स्वास्थ्य

कर्मचारी कटौतीपछि जोमसोम अस्पतालको फार्मेसी सेवा बन्द,सेवाग्राही मर्कामा

पालिकाले दिएनन् एमडिजिपी चिकित्सक प्रोत्साहन भत्ता

समाधान संवाददाता २०७९ असार ८ गते २०:३९

जोमसोम–हिमालपारी जिल्ला मुस्ताङको एक मात्र जिल्ला अस्पताल जोमसोममा संञ्चालन भईरहेको औषधि बिक्री कक्ष (फार्मेसी) सेवा बन्द भएको छ ।२०७५ साल मंसिरमा सदरमुकामको घरपझोङ गाउँपालिकाले १ जना फार्मेसी कर्मचारी व्यवस्थापन गरेपछि सञ्चालनमा आएको सेवा ३ वर्षपछि मंगलबार बन्द भएको जनाईएको छ ।
जिल्ला अस्पताल जोमसोममा नागरिकले स्वास्थ्य परीक्षण गराईपनि अस्पतालमा सुपथ मुल्यको औषधि बिक्री कक्ष (फार्मेसी) नहुँदा बिरामीले महङ्गो मुल्यमा औषधि खरिद गर्न बाध्य थिए ।मुस्ताङको जोमसोम अस्पतालमा स्वास्थ्य चेकजाँच गर्न आउने सेवाग्राहीहरुलाई आर्थिक भार कम गर्ने उद्देश्यले ३ वर्षअघि घरपझोङ गाउँपालिकाले १ जना फार्मेसीलाई मासिक तलब दिने गरी कर्मचारी व्यवस्थापन गरेको थियो । घरपझोङ गाउँपालिकाले व्यवस्थापन गरेको कर्मचारीलाई ५ औ तहको सरकारी तलब सुविधा दिने गरी मासिक ३० हजार उपलब्ध गराउँदै आईरहेको थियो ।
स्थानीय तहको दोश्रो कार्यकालमा नयाँ जनप्रतिनिधि ईन्ट्री भएपछि जोमसोम अस्पतालको करारमा भर्ना गरीएको फार्मेसी कर्मचारीलाई यसअघि उपलब्ध गराउँदै आईरहेको सेवा कटौती गरेको जोमसोम अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा. विशाल तिवारीले जानकारी दिए ।उनका अनुसार घरपझोङ गाउँपालिकाले असार २ गते कार्यपालिका निर्णय गरेर फार्मेसी कर्मचारी कटौती गरेको पत्र पठाएको डा. तिवारीले उल्लेख गरे ।घरपझोङ गाउँपालिकाले जोमसोम अस्पताल प्रदेश सरकार अन्तर्गत पर्ने र फार्मेसी कर्मचारी व्यवस्थापन गर्ने हो भने जिल्लाका ५ वटै पालिकाले अपनत्व लिनु पर्ने जनाएको डा. विशाल तिवारीको भनाई छ ।
घरपझोङ गाउँपालिकाले फार्मेसी कर्मचारीलाई दिने पारिश्रमिक नदिने भएपनि जोमसोम अस्पतालको औषधि बिक्री कक्ष अहिले बन्द हुने अवस्था आएको डा. तिवारीले बताए । जोमसोम अस्पतालको औषिधि बिक्री कक्षमा कर्मचारी हटाईएपनि जोमसोम अस्पतालले १ जना व्यक्तिलाई फार्मेसीमा औषधि बिक्री गर्न खटाएको छ । तर ,ति कर्मचारी फार्मेसीमा औषधि बिक्री वितरण गर्न योग्य नभएको डा. तिवारीले स्पष्ट पारे । ‘ अस्पताल व्यवस्थापन समितिले एक व्यक्ति खटाएको छ ,तर उनी योग्य छैनन्,उनले भने, श्रावणदेखि त पुरै फार्मेसी सेवा ठप्प हुने अवस्था छ ।’
यस्तै,
मुस्ताङ जिल्ला अस्पतालमा नवौ तह चिकित्सक नहुँदा स्वास्थ्य उपचारमा विभिन्न समस्या भोग्नु पर्ने अवस्था थियो । भौगोलिक विकटता,यातायातको समस्या र गरिव तथा विपन्न परिवारलाई सुगमको अस्पतालमा उपचार गर्न जाने समस्या आदी थियो ।जिल्लाको समग्र स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दे मुस्ताङ जिल्ला अस्पतालमा नवौ तहको चिकित्सकलाई थप प्रोत्साहन भत्ता दिने गरी ५ वटै पालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेका थिए । सोही निर्णय अनुसार २०७८ साल पुस १ गते जोमसोम अस्पतालमा एमडिजिपी चिकित्सकको व्यवस्थापन गरिएको थियो ।

मुस्ताङका ५ वटै पालिकाले मासिक २० हजार रुपैया अस्पतालको खातामा जम्मा गर्ने गरी सहमती गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा. तिवारीले जानकारी दिए । तर,जिल्लाका ५ वटै पालिकाले चिकित्सकलाई दिने प्रोत्साहन भत्ता स्वरुप दिने रकम अझै जम्मा हुन नसकेको डा. तिवारीको भनाई छ ।पूर्व सहमती अनुसार मुस्ताङका ५ पालिकाले १८ लाख रुपैया अस्पतालको खातामा जम्मा गर्न बाँकी छ । यदी पूर्व सहमती अनुसार स्थानीय तहले प्रोत्साहन भत्ता वापतको सहयोग रकम नदिए अस्पतालमा एमडिजिपीले दिने सेवा समेत ठप्प हुने अवस्था रहेको उनले जनाए ।
यस्तै,जनशक्ती अभावमा आगामी आर्थिक वर्षदेखि एक्सरे सेवा समेत प्रभावित हुने जनाईएको छ । मुस्ताङ जिल्ला अस्पतालमा दैनिक १५÷२० जनाले एक्सरे सेवा लिने गरेकोमा कोभिड करारमा खटिएका स्वास्थ्यकर्मीको म्याद सकिएकाले एक्सरे सेवामा पनि समस्या आउने डा. तिवारीले बताए ।
जिल्ला अस्पतालमा देखिन थालेको जनशक्ति समस्याका बिषयमा अस्पतालले सरोकारवाला निकाय संग समन्वय गरेपनि आर्थिक वर्ष सकिन लागेको र स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट निर्माण आदीले गर्दा ठोस सम्वाद हुन नसकेको हो । अस्पतालका मेसु डा. तिवारीले जिल्ला अस्पतालमा देखिएको बिद्यमान समस्यालाई गण्डकी प्रदेश र स्थानीय तहको ध्यानआर्कण गराईसकेको उल्लेख गरे ।

Advertisement

तपाईको प्रतिक्रिया