मादी गाउँपालिकाको बजेट

समाधान संवाददाता २०७९ असार ८ गते १२:४९

१. मादी गाउँपालिकाको सभाबाट पारित वार्षिक नीति तथा कार्यक्रमलाई मूर्त रुप दिन तथा गाउँपालिकाको दोस्रो पञ्चवर्षीय आवधिक योजनाले लिएको लक्ष्य तथा उद्देश्य हासिल गर्न गाउँपालिकाको आर्थिक वर्ष २०७९-०८० को बजेट तथा कार्यक्रम यस गरिमामय गाउँसभामा प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी भएको छु ।

Advertisement

वार्षिक बजेट प्रस्तुत गर्न उपस्थित भएको छु । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनबाट हामीलाई निर्वाचित गर्नुहुने आम मतदाता लगायत सम्पूर्ण पालिकावासी जनसमुदायप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु ।

२. संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना तथा नेपालको राजनीतिक परिवर्तनको लागि विभिन्न समयमा भएका आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने आदरणीय ज्ञात अज्ञात सहिदहरुप्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

३. यो बजेट तर्जुमा गर्दा नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, संघीय सरकार, गण्डकी प्रदेश सरकार र मादी गाउँपालिकाबाट स्वीकृत विभिन्न ऐन, नियम, कार्यविधि तथा निर्देशिका, आवधिक विकास योजना, बजेट तर्जुमा दिग्दर्शन, दिगो विकास लक्ष्य, मध्यमकालीन खर्च संरचना र गाउँपालिकाको नीति तथा कार्यक्रमलाई आधार बनाएको छु ।

४. यो बजेट पूर्ण रुपमा कार्यान्वयन गर्न सकेमा गाउँपालिकाले लिएको समृद्ध मादी सुखी मादीबासीको दीर्घकालीन लक्ष्य हासिल हुनेमा विश्वस्त छु ।

Advertisement

५. आगामी आर्थिक वर्ष ०७९-८० को व्यय अनुमान गर्दा आर्थिक मितव्ययिता, कार्यान्वयन क्षमता, विकासका आवश्यकता र नागरिकको अपेक्षा पूरा गर्न पालिकालाई संघ तथा गण्डकी प्रदेश सरकारबाट प्राप्त अनुदान र आन्तरिक आम्दानीको परिचालन गरी देखिने खालका पूर्वाधार निर्माण गर्ने, उत्पादन र रोजगारी अभिवृद्धि गर्ने योजना तथा कार्यक्रम संचालन गर्ने व्यवस्था मिलाएको छु ।

६. आगामी आर्थिक ०७९-८० को लागि बजेट तर्जुमा गर्दा विगत वर्षदेखि निर्माण सुरु भएका भौतिक पूर्वाधार निर्माणको कार्यलाई पूर्णता दिने गरी बजेट विनियोजन गरेको छु । संघीय सरकार समपुरक साझेदारी, प्रदेश सरकार समपुरक साझेदारी तथा अन्य साझेदारीमा सञ्चालन हुने पूर्वाधार निर्माणका योजनामा आवश्यक बजेट विनियोजनको व्यवस्था मिलाएको छु ।

पालिका भित्र निर्माण भएका सडक पूर्वाधारको क्रमशः स्तरोन्नति गर्ने व्यवस्था मिलाएको छु । कृषि उत्पादन र बजारीकरणको व्यवस्था गर्ने, स्वास्थ्य सेवामा सबैको पहुँच स्थापित गर्ने, सेवा प्रवाहलाई नागरिक मैत्री बनाउने, पारदर्शिता र जवाफदेहिता कायम गर्दै सुशासनको अनुभूति दिलाउने जस्ता योजना तथा कार्यक्रमलाई समावेश गरेको छु ।

७. संघीय सरकारबाट हस्तान्तरित कार्यक्रम, विशेष अनुदान र सामाजिक सुरक्षा कार्यक्रममा प्राप्त हुने अनुदानलाई सम्बन्धित कार्यक्रममा खर्च हुने गरी व्यवस्था मिलाएको छु ।

८. चालु आर्थिक वर्ष २०७८-०७९ को हालसम्मको संक्षिप्त वित्तीय प्रगति विवरण
चालु आर्थिक वर्षको बजेट स्वीकृत गर्दा ६२ करोड २२ लाख ४० हजार ७ सय ५२ रुपैयाँ ५७ पैसा अनुमान गरिएकोमा हालसम्म आयतर्फ ६१ करोड ०७ लाख ३५ हजार ७ सय ८१ रुपैयाँ १४ पैसा गाउँपालिकाको सञ्चित कोषमा प्राप्त भएको छ ।

चालु खर्चतर्फ ३९ करोड ८९ लाख ६८ हजार ७ सय ५२ रुपैयाँ ५७ पैसा व्यय अनुमान गरिएकोमा हालसम्म २५ करोड ८४ लाख ७१ हजार १ सय ४ रुपैयाँ ४५ पैसा व्यय (६१.९५ प्रतिशत) खर्च भएको छ । पुँजीगत खर्चतर्फ २२ करोड ३२ लाख ७२ हजार रुपैयाँ विनियोजन भएकोमा हालसम्म १० करोड २३ लाख ९२ हजार २ सय रुपैयाँ ३९ पैसा (४४.१८ प्रतिशत) खर्च भएको छ । हालसम्मको औषत वित्तीय प्रगति ५५.६ प्रतिशत छ ।

प्रकोप व्यवस्थापन कोषमा १ करोड १९ लाख ६१ हजार १ सय ४५ रुपैयाँ ९० पैसा आम्दानी गरिएकोमा हालसम्म १० लाख १२ हजार ३ सय ७७ रुपैयाँ खर्च भएको छ ।

९. अब, म आगामी आर्थिक वर्ष ०७९÷८० को बजेटका देहाय बमोजिमका उद्देश्य तथा प्राथमिकता प्रस्तुत गर्दछु ।
उद्देश्यहरु
गाउँपालिकाको आवश्यकता, उपलब्ध स्रोत, साधन र जन अपेक्षा अनुरुप दिगो विकास तथा रोजगारीको अवसरमा जोड दिने ।
पालिका केन्द्र तथा वडा केन्द्रसम्म नियमित यातायात सञ्चालन हुने गरी सडक विस्तार गर्ने र कृषि उपजको बजारीकरणमा सहयोग पुर्‍याउने ।
कृषि तथा पशु पालन, घरेलु उद्योग, पर्यटन व्यवसायको माध्यमबाट रोजगारी सिर्जना गर्ने । ।
आर्थिक, सामाजिक, सांस्कृतिक तथा मानवीय विकासमा जोड दिने ।
पूर्वाधार विकास निर्माणलाई देखिने र अनुभूति हुने गरी कार्यान्वयन गर्ने ।
जनताको प्रत्यक्ष संलग्लनतामा पूँजीगत निर्माणका योजना तथा कार्यक्रम सञ्चालन गर्ने ।
स्थानीय स्रोत साधनको अधिकतम् उपयोग गरी पूँजी निर्माण गर्ने ।
स्थानीय सरकारको भूमिकालाई थप प्रभावकारी बनाउने ।
‘समृद्ध मादी, सुखी मादीबासी’को अवधारणालाई सार्थक तुल्याउने ।

प्राथमिकताहरु
कृषि र पशुपालनको क्षेत्रमा लगानी बृद्धि गरी कृषि उपजमा आत्मनिर्भर बनाई रोजगारीका अवसर सिर्जना गर्ने ।
युवा स्वरोजगार कोषको स्थापना गरी रोजगार मूलक कार्यक्रममा लगानी अभिवृद्धि गर्ने ।
पूर्वाधार विकासमा जोड दिंदै अधुरा तथा क्रमागत आयोजना सम्पन्न गर्ने ।
महिला सशक्तीकरण तथा आय आर्जनसम्बन्धी कार्यक्रम मार्फत समाजिक रुपान्तरणमा सहयोग गर्ने ।
बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दलित, जनजाति तथा असहायको उत्थान हुने कार्यक्रम सञ्चालन गर्ने ।
शिक्षा, स्वास्थ्य, खानेपानी संस्कृति प्रवद्र्धन, युवा तथा खेलकुद जस्ता सामाजिक क्षेत्रमा लगानी वृद्धि गर्ने ।
सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय, पारदर्शी र प्रविधिमैत्री बनाउने ।
फोहोर मैला व्यवस्थापन, वन तथा वातावरण संरक्षण र विपद् व्यवस्थापन गर्ने ।
स–साना र टुक्रे योजनामा लगानी कम गरी ठूला र देखिने योजना तथा कार्यक्रममा लगानी वृद्धि गर्ने । चालु प्रकृतिको खर्च कम गरी उत्पादनमूलक, रोजगारमूलक तथा पूँजीगत योजनामा लगानी वृद्धि गर्ने ।

आर्थिक ०७९-८० का लागि स्रोत अनुमान तथा बजेटको सीमा निर्धारण समितिबाट कायम हुन आएको शीर्षकगत आय विवरण प्रस्तुत गर्न अनुमति चाहन्छु ।
संघीय सकार वित्तीय समानीकरण रु. ९ करोड ६२ लाख
संघीय सरकार सर्शत अनुदान रु. २९ करोड ९२ लाख
संघीय सरकार विशेष अनुदान रु. १ करोड
संघीय सरकार बाँडफाँडबाट प्राप्त राजस्व १० करोड ३ लाख ५९ हजार
बाँडफाँड भई प्राप्त हुने रोयल्टी रु. १ करोड ६ लाख ४० हजार
गण्डकी प्रदेश सरकार वित्तीय समानीकरण १ करोड ४ लाख ९५ हजार
गण्डकी प्रदेश सरकार राजस्व बाँडफाँड ८१ लाख २२ हजार
पिएलजीएसपी तथा अन्य सर्शत अनुदान चालु कार्यक्रम छ लाख
सडक बोर्ड अनुदान ५० लाख
आन्तरिक, आय रोयल्टी तथा अल्यासमेत ९ करोड ४८ लाख ६४ हजार
१०. चालु आर्थिक वर्षको प्रस्तावित अनुमान ६२ करोड २२ लाख ४० हजार ७ सय ५२ रुपैयाँ ५७ पैसा अनुमान पेश गरिएकोमा संशोधित आय अनुमान ६४ करोड ८९ लाख ६३ हजार ७ सय ५२ रुपैयाँ ५७ पैसा रहेको छ । आर्थिक वर्ष आर्थिक ०७९-८० का लागि स्रोत अनुमान तथा बजेटको सीमा निर्धारण समितिबाट कायम हुन आएको शीर्षकगत आय विवरण प्रस्तुत गर्न अनुमति चाहन्छु ।

संघीय सकार वित्तीय समानीकरण रु. ९ करोड ६२ लाख
संघीय सरकार सर्शत अनुदान रु. २९ करोड ९२ लाख
संघीय सरकार विशेष अनुदान रु. १ करोड
संघीय सरकार बाँडफाँडबाट प्राप्त राजस्व १० करोड ३ लाख ५९ हजार
बाँडफाँड भई प्राप्त हुने रोयल्टी रु. १ करोड ६ लाख ४० हजार
गण्डकी प्रदेश सरकार वित्तीय समानीकरण १ करोड ४ लाख ९५ हजार
गण्डकी प्रदेश सरकार राजस्व बाँडफाँड ८१ लाख २२ हजार
पिएलजीएसपी तथा अन्य सर्शत अनुदान चालु कार्यक्रम छ लाख
सडक बोर्ड अनुदान ५० लाख
आन्तरिक, आय रोयल्टी तथा अल्यासमेत ९ करोड ४८ लाख ६४ हजार
मा ६ करोड ४८ लाख ८ हजार रुपैयाँ प्रस्ताव गरिएको छ, जुन चालु आर्थिक वर्ष को प्रस्तावित अनुमानभन्दा ५.२५ प्रतिशतले बढी हुन आउँछ ।

११. अब, म क्षेत्रगत रुपमा आर्थिक वर्ष ०७९-८० को बजेट प्रस्तुत गर्न चाहन्छु ।
आर्थिक विकासतर्फ ५ करोड ४२ लाख ४० हजार
सामाजिक विकासतर्फ ३२ करोड ८८ लाख ६० हजार
पूर्वाधार विकासतर्फ १४ करोड २५ लाख
वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ८५ लाख ७० हजार
सुशासन तथा संस्थागत विकासतर्फ १२ करोड ७ लाख १० हजार

