पर्यटनका लागि पूर्वाधार बनाउन माग

समाधान संवाददाता २०७९ असार ७ गते ११:४५

पोखरा ।
पोखरा पर्यटन परिषदले तर्फबाट पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई पर्यटन लक्षित विकासका लागि सुझाव दिएको छ । परिषदले एक कार्यक्रमबीच पर्यटकीय सहर पोखराको थप विकासका लागि आवश्यक पूर्वाधारसँगै लेकसाइड क्षेत्रमा देखिएका समस्या औल्याउँदै तत्काल सम्बोधन गर्न सुझाव दिएको परिषद अध्यक्ष गोपीबहादुर भट्टराइले जानकारी दिए ।

पर्यटन सम्बद्ध संघ, संगठनको छाता संस्था हो । ‘पोखरा लेकसाइडका पर्यटन व्यवसायीको मात्र होइन । विश्वको ध्यान खिच्न सफल घुम्नैपर्ने सहरको परिचय बनाएको सहर पनि हो, यसलाई व्यवस्थित बनाउन डाइनामिक नेतृत्वको खोजी सधै पोखराले गरिरहेको छ’, अध्यक्ष भट्टराईले भने । पर्यटन उद्योग अन्य उद्योगभन्दा भिन्न प्रकृतिको भएको र सिधै पर्यटकसँग हेलमेल भई व्यवसाय संचालन गर्नुपर्ने हुँदा यहाँ थुप्रै चुनौतीसमेत रहेको उनले बताए ।

पर्यटन मैत्री नीति अवलम्बन गरेर ती समस्याको समाधान गर्नुपर्नेमा उनको जोड छ । परिषदले पोखरालाई पर्यटनको राजधानी बनाउने प्रस्ताव कार्यान्वयनको पक्षमा जोड दिँदै महानगरपालिकामा पर्यटन महाशाखा स्थापना गरी पर्यटक सम्पदा सहयोग कक्ष व्यवस्था गर्नुपर्ने, फेवातालको लगायत पोखराका सबै ताल सफा, सुन्दर, वातावरण मैत्री बनाउन ताल छेउछाउमा प्लास्टिक जन्य खाद्यपदार्थ विक्री वितरणमा रोक लगाउनुपर्ने, फुट ट्रयाकमा राखिएका फोहोर मैला संकलन बक्स नियमित रुपमा खाली गर्नुपर्ने, फेवातालमा मिसिने ढलहरुको उचित व्यवस्थापन गरिनुपर्ने सुझाव दिएको छ ।

Advertisement

पोखरा ६ लेकसाइड स्थित हिमागृह र रत्न मन्दिरलाई ऐतिहासिक, पुरातात्विक पर्यटकीय सम्पदाका रुपमा विकास गर्न न्यूनतम पूर्वाधार निमार्ण गर्दै दृश्वालोकनका लागि खुला गर्नुपर्ने, महानगरपालिका भित्र रहेका पर्यटकीय गन्तव्य स्थलमा लिइने शुल्क एकै ठाउँबाट तिर्न मिल्ने व्यवस्था मिलाउनु पर्ने, पर्यटकीय क्षेत्र लगायत प्रमुख स्थानमा सुरक्षाका दृष्टिकाणले पर्याप्त मात्रामा सिसी क्यामेरा, सडक बत्ति जडान र संरक्षणमा जोड दिन भनिएको छ । पोखराका सबै क्षेत्र समेट्ने गरी रिङरोडको डिपिआर तयार गरी निर्माण गर्नुपर्ने, पुरानो बसपार्क यथासक्य छिटो, छरितो सम्पन्न गरी व्यवस्थित गराउन र राष्ट्रबैैक चोकमा रहेको पर्यटन बसपार्क सञ्चालनार्थ महानगरले समिति गठन गरी त्यसको संरक्षण र सम्बद्र्धन व्यवस्थापनको जिम्माका लागि पोखरा पर्यटन परिषदलाई राख्नुपर्ने माग गरेको छ ।

पर्यटनसम्बन्धी कार्यक्रमका लागि शीर्षक तोकी बजेट विनियोजन गर्नुपर्ने परिषदको माग छ । अव्यवस्थित र अनुमति विना सञ्चालनमा रहेका व्यवसायलाई अनुगमन गरी कानुनको दायरामा ल्याउन, स्थानीय सरकारमा दर्ता नभएकालाई दर्ता गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ । अव्यवस्थित टेलिफोन, केवल, टिभी, इन्टरनेट साथै विद्युतका तारलाई अन्डर ग्राउड गरी व्यवस्थापन गर्नुपर्ने, प्रमुख पर्यटकीय आवास क्षेत्रमा विशेष पर्यटकीय क्षेत्र घोषणा गरी पर्यटन पुनरुत्थानका कार्यक्रम सञ्चालन गर्न सुझाव दिइएको छ ।

Advertisement

पार्क, खाली जग्गाको संरक्षण, सौन्दर्यकरण र सम्बद्र्धन गरी पर्यटन मैत्री वातावरण बनाउन, धुँवा फाल्ने सवारी साधनको चेकजाँच गरी प्रदूषित भएमा महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रोक लगाउनुपर्ने साथै राजमार्ग र सडक छेउछाउमा रहेका अटो सर्भिस-वर्कसपलाई अन्य ठाउँमा स्थानान्तरण गरी व्यवस्थित गर्नुपर्ने माग गरिएको छ फेवातालको मापदण्ड यथासक्य छिटो टुंग्याएर व्यवसायीलाई अनिर्णयको बन्दी नबनाउन र यस मुद्दालाई प्राथमिकतामा राखेर कार्य गर्न व्यवसायीको तर्फबाट अनुरोध गरिएको छ ।

महानगरपालिकाले लिँदै आएको एकीकृत सम्पत्ति कर ५ वर्षसम्म नबढाउने भनिए पनि विभिन्न बहानामा वृद्धि हुँदै आएकोतर्फ पनि ध्यानाकर्षण गराइएको छ । अध्यक्ष भट्टराइले पोखरा क्षेत्रको पर्यटनलाई कोभिड–१९ को प्रभावबाट पुनरुत्थान गर्नका लागि पोखरा महानगरले पनि रणनीतिक योजना तय गरेको विषयलाई पनि कार्यान्वयनतर्फ ध्यान दिन आग्रह गरे । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले आफूले जिम्मेवारीसम्हाले लगत्तै पोखरालाई पर्यटकीय राजधानी बनाउने विषय प्राथमिकतमा रहेको जनाए । पोखराको पर्यटन विकासका लागि अहिलेसम्म भएका अध्ययन प्रतिवेदन र सुझाव अध्ययन गरी समग्र पोखराको विकासमा निजी क्षेत्रसँग हातेमालो गरेर आफूअघि बढ्ने उनले उल्लेख गरे ।

तपाईको प्रतिक्रिया