घोडा किन्न अनुदान दिँदै मादी

समाधान संवाददाता २०७९ असार ८ गते १०:५३

पोखरा ।
मादी गाउँपालिकाले उपल्लो भागको पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न घोडचढीलाई प्राथमिकता दिएको छ । पालिकाले आन्तरिक तथा बाह्य पर्यटको आकार्षणको केन्द्र बनाउनका स्थानीयसँग ५०-५० प्रतिशत साझेदारीमा घोडा खरिदका लागि १५ लाख बजेट छुट्याइएको हो ।

पालिकाले आगामी आर्थिक वर्ष २०७९-८० मा पूर्वाधार विकासतर्फ ठूला योजना छनोटलाई प्राथमिकतामा राखेको छ । गाउँपालिका उपाध्यक्ष कल्पना गुरुङले गाउँसभामा आर्थिक वर्ष २०७९-०८० को बजेट प्रस्तुत गर्दै साना योजनालाई निरुत्साहित गरिने बताउँदै ‘समृद्ध मादी, सुखी मादीवासी’को नारालाई साकार पार्न ठूला योजना सञ्चालन गरिने बताइन् । सबै टोल बस्तीमा यातायातको सहज पहुँच सुनिश्चितता, रणनीतिक सडकको विस्तार तथा सडक मर्मत सुधार गर्ने कार्यको लागि ५ करोड ९७ लाख बजेट छुट्याइएको छ ।

साबिकका स्थानीय निकायमा स्थायी वा अस्थायी नियुक्ति लिई निरन्तर रुपमा कार्यरत कर्मचारीलाई योगदानमा आधारित कर्मचारी कल्याण कोष खडा गरी नियमित कोषमा रकम जम्मा गरिने भएको छ । मादीले युवा स्वरोजगार कोष स्थापना गरी रोजगारमूलक कार्यक्रममा लगानी गर्ने भएको छ । मादीले संघीय सरकारबाट वित्तीय समानीकरण ९ करोड ६२ लाख, संघीय सरकार सर्शत अनुदान २९ करोड ९२ लाख, विशेष अनुदान १ करोड, राजस्व बाँडफाँडबाट १० करोड ३ लाख ५९ हजार हुने जनाएको छ ।

Advertisement

यस्तै, रोयल्टी १ करोड ६ लाख ४० हजार, गण्डकी प्रदेश सरकार वित्तीय समानीकरण १ करोड ४ लाख ९५ हजार, गण्डकी सरकारबाठ राजस्व बाँडफाँड ८१ लाख २२ हजार, पिएलजीएसपी तथा अन्य सर्शत अनुदान चालु कार्यक्रम ६ लाख, सडक बोर्ड अनुदान ५० लाख र आन्तरिक, आय रोयल्टी तथा अल्यासमेत ९ करोड ४८ लाख ६४ हजार हुने जनएको छ । मादीले आर्थिक विकासका लागि ५ करोड ४२ लाख ४० हजार विनियोजन गरेको छ । सामाजिक विकासतर्फ ३२ करोड ८८ लाख ६० हजार, पूर्वाधार विकासतर्फ १४ करोड २५ लाख, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ८५ लाख ७० हजार र सुशासन तथा संस्थागत विकासतर्फ १२ करोड ७ लाख १० हजार विनियोजन भएको छ ।

सहुलियत ऋण उपलब्ध गराउन र साना व्यवसाय रोजगार प्रवद्र्धन गर्नका लागि कोष खडा गर्ने प्रयोजनमा ५० लाख बजेट राखिएको छ । अध्यक्षसँग उत्पादनमा अनुदान कार्यक्रमका लागि ५० लाख बजेट छ । कृषि क्षेत्रमा आधुनिकीकरण तथा यान्त्रीकरणको लागि कृषि औजार उपकरण तथा सामग्रीमा अनुदानका लागि ३० लाख विनियोजन भएको छ । स्वास्थ्य बिमामार्फत विशेषज्ञ सेवाको सुलभ पहुँच सुनिश्चित गर्दै थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रमा बि–फार्मेसी सञ्चालन, गाउँपालिकाका स्वास्थ्य संस्थाबाट निःशुल्क गर्भपतन सेवा विस्तार र महिलाहरूको पाठेघरको मुखको क्यानसरको निःशुल्क परीक्षणको व्यवस्था गरिने भएको छ ।

Advertisement

गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्केका युवा जनशक्तिलाई पुनः विदेश जान नपर्ने गरी रोजगारीका अवसर सिर्जना गर्ने प्रकृतिका कार्यक्रम सञ्चालन गर्ने भएको छ । कृषि क्षेत्रलाई सबल बनाउन युवा जनशक्तिको भरपूर उपयोगमार्फत कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी आयआर्जन बढाउन उत्पादनमा आधारित अनुदानजस्ता जनमुखी प्रोत्साहनमूलक कार्यक्रम सञ्चालनमा जोड दिएको छ । प्रदेश सरकारसँगको साझेदारीमा माटो परीक्षण शिविर सञ्चालन गरी माटोको प्रोफाइल तयार गर्ने तथा माटो सुहाउँदो खेती बाली लगाउन प्रोत्साहन गर्ने र कृषक, कृषि समूह, सहकारीको सहकार्यमा ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम सञ्चालन गरिने भएको छ ।

संघ र प्रदेश सरकारसँगको समन्वय र साझेदारीमा पर्यटकीय गन्तव्यहरूमा रञ्जुमार्ग (केबुलकार), पदमार्ग, लिफ्टिङ खानेपानी, क्याम्पसाइड, सोलारबत्ती, मोबाइलटावरजस्ता पूर्वाधार निर्माण गर्दै लैजाने व्यवस्था मिलाइने अध्यक्ष देवीजंग गुरुङले बताए । शैक्षिकसत्र विसं २०७९ देखि स्थानीय पाठ्यक्रम पूर्णरूपमा लागू गर्ने, स्थानीय तहमा कम्तीमा १ प्राविधिक शिक्षालय रहने नेपाल सरकारको नीतिअनुसार मादी गाउँपालिकामा प्राविधिक शिक्षालय स्थापना गर्नका निम्ति संघीय तथा प्रदेश सरकारसमक्ष आवश्यक पहल गरिने र पालिकाका सबै सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँचको सुनिश्चिता गरी क्रमशः प्रविधिको पहुँच पुर्‍याइने नीति कार्यक्रममा समावेश गरिएको छ ।

तपाईको प्रतिक्रिया