अब, म देहाय बमोजिम क्षेत्रगत बजेट तथा कार्यक्रम पेश गर्न अनुमति चाहन्छु ।

१२. आर्थिक विकासः आर्थिक विकास क्षेत्रमा देहाय बमोजिम खर्च गर्ने गरी ५ करोड ४२ लाख ४० हजार प्रस्ताव गरेको छुः
सहुलियत ऋण उपलब्ध गराउन र साना व्यवसाय रोजगार प्रवद्र्धन गर्नका लागि कोष खडा गर्ने प्रयोजनमा ५० लाख विनियोजन गरेको छु ।

अध्यक्षसँग उत्पादनमा अनुदान कार्यक्रमका लागि ५० लाख विनियोजन गरेको छु । कृषि क्षेत्रमा आधुनिकीकरण तथा यान्त्रीकरणको लागि कृषि औजार उपकरण तथा सामग्रीमा अनुदानको लागि ३० लाख विनियोजन गरेको छु । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिन सिंचाई पूर्वाधार निर्माण गर्न ७० प्रतिशत गाउँपालिका र ३० प्रतिशत स्थानीय उपभोक्ताको लगानीमा योजना सञ्चालन गर्न १५ लाख बजेट विनियोजन गरेको छु । साथै अन्य साना सिंचाई योजना संचालन गर्ने १२ लाख खर्च हुने व्यवस्था मिलाएको छु ।

पुरनस्वाँरा खोला क्ले वृहत कृषि तथा पशुपालन पूर्वाधार निर्माण परियोजनामा गण्डकी प्रदेशसँग समपूरक साझेदारी गर्ने गरी ४० लाख बजेट विनियोजन गरेको छु । भालु-बाँदर जस्ता जंगली जनावारको आतंक न्यूनीकरण गर्न त्यस्ता जीवको वस्थापनको लागी १२ लाख बजेट विनियोजन गरेको छु ।

लम्तरी धार्मिक क्षेत्र पर्यटन पूर्वाधार योजनामा गण्डकी प्रदेशसँग समपुरक साझेदारी गर्ने गरी ४० लाख बजेट विनियोजन गरेको छु । पालिकाको उपल्लो भागको पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरी आन्तरिक तथा बाह्य पर्यटको आकार्षणको केन्द्र बनाउनका स्थानीयसँगको ५०-५० प्रतिशत साझेदारीमा घोडा खरिदका लागि १५ लाख विनियोजन गरेको छु ।
शर्सत अनुदान अन्तर्गत प्राप्त १ करोड ०२ लाख सोही बमोजिम खर्च हुने व्यवस्था मिलाएको छु ।

सामाजिक विकासः
सामाजिक विकास क्षेत्रमा देहाय बमोजिम खर्च गर्ने गरी ३२ करोड ८८ लाख ६० हजार प्रस्ताव गरेको छु ः
दरबन्दीमा रहेका प्रारम्भिक बाल विकास केन्द्र तथा विद्यालय कर्मचारीको थप तलवका लागि १ करोड ५ लाख बजेट विनियोजन गरेको छु ।

आधारभूत तहका कक्षा ६ देखि ८ सम्म सञ्चालन भएका विद्यालयमा आइसिटी सामग्री खरिदको लागि बजेट विनियोजन गरेको छु । एक घर एक धारा खानेपानी योजना निर्माण तथा विभिन्न साना खानेपानी पूर्वाधार सुधारको लागि बजेट विनियोजन गरेको छु ।
उपाध्यक्षसँग महिला, बालबालिका तथा अपाङ्ग लक्षित कार्यक्रम अन्तर्गत विभिन्न लक्षित कार्यक्रमको लागि ३० लाख बजेट विनियोजन गरेको छु ।
महिला स्वास्थ्य स्वंय सेविका प्रोत्साहन तथा अन्य कार्यक्रमको लागि थप ६ लाख बजेट विनियोजन गरेको छु ।
मेला पर्व संस्कृति संरक्षण तथा प्रवर्धनका लागि बजेटको व्यवस्था मिलाएको छु ।
गाउँपालिका स्तरीय खेल ग्राम निर्माण कार्यलाई निरन्तरता गर्न २३ लाख बजेट विनियोजन गरेको छु । साथै अन्य साना खेलमैदान निर्माण गर्ने कार्यलाई निरन्तरता दिएको छु ।
नामार्जुङ, सैमराङ र भाचोक स्वास्थ्य चौकी भवन निर्माणका लागि संघीय सरकार तथा गण्डकी प्रदेश सरकारबाट प्राप्त विशेष अनुदानले अपुग हुने तथा भवन निर्माणको लागि जग्गा सम्याउने समेतको कार्य गर्ने गरी २५ लाख बजेट विनियोजन गरेको छु ।
शिक्षा, स्वास्थ्य, खानेपानी पूर्वाधार निर्माणमा प्राप्त हुने सशर्त र विशेष अनुदानको २८ करोड ९७ लाख सोही वमोजिम खर्च हुने गरी प्रस्ताव गरेको छु ।
पूर्वाधार विकास
पूर्वाधार विकास क्षेत्रमा देहाय बमोजिम खर्च गर्ने गरी १४ करोड २५ लाख प्रस्ताव गरेको छु
संघीय सरकार र प्रदेश सरकार समपुरक साझेदारीमा गाउँपालिका भवन स्वास्थ्य चौकी भवन निर्माणका लागि २ करोड ७६ लाख ५० हजार विनियोजन गरेको छु ।
सबै टोल बस्तीमा यातायातको सहज पहुँच सुनिश्चितता, रणनीतिक सडकको विस्तार तथा सडक मर्मत सुधार गर्ने कार्यको लागि ५ करोड ९७ लाख बजेट विनियोजन गरेको छु ।
संघीय सरकार समपूरक साझेदारीमा याङ्जाकोट–तोगी–वार्चोक–भाचोक–सुन्दरवेंसी–नागिधार–पोशी पर्क्यु सडक स्तरोन्ति गरी गाउँपालिकाको उपल्लो भागको सडक निर्माणको लागि १ करोड ६० लाख बजेट विनियोजन गरेको छु ।
संघीय सरकार तथा गण्डकी प्रदेश सरकार, जिल्ला समन्वय समिति, विभिन्न संघ संस्था, दातृ निकायसँग समपूरक, साझेदारीमा पूर्वाधार विकास तथा मर्मत सुधारका लागि २ करोड २२ लाख बजेट विनियोजन गरेको छु ।
विद्युत लाइन विस्तार गर्ने तथा विद्युत लाइन सुधार गर्ने कार्यको लागि बजेट विनियोजन गरेको छु ।
सर्शत अनुदानतर्फ प्राप्त झोलुंगे पुल निर्माण, वैकल्पिक उर्जा प्रवर्धनको लागि ४८ लाख बजेट सोही बमोजिम खर्च हुने व्यवस्था मिलाएको छु ।

१५. सुशासन तथा संस्थागत विकास
सुशासन तथा संस्थागत विकास क्षेत्रमा देहाय बमोजिम खर्च गर्ने गरी १२ करोड ७ लाख १० हजार प्रस्ताव गरेको छु
गाउँपालिका कार्यालय, वडा कार्यालय र विषयगतबाट प्रदान हुने नियमित सेवा प्रवाहलाई गुणस्तरीय, प्रभावकारी, जनमैत्री सूचना प्रविधिमैत्री बनाई कार्यसञ्चालनमा प्रभावकारिता ल्याउने गरी चालु खर्चतर्फ १० करोड ९० लाख १० हजार र पुँजीगत तर्फ रु. १ करोड १७ लाख बजेट विनियोजन गरेको छु ।
साबिकका स्थानीय निकायमा स्थायी वा अस्थायी नियुक्ति लिई निरन्तर रुपमा कार्यरत कर्मचारीलाई योगदानमा आधारित कर्मचारी कल्याण कोष खडा गरी नियमित कोषमा रकम जम्मा गर्ने गरी बजेट विनियोजन गरेको छु, ।
सुशासन तथा पारदर्शिता कायम गर्न सार्वजानिक सुनुवाई, सार्वजानिक परीक्षण, योजनाको प्रभाव असर मूल्यांकन, परामर्श सेवा, कानुन निर्माण, सूचना तथा सञ्चार जस्ता शीर्षकमा खर्च गर्न बजेट विनियोजन गरेको छु ।
सूचना प्रविधि अधिकृत, एमआइएस अपरेटर, फिल्ड सहायक, कृषि तथा पशु प्राविधिक कर्मचारीको पारिश्रमिकमा पालिकाबाट समेत सहभागिता हुने गरी बजेट विनियोजन गरेको छु ।

