लापरबाहीले स्विमिङ पुलमा मृत्यु भएको भन्दै जाहेरी

समाधान संवाददाता २०७९ असार ६ गते १०:४२

पोखरा ।

पोखरा तेर्सापट्टीस्थित सिएम स्विमिङ पुलमा डुबेर शनिबार दीपेश शर्माको मृत्यु भएपछि आइतबार आफन्तले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन् । स्विमिङ पुल व्यवस्थापनले लापरबाही गरेकाले दीपेशको ज्यान गएको भन्दै आफन्तले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर ज्ञानबहादुर खड्काले बताए ।

“उहाँहरुले जाहेरी दिनुभएको घटनाको बारेमा हामी अनुसन्धान गर्दै छौं,” खड्काले भने । शनिबार पौडी खेल्ने क्रममा पर्वत घर भई पोखरा ५ मालेपाटन बस्दै आएका १३ वर्षीय किशोर दीपेश शर्माको मृत्यु भएको थियो । स्कुल बन्द भएकाले शनिबार आमासँगै दाजुभाइद्वय दीपेश र दिवस पोखरा ३ तेर्सापट्टीस्थित सिएम स्विमिङ पुल पुगेका थिए । उनीहरु त्यहाँ पुगेर पौडी खेलिरहेका थिए । आमा पुलकै डिलमा बसेर छोराहरुको स्विमिङ हेरिरहेकी थिइन् ।

Advertisement

पौडी खेलिरहेको जेठो छोरो नभेटेपछि आमाले हारगुहार मागेपछि खोजी गर्दा ११ फिटको गहिराइमा डुबिरहेको अवस्थामा दीपेश भेटिएका थिए । दीपेशलाई तत्काल उद्धार गरेर गैरापाटनकै फिस्टेल अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषण गरेका थिए । दीपेशको मृत्यु भएपछि आइतबार जिल्ला प्रहरी कार्यालयमा स्विमिङ पुलको लापरबाहीले गर्दा छोराको ज्यान गएको भन्दै जाहेरी दर्ता गरेको हजुरबुबा सञ्जय लामिछानेले बताए ।

‘स्विमिङ पुल सञ्चालन गर्दा आवश्यक पर्ने पौडी प्रशिक्षक पनि नभएकाले नातिको ज्यान गएको हामीले बुझेका छौं । यही अनुसार हामीहरुले जाहेरी दियौं,’ उनले भने, ‘पोस्टमार्टम रिपोर्टमा पनि पानी धेरै खाएर ज्यान गएको आएको छ ।’ स्विमिङ पुलका लापरबाहीले नातिको ज्यान गएपछि सञ्चालकले यो कुरा व्यवस्था गरेकाले आफूहरुले जाहेरी दर्ता गरेको उनले बताए । ‘स्विमिङ पुल सञ्चालन गर्दा सामान्य पौडी प्रशिक्षक देखिएन । स्विमिङ पुलको सिसिटिभी माग्दा पनि दिन मान्नुभएन,’ उनले भने ।

Advertisement

तपाईको प्रतिक्रिया