हृषिकेशका एकैसाथ २ कृति

समाधान संवाददाता २०७९ असार ५ गते १६:३०

पोखरा ।
साहित्यकार हृषिकेश बरालका २ कृति एकैसाथ शनिबार सार्वजनिक भएका छन् । लेखनाथ साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बरालको कविता सञ्चयन छन्द सुरभि र नीतिश्लोक संग्रह पूर्वी आर्ष चिन्तन सार्वजनिक गरिएको हो ।
कार्यक्रममा साहित्यकार, समालोचक प्राडा अभि सुवेदीले सिर्जना प्रकाशनपछि त्यो पाठकको मञ्चमा पुग्ने बताए ।

Advertisement

उनले फ्रेन्च समालोचक रोनाल्ड वार्थको ‘द अथर इज डेड’ निबन्धको प्रसंग निकाल्दै कृतिको वास्तविक मूल्यांकन पाठकबाट हुने उल्लेख गरे । कवि बरालको ५० भन्दा बढी छन्द प्रयोग भएको कविता सङग्रह ‘छन्द सुरभि’माथि डा जगन्नाथ रेग्मीले समीक्षा गरे । डा रेग्मीले सुरभिको शाब्दिक अर्थ सुगन्ध, पृथ्वी, वसन्त ऋतु, कामधेनु जस्तै यसका कविताहरु पनि प्रभावशाली भएको जनाए । कृतिमा २ सय १४ पृष्ठ छन् ।

बरालको अर्को कृति ‘पूर्वी आर्ष चिन्तन’ को नारायणप्रसाद न्यौपानेले समीक्षा गरे । न्यौपानेले कृतिमा २ हजार ६३ श्लोक समावेश गरिएको बताए । उनले भने, ‘मनुष्यले कर्म गर्छ तर धर्म छाडेर जुन निकै चिन्ताको विषय हो । साहित्यकार बरालले यसैलाई नै विषयवस्तु बनाएर यो कृति सिर्जना गर्नु भएको छ ।’ समारोहमा शिव त्रिपाठी र निर्मला अर्यालले बुवा प्रदेशमा रहँदा परिवारलाई विपत परेको अवस्थालाई दर्साउने कविता वाचन गरे । उनीहरुले बरालको ‘बुवाछोरी बीचको फोन सम्पर्क’ कविता सुनाएका हुन् ।

Advertisement

अर्यालले मान्छेको स्वभावलाई दर्साउने ‘मान्छे’ नामक बरालको अर्काे कविता पनि सुनाइन् । सुरेन्द्रबावु तिवारीले ‘बा, बुवा, पिता, जनक’ नामक कविता वाचन गरेका थिए । कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले साहित्यिक कृतिलाई पाण्डुलिपिमै सम्पादन गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘पहिले नै विज्ञ, समीक्षकसँग बसेर अन्तक्र्रिया, सम्पादन गरौं । प्रकाशन भइसकेपछि समीक्षक त पाठक नै भइहाल्छन् ।’

लेखनाथ साहित्य प्रतिष्ठान र भानु वाङ्मय प्रतिष्ठानको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

तपाईको प्रतिक्रिया