१६. वन वातावरण तथा विपद् व्यवस्थापन: वन वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रमा देहाय बमोजिम खर्च गर्ने गरी ८५ लाख ७० हजार बजेट प्रस्ताव गरेको छुः
प्रकोप रोकथाम, नियन्त्रण तथा व्यवस्थापन र अन्य सबै प्रकारका विपद् व्यवस्थापन कार्यमा खर्च गर्ने गरी प्रकोप व्यवस्थापन कोषमा १५ लाख बजेट विनियोजन गरेको छु ।
मनसुनजन्य विपद् प्रभावितको आवास निर्माणमा साझेदारी गर्न २५ लाख बजेट विनियोजन गरेको छु ।
विपद् व्यवस्थापनसम्बन्धी अभिमुखीकरण, भू–क्षय नियन्त्रण, नदी कटान नियन्त्रण र तटबन्ध जस्ता कार्यका लागि १७ लाख ५० हजार बजेट विनियोजन गरेको छु ।
सामुदायिक भवन तथा सार्वजनिक स्थलमा शौचालय निर्माण, सरसरफाइ तथा वातावरण संरक्षण क्षेत्रमा खर्च हुने गरी ९ लाख २० हजार बजेट विनियोजन गरेको छु ।

१७. चालु आर्थिक वर्ष २०७८-०७९ मा गाउँपालिकाभित्र सुरु भई सम्पन्न गर्न नसकेका स्वीकृत आयोजनालाई आगामी आर्थिक वर्षमा क्रमागतमा राखी सञ्चालन हुने व्यवस्था मिलाएको छु ।

१८. आर्थिक वर्ष २०७८-०७९ को अनुमानित आय–व्यय विवरण र विभिन्न विषयगत क्षेत्रमा खर्च गर्ने गरी प्रस्तावित समग्र योजना तथा कार्यक्रम र बजेट शीर्षकगत रुपमा छुट्टै विवरण पेश गरेको छु ।

१९. आर्थिक वर्ष २०७८-०७९ को आर्थिक विधेयक, २०७९ र विनियोजन विधेयक, २०७९ यसै साथ प्रस्तुत गरेको छु ।

२०. अन्त्यमा, बजेट तर्जुमाका सिलसिलामा मार्गदर्शन गर्नुहुने श्रद्धेय अध्यक्षज्यू, आदरणीय सभा सदस्य ज्यूहरु, प्रमुख प्रशासकीय अधिकृतज्यू लगायत गाउँपालिकाका कर्मचारी, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, पत्रकार, आम सरोकारवाला प्राप्त सल्लाह, सुझाव र सहयोगप्रति हार्दिक आभार प्रकट गर्दछु । साथै, बजेट कार्यान्वयनमा पालिकाबासी दाजुभाइ तथा दिदीबहिनी, जनप्रतिनिधि, स्थानीय राजनीतिक दल, नागरिक समाज, निर्माण व्यवसायी, उपभोक्ता समिति, राष्ट्रसेवक कर्मचारी तथा आम सरोकारवाला सबैको साथ, सहयोग र समर्थन रहने अपेक्षा गरेको छु ।

विगतका वर्षबाट यस गाउँपालिकाले लिएको दीर्घकालीन विकास योजना, क्षेत्रगत नीति, रणनीति एवम् आगामी आर्थिक वर्षका लागि प्रस्तावित नीति, कार्यक्रम तथा बजेट प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेमा गाउँपालिकाको भौतिक पूर्वाधार, आर्थिक, सामाजिक, सांस्कृतिक एवं मानवीय विकासका क्षेत्रमा सकारात्मक प्रभाव पर्ने देखिएकोले यसको सफल कार्यान्वयनका लागि सम्बद्ध सबै पक्षहरुबाट सदा झैं निरन्तर सहयोगको अपेक्षासहित प्रस्तुत वजेटको दफावार छलफलमा यस सभाबाट प्राप्त थप रचनात्मक सुझावको अपेक्षा सहित, हार्दिक कृतज्ञता प्रकट गर्दछु ।

मादीको ११ औं गाउँसभामा उपाध्यक्ष कल्पना गुरुङले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९-०८० को बजेट

तपाईको प्रतिक्रिया