रकुमार खनालले काँचको पर्दामा उतारेका छन् ।

Advertisement

दृश्यको माध्यमबाट कथावाचन हुनु सुन्दर सिनेमाको खासियत हो । कुशल निर्देशकले संवादभन्दा पनि क्यामराको एंगल, भिज्युअल मेटाफोर, सबटेक्स, कलरटोन, कलर, पात्रको अभिनय, साउन्ड इत्यादिमार्फत कथा भन्ने प्रयास गर्छन् । यिनै कुराले नै सिनेमा कलात्मक बनाउँछ । यथार्थपरक सामाजिक चलचित्र बनाउन खप्पिस निर्देशक खनालले यी कुरालाई मध्यनजर गर्दै चिसो मान्छे निर्देशन गरेका छन् । जुन शुक्रबारदेखि प्रदर्शनमा आएको छ ।

काठको सानो बाकस भर्ने पैसा कमाउन विदेसिएका युवा रातो बाकसमा आफैं भरिएर फर्किन्छ। बाकसमा चिसिदै फर्केका श्रीमान् लिन सुदुरपश्चिमको बाजुरादेखि पुष्पा (स्वस्तिमा खडका) र उनकी ससुरा (देशभक्त खनाल) आउँछन् । पिकअप गाडीमा शव राखेर उनीहरुको काठमाडौँदेखि बाजुराको यात्रा तय हुन्छ । गाडीको चालक रुपमा अशोक थापा (अर्पण थापा) प्रवेश हुन्छ । यात्रामा पुष्पा र अशोकको सामीप्यता बढ्छ । कोरोना कहर र लकडाउनको प्रतिकुल घडीमा तय गरेको यात्रामा उनीहरुले भोगेका समस्या, आरोह–अवरोह अनि जीवनका दुक्खहरु साटासाट गर्छन् । यात्राले कुन दिशा लिन्छ अनि उनीहरुले जीवन बाटोमा भोगेका कुरा थाहा पाउन चलचित्र नै हेर्नुपर्ने हुन्छ ।

Advertisement

बाकसभित्रको चिसो मान्छेप्रति उनको कुनै संवेदना पनि छैन । उनलाई समाजले बाँधेको अधीनताको डोरी नाघ्नु छ । मनमा अनेक इच्छा छन् । दबाएर राखेका सपनाहरु छन् । तर त्यसलाई पुरुष प्रधान समाजले छेकेको छ ।

चलचित्र घुमिरहेको चक्काको दृश्यसँगै सुरु हुन्छ । जसरी चक्का माथि प्रहार हुन्छ । पङ्चर हुन्छ । त्यसरी नै ती पात्रहरुको जीवनमा समस्या आइपर्छ । दुख आइलाग्छ । निर्देशकले गाडीको चक्कालाई सबटेक्सको रुप प्रयोग गरेका छन् । यस्ता थुप्रै दृश्य छन् जहाँ निर्देशकले बिम्बको प्रयोग गरेर कथावाचन गर्ने प्रयास गरेका छन् । जस्तो दुई पात्रहरु बीच चुरोटको आदानप्रदानबाट सम्बन्ध स्थापित देखाउनु, गाडीको पांग्रा फेर्ने बेला एकले अर्कालाई साथ दिनु, दुवैजना मिलेर ढुंगा उचालेसँगै मानसिक रुपमा तनाव कम भएको देखाउनु, त्यस्तै होटलमा रात बिताउँदाको एक दृश्यमा पुष्पाले ओछ्यानमा ठाउँ छोड्नु जस्ता विम्बात्मक दृश्यले चलचित्रलाई झनै कलात्मक बनाएको छ ।

त्यस्तै झिलिमिली, घमाइलो अनि रंगीन दृश्य समावेश छैन बरु पात्रका मुड अनुसार कलर र कलरटोन प्रयोग गरेका छन् । जस्तो पुष्पा विद्रोही स्वभावकी हुन्छिन् । निर्देशकले पुष्पाको भाव उनले प्रयोग गरेको मास्कको रंगबाट दर्शाउन खोजेका छन् ।
चलचित्रले शवलाई चिसो मान्छे भनिएता पनि वास्तविक चिसो मान्छे भनेर समाजका केही मान्छेहरुलाई इंगित गर्न खोजेको छ । मानव संवेदना गुमाएको चिसो समाजलाई संज्ञा दिएको छ। त्यसो त चलचित्रको केही पात्रहरुले गुम्सिएको भाव पोख्नु अघि संवेदनाविहीन चिसो मान्छेको रुपमा उभ्याउन खोजेको देखिन्छ । पिकअपका चालक अशोक थापा अनेक दुखसँग जुधिरहेको हुन्छ । श्रीमतीको अवसान, बिरामी ६ महिने बच्चा, बैंकको किस्ता इत्यादिले पिरोलिएको हुन्छ ।

