पोखरा सहकारीका सेयर सदस्यको निशुल्क स्वास्थ्य जाँच

समाधान संवाददाता २०७९ असार ६ गते १२:०२

पोखरा ।
पोखरा ९ नयाँबजार स्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेयर सदस्यको स्वास्थ्य परीक्षण गराएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा २ सय १ जनाको सित्तैमा सुगर र टिजी जाँच गरिएको थियो ।

Advertisement

सहकारीले शानिबार आयोजना गरेको शिविरमा सेयर सदस्यको मुटु, कलेजो र मृगौलाका केही जाँचसमेत सित्तैमा गरिएको थियो । सामाजिक उत्तरदायित्व बहन गर्दै आफूहरुले शिविरमा सहकार्य गरेको युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए ।

कार्यक्रममा जीवनशैलीबारे प्राकृतिक चिकित्सक डा. विनोद पौडेलले प्रकाश पारेका थिए । रजहर प्राकृतिक चिकित्सालय नवलपुरका निर्देशक एवं विन्ध्यबासिनी प्राकृतिक चिकित्सालय पोखराका प्रवर्धकसमेत रहेका प्रशिक्षक डा. पौडेलले मानिसले आफ्नो दैनिक आहारविहारलाई सही तवरले व्यवस्थापन गर्न सकेमा धेरै स्वास्थ्य समस्याबाट मुक्ति पाउन सम्भव हुने औंल्याए ।

कोभिड १९ को सन्त्रासका कारण लामो समयसम्म सेयर सदस्यलाई समेटी कुनै कार्यक्रम आयोजना हुन नसकिरहेको अवस्थामा संस्थाले अहिले शिविर आयोजना गरेको संस्थाका उपाध्यक्ष एवं शिक्षा उपसमिति संयोजक शम्भुराज बास्तोलाले बताए ।

संस्थाका अध्यक्ष इन्जिनियर सुरेन्द्रबहादुर गोदारले सहभागीले स्वास्थ्य प्रशिक्षणमा सिकेका कुरा व्यवहारमा उतार्न सके शिविर निकै सार्थक हुने उल्लेख गरे । २०५९ वैसाख १२ गते स्थापित पोखरा बचतमा ४ हजारभन्दा बढी सेयर सदस्य छन् । १० करोड ४८ लाख सेयर पुँजी रहेको कोषाध्यक्ष हिरामणि दाहालले जनाए ।

Advertisement

पोखरा ९ नयाँबजार स्थित आफ्नै भवनमा प्रधान कार्यालय रहेको पोखरा बचतले पोखरा ८ सिर्जनाचोक र अमरसिंहचोकका सेवा केन्द्रबाट समेत सेवा दिइरहेको छ ।

तपाईको प्रतिक्रिया