पेट्रोलको मूल्यवृद्धिमा नेपालको हात हुन्नः मन्त्री कार्की

(बबितालाई दयाशंकर पत्रकारिता पुरस्कार)

समाधान संवाददाता २०७९ असार ८ गते ११:१६

पोखरा ।
नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि नेपालको हात नहुने दाबी गरेका छन् । उनी सोमबार पोखरामा पत्रकार महासंघ कास्कीबाट आयोजित पत्रकार बबिता बस्नेतलाई पुरस्कृत गर्ने कार्यक्रममा बोल्दै थिए ।

मन्त्री कार्कीले ऊर्जा क्षेत्रको विकास र एलपी ग्यासलाई विस्थापित गर्नुपर्नेमा जोड दिए । उनले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्नुपर्ने बताए । मन्त्री कार्कीले देशमा उत्पादित ऊर्जा खेर नजाने गरी यसको खपत बढाउनेतर्फ ध्यान दिइने सुनाए ।
उनले सूचना र प्रविधिको विकासले कुल ग्राहस्थ उत्पादनलाई २ प्रतिशतमा बढाउन सकिने चर्चा गरे । नेपाल सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको दाबी गर्दै उनले कानुनी रुपमा व्यवस्थित गरी प्रेस स्वतन्त्रता बहालीको दृष्टिले नेपाललाई दक्षिण एसियाको नमुना देश बनाउने घोषणा गरे ।

प्रजातन्त्रका सेनानी स्व दयाशंकर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार बबिता बस्नेतलाई मंगलबार सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित तथा पालिखेको परिवारबाट स्थापित पुरस्कारको राशि नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ र सम्मानपत्र छ । सञ्चार मन्त्री कार्कीले सरकारले बस्नेतलाई पुरस्कार अर्पण गरेका थिए । त्यस अवसरमा उनले आगामी ५ वर्षमा आर्थिक वृद्धि दर कतिसम्म पुर्‍याउने भन्नेतर्फ केन्द्रित गरी कार्यक्रम ल्याएको बताए ।

Advertisement

‘आर्थिक समृद्धि हासिल गर्ने र नेपालीलाई धनी बनाउने सरकारको एउटै लक्ष्य छ,’ मन्त्री कार्कीले भने, ‘शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याएर आगामी पुस्तालाई समृद्ध पुस्ता बनाउनुपर्छ ।’ उनले राजनीतिक व्यवस्था परिवर्तनसँगै जनताको जीवनस्तर रुपान्तरणमा ध्यान दिनु आवश्यक भएको उल्लेख गरे । पुँजी निर्माणका लागि लगानीमैत्री वातावरण बनाउनुपर्ने उल्लेख गर्दै मन्त्री कार्कीले राज्यले नीतिगत व्यवस्था गरेर निजी क्षेत्रलाई अगाडि बढाउनुपर्ने बताए ।

नेपाल सरकारले नेपालको हितलाई ध्यानमा राखेर एसपिपी अगाडि नबढाउने निर्णय गरेको जानकारी दिँदै उनले असंलग्न परराष्ट्र नीति तथा पञ्चशीलको सिद्धान्तको आधारमा हरेक राष्ट्रसँग सुमधुर सम्बन्ध कायम गर्ने बताए । उनले सबै राष्ट्रको सहयोग र समन्वयमा नेपाल अगाडि बढ्ने जानकारी दिए । ‘एक्लै हिँडेर कहीँ पुग्न सकिन्न र सबैको सहयोगमा अघि बढेमा यो मुलुकको भविष्य सुन्दर छ,’ उनले भने, ‘भाषणमा मात्र नभई व्यवहारमा आउने निर्वाचनबाट लोकतान्त्रिक स्थिरता दिन सकेको अवस्थामा १० वर्षमा नेपाल दक्षिण एसियाको धनी मुलुक बन्ने छ ।’

Advertisement

पत्रकार बस्नेतले सूचना तथा प्रविधि विधेयक ल्याउन माग गरिन् । प्रजातन्त्रलाई जोगाई राख्न मिडियाको भूमिका रहने उल्लेख गर्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुदृढ नभएसम्म प्रजातन्त्र बलियो नहुने तर्क गरिन् । उनले राजनीतिक अस्थिरताले पत्रकारिताको व्यवसायिक विकास हुन नसकेको बताइन् । पुरस्कार अर्पण समारोहमा नेकपा (एमाले) जिल्ला कमिटी कास्की अध्यक्ष मनबहादुर गुरुङ, नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बराल, नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य राजकाजी गुरुङ, पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, प्रतिभा छनोट समिति संयोजक रवीन्द्र बास्तोला, महासंघ कास्की अध्यक्ष विमला भण्डारी, उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, सचिव माधव बराल, पालिखे परिवारको तर्फबाट विश्वशंकर पालिखे लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया