हेमजा युनाइटेड शुभकामना कप फाइनलमा

प्रतियोगिता अन्तर्गत आज अफ्रिकी क्लब एभिनियर र चर्च ब्वाइजबीच फाइनल प्रवेशका लागि अन्तिम खेल

समाधान संवाददाता २०७९ असार ९ गते ११:१९

पोखरा ।
पोखरामा जारी छैटौं संस्करणको शुभकामना गोल्ड कपमा खुमलटार युथ क्लबलाई हराउँदै आयोजक हेमजा युनाइटेड फाइनल प्रवेश गरेको छ । हेमजाको गौरी शंकर खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा खुमलटारमाथि २–० गोलको अग्रता बनाउँदै आयोजकले फाइनल यात्रा तय गरेको हो ।

हेमजाको जितमा दुवै गोल कमल थापामगरले गरे । अत्यन्तै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफमा भने हेमजाले २ गोल गर्न सफल भएको हो । खेलको १० औं मिनेटमा हेमजाका सुनील विकले अग्रता गर्ने सुवर्ण अवसर खेर फाले ।

पेनाल्टी क्षेत्रमा खाली रहेका उनलाई सञ्जोक केसीले उत्कृष्ट पास दिए पनि उनले भेट्न सकेनन् । १२ औं मिनेटमा खुमलटारका दिवस छन्त्यालले २ डिफेन्डरको बीचबाट गरेको सशक्त प्रहारलाई हेमजाका गोलरक्षक एन्जल श्रेष्ठले उत्कृष्ट बचाउ गरे । उक्त बलमा पाएको कर्नरमा कप्तान आशीष श्रेष्ठको हेडर क्रसबार नजिकैबाट बाहिरिँदा अग्रता लिने अर्को अवसर गुम्यो ।

Advertisement

पहिलो हाफमा बराबरीमा रोकिए पनि दोस्रो हाफको ८ औं अर्थात् खेलको ५३ औं मिनेटमा हेमजाका कमलले अग्रता दिलाए । उनले बायाँ एरियाबाट गरेको उत्कृष्ट प्रहार गोलमा परिणत भएको थियो । उनले खेलको ६७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आयोजकको फाइनलको यात्रा पक्का गराए । दोस्रो हाफमा भने खुमलटारको प्रदर्शन निकै खस्किएको थियो । दोस्रो हाफमा खुमलटारले खासै प्रहार गर्न सकेन ।

हमजाका प्रशिक्षक शौरभजंग कार्कीले आफूहरु योजना अनुरुप खेल्दा जित हासिल गर्न सफल भएको प्रतिक्रिया दिए । उनले खुमलटारको कमजोरीको फाइदा उठाउँदा जित हासिल गर्न सफल भएको बताए । उता, खुमलटारका म्यानेजर अञ्जन रानाले आफूहरुले रक्षात्मक तरिकाको खेल खेल खेल्दा स्ट्राइक लाइनमा निकै समयस्या आएको सुनाए । उनले स्ट्राइक लाइनमा कमजोरी हुँदा गोल गर्न नसकेको प्रतिक्रिया दिए ।

Advertisement

प्रतियोगिता अन्तर्गत बिहीबार अफ्रिकी क्लब एभिनियर र चर्च ब्वाइजबीच फाइनल प्रवेशका लागि अन्तिम खेल हुँदै छ । असार ४ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ८ टिमको सहभागिता छ । प्रतियोगितामा विभागिय क्लब एपिएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकनी टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, वीरगञ्ज युनाइटेड र आयोजक हेमजा युनाइटेडको सहभागिता छ । हेमजा एकेडेमी चलाउन प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष ईन्द्र कुवँरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया