स्याङ्जामा रासायनिक मल आजदेखि वितरण गरिने
वालिङ ।
लामो समय रासायनिक मलको चर्को अभाव भयो । यही कारण तरकारी खेती, धान, मकैको उत्पादन घटेको घट्यै थियो । तर यसपालि स्याङ्जावासी दंग छन् । वालिङस्थित साल्ट ट्रेडिङको डिपोमार्फत सोमबारदेखि रासायनिक मल (डिएपी) वितरण हुँदै छ । वालिङ–८ की कृषक रन्नता बगालेले मल पाइने खबरले आफू उत्साहित भएको बताइन् ।
‘रोपाइँ हुने बेला छ, रासायनिक मल नपाइने हो कि भन्ने चिन्ता लागेको थियो,’ उनले भनिन्, ‘सोमबारबाट मल पाइन्छ भन्ने सुनेकी छु, अब रोपाइँ गर्ने बेला भयो ।’ धान रोपाइँ गर्ने तयारीमा रहेका स्याङ्जाका कृषकलाई लक्ष्य गरी करिब ९०० बोरा डिएपी मल आइतबारसम्म वालिङ आइपुग्ने कार्यालय प्रमुख नगेन्द्र थापाले जानकारी दिए ।
डिपोले यहाँ आएको मल सूचीकृत भएका डिलरहरूलाई उपलब्ध गराउने छ । वालिङमा रहेको डिपोमा हालसम्म पालिकाको बैठकबाट छनोट भई आएका कृषि सहकारी, बहुउद्देश्यीय सहकारी तथा छनोट भएका आठवटा संघसंस्थालाई डिलरका रूपमा मान्यता दिई सोहीमार्फत कृषकलाई मल उपलब्ध गराइने उनले बताए ।
कृषक तथा डिलरबाट आएको मागको आधारमा र यसअघि खरिदबिक्री भएको अनुपात लगायत आधारमा मल वितरण गरिने कार्यालयले जनाएको छ । ‘धानका लागि करिबकरिब पुग्ने गरी मल आएको छ,’ उनले भने, ‘केही मात्रामा नपुगेको खण्डमा केही दिनमै युरियासहितको अन्य मल पनि आउने भएकाले आफूलाई चाहिनेभन्दा बढी भण्डारण नगर्न पनि कृषकलाई आग्रह गर्छु ।’
स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको डिपो र पुतलीबजारमा रहेको कृषि सामग्री केन्द्रमार्फत डिलरलाई रासायनिक मल वितरण हुँदै आएको छ ।
तपाईको प्रतिक्रिया