गण्डकीका जिससमा एमाले बर्चस्व

(एमालेले ७ प्रमुख र ६ उपप्रमुख जितेको छ । माओवादीले १ प्रमुख र २ उपप्रमुख जित्दा १ प्रमुख र १ उपप्रमुखमा कांग्रेस विजयी)

रिखिराम जिसी २०७९ असार ८ गते १०:४१

पोखरा ।
गण्डकी प्रदेशका १० जिल्लामा जिल्ला समन्वय समिति गठन भएका छन् । तनहुँमा गठन हुन बाँकी छ । १० जिल्लामध्ये एमालेले ७ प्रमुख र ६ उपप्रमुखमा जित हासिल गर्दै पहिलो स्थान हासिल गरेको छ । माओवादीले १ प्रमुख र २ उपप्रमुख जित्दा १ प्रमुख र १ उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय जनमोर्चाले १ प्रमुख र एकीकृत समाजवादीले १ उपप्रमुख जितेका छन् ।

जिसस मुस्ताङ प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा एमालेकी माया गुरुङ र उपप्रमुख एमालेकै आइतलाल थकाली विजयी बने । म्याग्दी जिससमा एमालेको एकल नेतृत्व छ । एमालेबाट प्रमुखमा राजकुमार थापा र उपप्रमुखमा दिलकुमारी खत्री चुनिएका छन् ।

पर्वत जिसस प्रमुखमा एमालेका उम्मेदवार र उपप्रमुखमा माओवादीका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा एमालेका विष्णुराम विक र उपप्रमुखमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका सोम जिसी विजयी भएका हुन् । कास्कीमा एमालेको एकल जिसस बनेको छ । प्रमुखमा एमालेका लीलाधर पौडेल र उपप्रमुख एमालेकै सरीता मालसहितको प्यानल विजयी भयो ।
जिसस लमजुङमा पनि एमालेको प्यानल विजयी भएको छ ।

Advertisement

प्रमुखमा पूर्णबहादुर गुरुङ र उपप्रमुखमा बुनाकुमारी रिमाल निर्विरोध भएका हुन् । जिससमा एमाले र गठबन्धनका बीचमा समान ७ मत रहेपछि सहमतिमा जिसस गठन गरिएको थियो । जिसस सदस्यमा एमाले, कांग्रेस र माओवादीबीच भागबण्डा भएको थियो । गोरखा जिससमा माओवादी केन्द्रको एकल नेतृत्व आएको छ । प्रमुखमा माओवादीका मोहनबहादुर थापा र उपप्रमुखमा लीला परियार निर्वाचित भए । ९ सदस्यीय जिससमा माओवादीका उम्मेदवार निर्विरोध बनेका छन् ।

बागलुङको जिसस गठबन्धनले जितेको छ । गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका नेता अमरबहादुर थापा जिसस प्रमुख निर्विरोध निर्वाचित भएका छन् । उपप्रमुखमा एकीकृत समाजवादीका होमनाथ शर्मा विजयी भएका छन् । कांग्रेस माओवादी र जसपाले जिसस सदस्य पाएका छन् । स्याङ्जा जिससमा गोलाप्रथाबाट नेतृत्व टुंग्याइएको छ । कांग्रेस र एमालेको ११–११ मत भएपछि गोलाप्रथा गरिएको थियो । एकातिर प्रमुखसहित ४ सदस्य र अर्कातिर उपप्रमुखसहित ५ सदस्य रहने गरी गोलाप्रथा गरिएको थियो । प्रमुखसहित ४ सदस्य कांग्रेसलाई र उपाध्यक्षसहित ५ सदस्य एमालेलाई परेको हो ।

Advertisement

मनाङ जिससको प्रमुख र उपप्रमुख गोलाप्रथाबाट टुंग्याइएको छ । गोला तान्दा प्रमुख पद एमालेलाई परेको छ । प्रमुखमा एमालेका चीनबहादुर घले, उपप्रमुखमा कांग्रेसका सुरेन्द्र गुरुङ निर्वाचित भएका हुन् । नवलपुरको जिससमा एमाले उम्मेदवार विजयी भएका छन् । प्रमुखमा एमालेका बाबुराम विश्वकर्मा र उपप्रमुखमा एमालेकै शकुन्तला लम्साल विजयी भए । तनहुँको जिसस निर्वाचन हुन बाँकी छ । तनहुँमा निर्वाचन असार १३ गतेलाई तोकिएको छ । प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादीले उम्मेदवारी दिने गठबन्धनभित्र सहमति भएसँगै तनहुँमा गठबन्धनले जिसस चुनाव जित्ने निश्चित जस्तै छ ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया