उत्खननले पुल जोखिममा
पोखरा ।
पोखरा महानगरपालिका १९ पुरुन्चौर र वडा नम्बर २५ हेमजाा जोड्ने पुलमा आइतबार रातिको वर्षापछि आएको बाढीले क्षति पुर्याएको छ । पुल छेउबाटै जथाभावी गिट्टी, बालुवा उत्खनन् गर्दा सानो बाढीले पनि ठूलो क्षति गरेको हो ।
मर्दी खोलामा आएको बाढीले पुलमा क्षति पुगेको वडा नम्बर १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बताए । २०७२ सालमा निर्माण सम्पन्न यो पुलको पुरञ्चौरतर्फको भाग खसेको छ । ‘मापदण्ड विपरीत पुल नजिकै उत्खनन् गरियो, जसले पुल थप जोखिममा पर्यो,’ उनले भने, ‘नीति, नियममा ख्याल नगर्दा पुल भत्किन पुग्यो ।’
आगामी दिनमा उत्खननमा ध्यान नदिने हो भने ठूलो क्षति भोग्नुपर्ने उनी बताउँछन् । पुल मर्मत गर्न वडा कार्यालयबाट सम्भव नभएकाले सम्बन्धित निकायमा पहल गर्ने उनले बताए । यो पुलमार्फत दैनिक ३/४ सय ठूला गाडी आउजाउ गर्ने गर्थे ।
पुलमा क्षति भएपछि दुइटा वडामा आवतजावत गर्न समस्या भएको छ । आइतबार बिहान पोखरा महानगरपालिका, जिल्ला समन्वय समिति कास्की र सडक विभागका प्रतिनिधिले पुलको निरीक्षण गरेका छन् ।
तपाईको प्रतिक्रिया