प्राकृतिक र सांस्कृतिक सम्पदाबारे अन्तर्राष्ट्रिय सम्मेलन
पोखरा ।
पोखरामा आयोजना गरिएको दक्षिण एसियामा प्राकृतिक र सांस्कृतिक सम्पदासम्बन्धी २ दिने अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबार सकिएको छ । बिहीबारबाट सुरु भएको २ दिने सम्मेलन पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय एवं त्रिभुवन विश्वविद्यालय पृथ्वीनारायण क्याम्पस पोखराले संयुक्त रूपमा आयोजना गरेका हुन् ।
दक्षिण एसियाली अध्ययनका विभिन्न पक्षका अन्तरविषयमा सहभागीले प्रस्तुतिकरण र सामूहिक छलफल गरेका छन् । सम्मेलनले दक्षिण एसियाली अध्ययनसँग सम्बन्धित संग्रहालय र स्मारकहरू, आदिवासी, भाषा र साहित्य, पर्यटन, वातावरण र इकोक्रिटिकिजम्, सिनेमा, प्रदर्शन र दृष्यकला तथा नयाँ मिडिया, सञ्चार र साइबर संस्कृतिलाई निचोडको रूपमा प्रस्तुत गरेको छ ।
सम्मेलनमा प्रस्तुत भएका दक्षिण एसियाका विविध सांस्कृति, इतिहास, भाषा र साहित्यसँग सम्बन्धित विषयका अनुभव र अन्वेषणलाई एकत्रित गरी जर्नल प्रकाशित हुनेछ । नेपाल यात्रु र साहसिक यात्रा खोज्नेका लागि पनि उत्कृष्ट गन्तव्य स्थल रहेको र यहाँको समृद्ध सम्पदा, साहसिक कार्य, प्राकृतिक एवम् सांस्कृतिक सम्पदा र विविधताका विभिन्न पक्षलाई समेत विश्वसामु ल्याउन सम्मेलन सहायक हुने विश्वास लिइएको छ ।
सम्मेलनमा भारत, चीन, भुटान, बंगलादेश र इटालीका १५ विश्वविद्यालयबाट ८६ जना प्राध्यापक, विद्वान, स्वयंसेवक एवम् अनुसन्धाता सहभागी थिए । सम्मेलनमा ३५ कार्यपत्र प्रस्तुत भएका छन् । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका अंग्रेजी केन्द्रीय विभागका प्राडा अभि सुवेदी र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा अम्माराज जोशी सम्मेलनका प्रमुख वक्ता थिए ।
उद्घाटन सत्रको अध्यक्षता पृथ्वीनारायण क्यापसका अंग्रेजी विभागका प्रमुख सहप्राध्यापक घनबहादुर थापाले गरेका थिए ।
समापन समारोहको अध्यक्षता पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डीन सहप्राडा अजय थापाले गरेका थिए । सम्मेलन आयोजक समितिको संयोजकमा पृथ्वीनारायण क्यापसका अंग्रेजी विभागका प्रमुख घनबहादुर थापा र वैज्ञानिक समिति संयोजनका प्राडा मीन पुन रहेको पोखरा विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढकालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया