पहिला एकाउन्टेन्ट, पछि चोरी

समाधान संवाददाता २०७९ असार ६ गते १०:२९

पोखरा ।
पहिला जागिर गरेकै अफिसमा चोरी गर्ने एकजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार पक्राउ गरेको छ । पोखरा २१ निर्मलपोखरी घर भई हाल पोखरा १० औद्योगिक क्षेत्र बस्दै आएका अजित विश्वकर्मालाई वडा प्रहरी कार्यालय रामबजार तथा मातहत प्रहरी इकाईबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले अनुसन्धान गर्दै जाँदा पोखरा १४ स्थित बिपीमार्गमा रहेको चुलोसेवा प्रालिमा अजितले चोरी गरेको खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता इन्स्पेक्टर ज्ञानबहादुर खड्काले बताए । अजितले जहाँ चोरी गरे, त्यही अफिसमा उनले २ महिना एकाउन्टेन्ट भएर काम गरेका थिए । २ महिना एकाउन्टेन्ट गरेका उनी पछिल्लो समय जागिर छोडेर घरमै थिए ।

अजितले चोरी गर्ने बेलुका सोही कम्पनीका सेल्सम्यान अञ्जित परियारसँग बस्न आएको भनी शौचालय गएका थिए । त्यहीबाट चोरी गर्न गएको उनले प्रहरीलाई बयान दिएका छन् । पूर्वतर्फको झ्याल फोरेर काउन्टरमा चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अजितलाई जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

Advertisement

‘वडामा पछिल्ला दिनमा चोरीका घटना बढेका छन् । वडाबासीको चोरीको अत्यधिक गुनासो आएपछि हामीले राति सादा पोसाकमा प्रहरी खटाएका थियौं,’ खड्काले भने, ‘चोरी हुन सक्ने सम्भावित ठाउँमा विशेष ध्यान दिएका थियौं । नभन्दै चोरी गरेर फर्किरहेको अवस्थामा हाम्रो टोलीले उनलाई भेट्यो ।’

अजितका साथबाट प्रहरीले स्रोत नखुलेको ३ लाख ६२ हजार ३ सय ८० रुपैयाँ र रेडमी मोबाइल सेट १ थान फेला पारेको छ । ‘सोधपुछ गर्दा चुलोसेवामा चोरी गरेको उहाँले स्वीकार्नुभयो,’ खड्काले भने, ‘तर चुलोसेवा प्रालिले अफिसबाट ७ लाख २५ हजार ३ सय ५० रुपैयाँ र भारु ९ हजार रुपैयाँ हराएको जानकारी आएको छ ।’

Advertisement

अजितको साथबाट फेला परेको र चुलोसेवाका सञ्चालक सन्तबहादुर लामिछानेले दाबी गरेको रकममा धेरै फरक भएकाले घटनाको बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रामबजारका इन्स्पेक्टर किरण रावतले बताए ।

तपाईको प्रतिक्रिया