जब उनले फोनमा समस्याको घन्टी बजे पनि अरुले नसुन्ने गरी फोनमा कुरा गर्छन् । न इमोसन व्यक्त गर्छन् न समस्या नै ।
रातो बाकसमा शव कसरी फर्कियो ? मृत्यु कसरी भयो ? यो महत्वपूर्ण विषय हैन । मुख्य कुरा त बाकसमा फर्किनेहरु कसरी मृत्यु कुण्डमा हामफाल्न राजी हुन्छन् भन्ने हो । पिकअप गाडीको पृष्ठभूमिमा लेखिएको छ, ‘यो जिन्दगी यसरी नै चल्छ, मिहिनेत गरे आफ्नै देशमा सुन फल्छ ।’ एउटा शिक्षित युवा आफ्नै देशमा केही गर्न चाहन्छ । तर गरिबी, देशको राजनीतिक अवस्थाले कसरी विदेश जान बाध्य बनाउँछ । देशको अर्थतन्त्रलाई धान्ने रेमिटेन्स भित्राउन याउन कसरी ‘सस्तो कामदार’ निर्यात हुन्छ । निर्देशकले बाकसमा फर्किनेहरुको व्यथा अशोक थापामार्फत पोख्न खोजेका छन् ।

प्रमुख पात्र पुष्पा (स्वस्तिमा खड्का) ले सुदूरको पहिरन अनि लवजलाई टपक्क टिपेकी छिन् । भाषा र भेषभुषामात्र हैन उनको हाउभाउ, अभिनय, संवादले पनि चरित्र सशक्त बनेको छ । सजीव र जीवन्त अभिनय गरेकी छिन् । चलचित्रमा पुष्पा विद्रोही पात्रको रुपमा उभिएकी छिन् । १५ वर्षकै उमेरमा बिहे गरेकी उनले श्रीमान्को काँधमा शिर राखेर निदाएको कुनै पल छैन । उनीसँग बिताएका एक निमेष याद छैन । बाकसभित्रको चिसो मान्छेप्रति उनको कुनै संवेदना पनि छैन । बस् उनलाई समाजले बाँधेको अधीनताको डोरी नाघ्नु छ । मनमा अनेक इच्छा छन् । दबाएर राखेका सपनाहरु छन् । तर त्यसलाई पुरुष प्रधान समाजले छेकेको छ । मनमा गुम्सेको भावलाई पोख्न पाएकी छैन । स्वतन्त्र उड्न चाहन्छिन् ।

पटकपटक भाग्ने प्रयत्न गर्नु, गलामा लगाएको अधीनताको पोते चुँडाउनु, अनि निस्फिक्री खोलाको बगरमा नाच्नु, श्रीमानको मृत्युशोक नबारीकन मासु खान खोज्नु जस्ता विम्बात्मक दृश्यमार्फत पात्रको मनोदशा बुझ्न सकिन्छ । यस्ता अर्थपूर्ण प्रशंसानीय दृश्यले चलचित्रलाई बजनदार बनाएको छ । अन्तिम दृश्यमा सिउडीमा फोकस भएर क्यामरा शव यात्रातिर फोकस हुन्छ । सिउडीले कठोरपनलाई जनाउँछ । सिउडीको प्रतीकात्मक सटमार्फत निर्देशकले संवेदनाविहीन समाज देखाउन खोजेका छन् । चलचित्रमा थोरै संवाद अनि धेरै दृश्यभाषा छन् । निर्देशकको चलचित्र प्रस्तुतीकरण तारिफयोग्य छ ।

डिएस डिजिटल तथा अमृत पाण्डेको ब्यानरमा निर्मित चलचित्रको लेखन र छायाँकार चाँही निर्देशक स्वयम् हुन् । त्यस्तै दीर्घ खड्काले सम्पादन गरेका छन् । स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनालसँगै अशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी, रामबाबु रेग्मी लगायतको अभिनय छ । चलचित्रमा पाश्र्व संगीत भने पुष्प संगमको छ । दृश्य सम्पादकलाई सेकेन्ड डिरेक्टर पनि भनिन्छ । दर्शकलाई बाँध्न सम्पादनको विशेष भूमिका रहन्छ । जुन औसतमात्र छ । उसो त रोडट्रिप जनरामा बनेको सिनेमा सुस्त नै हुन्छ । तर चलचित्रमा निर्देशकले पात्रसँगै दर्शकलाई यात्रा गराउन अथवा पात्रको मनस्थितिसम्म पुर्‍याउन धिमा गतिमा बढाएको देखिन्छ । जानाजान ढिलो बनाउन खोजेको छ तर चाहिने भन्दा बढी सुस्ता रुपमा पटकथा बढाएकै कारणले पट्यारलाग्दो महसुस गराउँछ कि ?

चलचित्रमा पात्र पुष्पाले विद्रोह गर्छिन् । तर सुदूरको कुनै गाउँको युवती विद्रोही बन्नु पछाडिका आधारहरु स्थापित छैन । यति ठूलो हिम्मत कहाँबाट आयो ? कसरी आयो ? स्पष्ट छैन। भाषा र भेषभुषाबाहेक सुदूरको अरु मौलिक कुरा मिसाएको छैन । सुदुरको समाज, त्यहाँको संस्कृति बलियो रुपमा देखाएको छैन । पटकथा लेखनमा देशभक्त खनालकै चरित्र निर्माणमा चुकेको हो कि भन्ने लाग्छ । त्यो घर एउटा क्रान्तिकारी घर हो जहाँ पुष्पा बिहे भएको छ । थोरै भएपनि राजनीतिक चेत छ उनीहरुसँग । तर त्यही घरकै मुलीले छोरी बनाउँछु भनेर नाबालिगसँग छोरोको बिहे गराउँछन् । १७ दिनसम्म छाउगोठमा राख्छन् । बुहारीको सपनामाथि तगारो लगाउँछन् । तिनै व्यक्ति फेरि बडो दार्शनिक देखिन्छन् । जातभातको कुरा गर्नु हुन्न भन्छन् । चलचित्रको अन्त्यमा देखाउन खोजेको कुरा पनि निर्देशक स्पष्ट छैन । विद्रोह देखाउन खोजेको हो कि समाजपूर्ण रुप चिसो भइसककेको हो प्रस्ट छैन ।

बाकसको शवसँग दर्शकले संवेदना प्रकट गर्न सक्दैन । बरु बेलाबेलामा बुवा भक्कानिन्छन् । तर ती दृश्य त्यति कारुणिक लाग्दैन । बरु विवाहको रात रक्सी खाएर बलात्कार गरेको कुरा अनि श्रीमती हुँदा हुँदै परस्त्रीको फोटो वालेटमा बोँकेर हिँड्ने बाकसको चिसोमान्छेप्रति नकारात्मक भाव उत्पन्न हुन्छ । कहिलेकाहिँ सबै चिज समेट्न खोज्दा अधकल्चो हुन्छ । यस चलचित्रमा पनि वैदेशिक रोजगारका दुख, मानवीयता हराएको चिसो समाज, कोरोना कहर, पुरुष प्रधानसमाज, राजनीति सबै देखाउन खोज्दा गहिरो रुपमा जान नसकेको हो कि भन्ने लाग्छ ।

कोरोना कहर समयलाई पृष्ठभूमिमा राखेर लिएको दृश्यहरु यथार्थ नलाग्न सक्छ । लहरै हिँडिरहेका अनुशासित सर्वसाधारणको लाइनको दृश्य बनावटी लाग्न सक्छ । दर्शकलाई कोरोनाको कारण पाएको दुख र समस्या महसुस गराउन सक्दैन । पाश्र्व संगीत पनि औसत नै छ । बेलाबेला लाउड रुपमा प्रयोग गरेको साउन्डले पात्रको मनोदशाको भन्नुको साटो दर्शकको ध्यान भंग गराउँछ । क्यामराले स्टोरी टेलिङको भूमिका खेलेको छ तर कतिकति बेला छायाँकार स–साना कुरामा चिप्लिएका छन् । जस्तो कथाको प्रमुख पात्रहरुको यात्राको गन्तव्य बायाँ हो । धेरै दृश्यहरुमा पिकअप गाडीसँगै पात्रहरुलाई स्क्रिनको दायाँदेखि बायाँ नै बगाएको छ ।

तर बीचमा यस्ता दृश्य समावेश गरेको छ कि पात्रहरु कुन दिशा अगाडि बढेका छन् भन्ने कुराले कन्फ्युज बनाउँछ । झन् रोड ट्रिपलाई आधार गरेर बनाएको चलचित्र भएपछि ख्याल गर्नुपथ्र्यो । निर्देशकले सुदूरपश्चिमको सामाजिक अवस्था, भाषा, आर्थिक तथा राजनीतिक अवस्थालाई चलचित्रमा उतार्ने प्रयास गरेका छन् । पात्रहरुको अभिनय प्राकृतिक छ । सुन्दर तवरले पात्रहरुको अव्यक्त प्रेम भाव चित्रण गरेका छन् । नेपालमा ओपन इन्ड, रोड ट्रिपको कथा, जीवन दर्शनको विषयमा थोरैमात्र सिनेमा बनेका छन् । निर्देशक खनालले यी कुरालाई मिसाएर सिनेमा बनाउने अठोट गरेका छन् ।

परम्परागत सूत्रमा बाँधिएर वा बिकाउ सिनेमा बनाउने नेपाली निर्देशकहरुको हुलबाट फुत्त निस्केर नयाँ प्रयोग गर्दै मौलिक कथा उनेका छन् । सामाजिक धरातल उभिएर यथार्थपरक सिनेमा बनाउने यी अकबरी निर्देशकलाई कसी लगाउनु पर्दैन । जीवनलाई सिनेमासँग जोड्ने दीपेन्द्र के खनालको निर्देशकीय कौशल तारिफयोग्य छ । व्यावसायिक रुपमा के कति नाफा होला समयले बताउला तर चिसोमान्छे नेपाली सिनेमाकाशमा चम्किलो नक्षेत्र भने पक्कै बन्नेछ ।

तपाईको प्रतिक्रिया