लेखनाथ सामुदायिक सेवा केन्द्रकमा बधाई र सम्मान

समाधान संवाददाता २०७९ असार ८ गते १३:२४

लेखनाथ ।
लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । केन्द्रले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा साविक लेखनाथका वडाहरुबाट निर्वाचित वडाअध्यक्ष एवं सदस्यहरुलाई बधाई ज्ञापन गर्दै सफल कार्यकाल शुभकामना व्यक्त गरेको हो ।

Advertisement

कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर २७ का अध्यक्ष पूर्णकुमार गुरुङले केन्द्रले लागुपदार्थ दुव्र्यसनी लगायत सामाजिक विकृति र विसंगतिको रोकथामका लागि खेलेको भूमिकाको प्रशंसा गरे । नवनिर्वाचित सम्पूर्ण जनप्रतिनिधिलाई विसंगति विकृति अन्त्यका लागि जनचेतनामूलक कार्यक्रमलाई बजेट छुट्याउन उनले अनुरोध गरे ।

वडाध्यक्ष गुरुङले पोखरामा तयारी अवस्थामा रहेको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन ल्यान्डफिल साइट सार्न बाँकी रहेको र यसको व्यवस्थापनको लागि नयाँ प्रस्ताव गरिएको ठाउँ पोखरा ३३ मा पर्ने भएकाले उक्त वडाका जनप्रतिनिधिहरुलाई सकारात्मक भूमिका खेल्न आग्रह गरे ।

इलाका प्रहरी कार्यालय डाँडाको नाकका प्रमुख डिएसपी महेन्द्र मरासिनीले जननिर्वाचित पदाधिकारीहरु, सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरीबिच एक आपसमा अन्तर्सम्बन्ध भएकाले विभिन्न सामाजिक काम, विकास निर्माणका काम र सुरक्षाको प्रत्याभूति कायम गर्ने विषयमा हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताएका थिए । उनले इलाका प्रहरी कार्यालयको स्तर वृद्धिका लागि हाल कायम रहेको डिएसपीको अस्थायी दरबन्दीलाई स्थायी रुपमा ल्याउन सामाजिक स्तरबाट पहल गर्न पनि आग्रह गरेका थिए ।

कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य भीमकुमारी पुन, सामुदायिक सेवा केन्द्रका सल्लाहकार विष्णु पुन, लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा लगायतले बोलेका थिए । उक्त अवसरमा केन्द्रको हाल निर्माणको क्रममा रहेको भवनका लागि माया सापकोटाले २७ हजार, संस्थाकी कोषाध्यक्ष गंगाकुमारी खनालले २५ हजार ५ सय, कार्यसमिति सदस्य राजु अधिकारीले १५ हजार ५ सय, मीना श्रेष्ठले १० हजार, बुद्धिमाया रिजालले १० हजार सहयोग प्रदान गरेका थिए । संस्थाका अध्यक्ष त्रिलोचन लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष एलपी ढुंगानाले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव कृष्ण अधिकारीले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया