‘अपांगमैत्री कानुन तर्जुमा गर्छौ’, मन्त्री बिन्दुकुमार थापा

समाधान संवाददाता २०७९ असार ५ गते १५:१८

पोखरा ।
अपांगता स्वावलम्बन विकास संघ (डिडा )नेपाल, इन्सेक र नेपाल नेत्रहीन संघ गण्डकीले दिगो विकास र अपांगताको सवालमा सेवाग्राही तथा सेवा प्रदायकबीच अन्तरक्रिया गरेका छन् । ‘सबैको लागि मानव अधिकार, पहुँचयुक्त दिगो विकास मुल आधार’ भन्ने नाराका साथ इन्टरनेसनल नेपाल फेलोसिप (आइएनएफ)का सहयोगमा कार्यक्रम भएको हो ।

गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले अपांगमैत्री नीति नियम र कानुन तर्जुमा गर्न प्रदेश सकारात्मक भएको बताए । उनले अपांगमैत्री भौतिक पूर्वाधार निर्माणमा ध्यान दिने उल्लेख गरे । ‘विगतमा अपांगलाई गरिने विभेद क्रमशः घट्दै गएको छ,’ मन्त्री थापाले भने, ‘नयाँ पूर्वाधार तथा भौतिक संरचनालाई अपांगमैत्री बनाइनेछ । अपांगको रोजगारी शिक्षा, स्वास्थ्यमा प्रयाप्त ध्यान दिइनेछ ।’ उनले कानुन अनुसार आरक्षण, रोजगारी र अवसर सिर्जना हुँदै गएको जनाए ।

गण्डकी प्रदेश नीति तथा योजना आयोग सदस्य माया तिमिल्सिनाले दिगो विकास लक्ष्य सबै मन्त्रालयको समन्वय र सहकार्यमा कार्यान्वयन गर्ने बताइन् । दिगो विकास लक्ष्य कार्यान्वयनमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने उल्लेख गरिन् । गैसस महासंघ गण्डकी कार्यवहाक अध्यक्ष पदमराज पहारी, इन्सेक गण्डकी संयोजक शिव खकुरेल, शान्तिका लागि नागरिक समाजको सञ्जाल अध्यक्ष बिना सिलवाल, डिडा नेपाल अध्यक्ष दीपक तिमिल्सिना, डिडा नेपालका पूर्व अध्यक्ष गिरीधारी सुवेदी, नेपाल नेत्रहीन संघका केन्द्रीय महासचिव शिशिर खनाल, राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकी अध्यक्ष खोमराज शर्मा, अपांग महासंघ नेपाल कास्की पूर्व अध्यक्ष गंगाबहादुर खड्का, आइएनएफ नेपालका आउट रिच म्यानेजर विष्णु गिरी, महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष ईन्द्रकुमारी शर्मा लगायतले कार्यक्रममा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया