पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम

आगामी वर्षदेखि महानगरवाट प्रदान हुने सार्वजनिक सेवा ३६५ दिन नै प्रवाह हुने गरी व्यवस्थापन गरिने

समाधान संवाददाता २०७९ असार ९ गते १२:२५

देशको सबैभन्दा ठूलो महानगरपालिका पोखरा विविधतापूर्ण छ । ग्रामीण पहाडी क्षेत्र, अर्ध सहरी क्षेत्र र सहरी क्षेत्र सहित तीनथरीको भौगोलिक अवस्थिति छ । आर्थिक तथा मानवीय विकासका परिसूचकहरु समेत विषम छन् । यसर्थ आगामी दिनमा हाम्रा प्राथमिकता र नीति कार्यक्रम यिनै सूचकलाई उच्च विन्दूमा पु¥याउन केन्द्रित गरी स्रोत र साधनको बाँडफाँड गर्नुपर्ने देखिन्छ । मुल समस्याको जरो पहिल्याई तदनुरुप नीति कार्यक्रम तय गर्दै जनमुखी सेवा प्रदान गर्ने र विकासलाई द्रुत रुपमा अगाडि बढाउन आगामी पाँच वर्ष लागिपर्ने विश्वास दिलाउन चाहन्छु ।

पोखरा महानगरपालिकाको सर्वेक्षण अनुसार ग्रस म्युनिसिपल प्रोडक्ट १ खर्ब १० अर्व ५४ करोड रहने अनुमान छ । जस अनुसार प्रतिव्यक्ति औसत आय १६०५ अमेरिकन डलर छ । जिएमपीमा व्यावसायिक क्षेत्रको योगदान ५७ प्रतिशत कृषि तथा पशुपालन क्षेत्रको ११ प्रतिशत र १४ प्रतिशत बाँकी अन्य क्षेत्रको छ । हाल २८२१५ वटा व्यावसायिक एकाइमार्फत १,०४,४६९ रोजगारी प्रदान गरिएको छ । नेपालको संविधान, दिगो विकास लक्ष्य, पन्ध्रौं आवधिक योजना, नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेका प्रतिवद्दता, गण्डकी प्रदेश सरकारको आगामी आ.व. को नीति तथा कार्यक्रम र बजेट, पोखरा महानगरपालिकाको दीर्घकालीन सोच, प्रथम त्रिवर्षीय योजना तथा विगत आ.व. मा आरम्भ गरिएका विकासका कार्यलाई निरन्तरता दिई व्यवस्थित विकास कार्य अगाडि बढाउने नीति लिइनेछ ।

१. ‘समुन्नत पर्यटकीय पोखरा’को विकासको प्रस्थान विन्दुको रुपमा आगामी वर्षको नीति तथा कार्यक्रमका मार्गनिर्देशक सिद्दान्त देहाय बमोजिम हुनेछन् ।
१) दीगो, पर्यावरणमैत्री, योजनाबद्ध र हरित सहरी विकास
२) उत्थानशील पर्यटकीय पूर्वाधार विकास निर्माण
३) सामाजिक न्यायपूर्ण, समावेशी तथा समतामूलक समाजको निर्माण
४) गुणस्तरीय र प्रतिस्पर्धी मानवस्रोत विकास
५) विभिन्न तहका सरकार र निजी क्षेत्रसँगको समन्वय, साझेदारी र सहकार्य
६) सुशासन, सदाचार र पारदर्शी सेवा प्रवाह
७) प्रविधिमैत्री, सूचना तथा ज्ञानमा आधारित व्यवस्थापन
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि तय गरेका क्षेत्रगत नीतिहरु ।
कृषि तथा सिचाईं
२. “कृषि उत्पादनमा वृद्धिः महानगरको समृद्धि“ अवधारणा अनुसार कृषि क्षेत्रको आधुनिकीकरण गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि गरिनेछ ।
३. समग्र पोखराको आयात परिमाणको अध्ययन गरी ५ वर्षभित्र कम्तीमा दूध, फलफूल, तरकारी, माछा मासुको आयात प्रतिस्थापनमा जोड दिइनेछ ।
४. नेपाल सरकार, प्रदेश सरकार र निजी क्षेत्र समेतको सहकार्यमा कृषि पूर्वाधार जस्तैः कस्टम हायरिङ केन्द्र, चिस्यान केन्द्र, प्रशोधन केन्द्र तथा प्राङ्गारिक मल उत्पादन कारखानाको विकास र व्यवस्थापन कार्यअघि बढाइनेछ ।
५. अध्ययन, अनुसन्धान र प्रमाणका आधारमा रैथाने कृषि उपजको संरक्षण, सम्वर्धन र व्यावसायीकरण गरिनेछ । सामूहिक र सहकारी खेती प्रणालीको प्रवद्र्धन र प्रोत्साहन गर्न भण्डारण स्थल एवं कोल्डस्टोर निर्माण कार्य क्रमशः सुरु गरिनेछ ।
६. सिचाईं सुविधा नपुगेका ग्रामीण र पहाडी क्षेत्रमा प्रविधिमा आधारित लिफ्ट सिचाईं प्रणाली प्रवर्धन गरिनेछ । समथर भूभागमा रहेका सिचाईं प्रणालीको संरक्षण गर्दै कृषि उत्पादकत्व बढाउन जमीनको दीगो उपयोग गरिनेछ ।
७. महानगरपालिका क्षेत्रका सम्पूर्ण प्राकृतिक पानीको स्रोत, मुल तथा मुहानको एकीकृत प्रोफाइल तयार गरिनेछ ।
८. कृषि उत्पादनको बजारीकरण, मूल्य श्रृंखला र भण्डारण सहयोगका लागि बारीदेखि बजारसम्मः गोठ देखि ओठसम्म अभियान सञ्चालन गरिनेछ । कृषि उपज संकलन केन्द्र र कृषि बजार मार्फत स्थानीय कृषि उपज बिक्री बितरण सुनिश्चित गरिनेछ । कृषि उपजको उचित मूल्य र बजार पहुँचको लागि कृषि उत्पादन व्यवस्थापन प्रणाली सञ्चालन गरिनेछ ।
९. कृषि उपज संकलनका लागि कृषि एम्बुलेन्स व्यवस्था गरी नियमित संकलनको व्यवस्था मिलाइनेछ । मुख्य मुख्य कृषि उपजको न्यूनतम समर्थन मूल्य ग्यारेन्टी गरी कृषि उत्पादनमा लगानी गर्ने वातावरण सिर्जना गरिनेछ ।
१०. प्राकृतिक तथा अन्य कारणले बालीमा पुग्न सक्ने क्षति न्यूनीकरण गर्न मौसम पूर्वानुमान सूचना प्रणालीको व्यवस्था मिलाउनुका साथै कृषि बीमामा जोड दिइनेछ । यसका अतिरिक्त जलवायु अनुकूलन खेती प्रविधिको प्रयोग तथा बालीमा हुने महामारीको पहिचान र नियन्त्रणमा सहयोग गरिनेछ ।
११. एक वडाः एक पशुपन्छी तथा बाली उत्पादन पकेट कार्यक्रम सञ्चालन गरी कृषि तथा पशुपन्छीजन्य उत्पादनलाई विशिष्टीकरण गर्न अध्ययन गरी कार्यान्वयन गरिनेछ ।
१२. उच्च मूल्यबाली प्रवद्र्धन, विकास र विस्तार गरिनेछ । भूमि बैंक स्थापना गरी खेती गर्ने व्यक्ति वा संस्थालाई जग्गा सुनिश्चित गरिनेछ ।
१३. प्रभावकारी कृषि प्रसार, सूचना प्रविधि र सञ्चारका लागि प्रत्येक वडामा कृषि तथा पशु सेवा प्राविधिकको व्यवस्था मिलाइनेछ । कृषक बढाउ नीति लिई सीप, तालिम, क्षमता र बीउ पूँजीको व्यवस्था गरिनेछ ।
१४. गुणस्तरीय फलफूलका तथा तरकारी विरुवा उत्पादनका लागि सामुदायिक नर्सरी स्थापनामा गर्ने तथा मुख्य खाद्यान्न बाली, लोपोन्मुख रैथाने बाली, तरकारी, आलु तथा घाँसको वीउ उत्पादन बृद्धि गर्ने नीति लिइनेछ ।
१५. माटो नै जीवन हो भन्ने तथ्यलाई मध्येनजर गरी स्वस्थ माटो कार्यक्रम सञ्चालन गरिनेछ । गोठ सुधार, खोर सुधार र भकारो सुधारद्वारा गरिने मलको उत्पादन र जैविक विषादीमा अनुदान उपलव्ध गराउने व्यवस्था मिलाइनेछ ।
१६. प्रांगारिक उत्पादन मापदण्ड निर्माण गर्दै प्रमाणीकरण गरिनेछ । यस्ता वस्तुहरुको ब्रान्डिङ, प्याकेजिङ र बजारीकरणमा अनुदान दिने नीति लिइनेछ ।
पशुपन्छी
१७. “पशु उत्पादनमा वृद्धिः आर्थिक उपार्जन सहितको समृद्धि“ हासिल गर्न पशुपन्छीपालन व्यवसाय प्रवद्र्धन र सम्वद्र्धधनका लागि पशु नश्ल सुधार, आहार व्यवस्थापन, उत्पादनका आधारमा अनुदान, पशु स्वास्थ्य र पशु हाटबजार सञ्चालन गरिनेछ ।
१८. पशुपन्छीपालन तथा पशुजन्य उत्पादनका लागि निजी क्षेत्रसँगको साझेदारी र सहकार्यमा पशु वधशाला, स्वच्छ मासुपसल लगायतका व्यवस्थित पूर्वाधार निर्माण कार्य अगाडि बढाई गुणस्तरीयता र उद्यमशीलता विकास गरिनेछ ।
१९. “कृषकहरुको पहुँच र पहिचानः व्यावसायिक कृषकहरुको संरक्षण र सम्मान“ केन्द्रित कार्यक्रम सञ्चालन गरिनेछ । कृषक वर्गीकरण गरी परिचय पत्र उपलब्ध गराइनेछ र सोका आधारमा न्यूनतम अनुदान ग्यारेन्टी गरिनेछ ।
२०. छाडा पशु नियन्त्रणका लागि मापदण्ड तयार गरी व्यवस्थापन गरिनेछ । छाडा कुकुर नियन्त्रणका लागि घर पालुवा कुकुर दर्ता र भ्याक्सिनेसन कार्यक्रम सञ्चालन गरिनेछ ।
२१. प्रत्येक वडामा कृषि एवं पशु प्राविधिक सेवा सुनिश्चित गरी आधारभुत कृषि र पशुस्वास्थ्य सेवामा नागरिकको पहुँच अभिवृध्दि गरिनेछ । बाँझो जग्गामा फलफूल तथा पुष्प खेती प्रवर्द्धन गरिनेछ ।
रोजगार प्रवद्र्धन
२२. रोजगारका लागि सहजीकरण, समन्वय, सञ्जालीकरण, नवप्रवर्तन र अनलाइन रोजगार बजार, स्वरोजगार, उद्यमशीलता बढाउन मानव संशाधन विकास केन्द्रका रुपमा रोजगार बैंक स्थापना गरिनेछ ।
२३. हरेक आर्थिक वर्षको पहिलो ६ महिनामा ३,००० रोजगारी थप गर्ने योजनाका साथ प्लस टू तहको अध्ययन सकेका यस क्षेत्रका युवालाई भाषा होटल म्यानेजमेन्ट मोबाइल मर्मत कृषि स्रोत व्यक्ति, जडिवुटी संकलन, ब्युटिसियन, प्लम्बिङ, ईलेक्ट्रिसियन, भेटेनरी, ईम्व्रोइडरी, ह्यान्डलुम, ग्राफिक्स डिजायन, वेभपेज डिजाइन, भिडियो एडिटिङ, वेटर आदि जस्ता सीपसंगै रोजगारी र उद्यमशीलता विकास गर्न सक्षम पोखरा परियोजना सञ्चालन गरिनेछ ।
२४. दक्ष जनशक्तिलाई स्थानीय स्तरमा परिचालन गर्न महानगर विशेष स्वरोजगार कार्यक्रम सञ्चालन गरिनेछ ।
२५. पोखरा महानगरपालिकामा रोजगार सूचना केन्द्रको स्थापना गरी स्थानीय, राष्ट्रिय, वैदेशिक तथा निजी क्षेत्रसँग सञ्जालीकरण गरी मागसँग आवद्ध गरिनेछ ।
२६. न्यूनतम रोजगारीको प्रत्याभूति गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमका साथै महानगरपालिकाको विकास निर्माण कार्यलाई समेत स्थानीय रोजगारी सिर्जनासँग आवद्ध गरिनेछ ।
२७. महानगरबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको पूर्व अभिलेख राखी आवश्यक तालिमको व्यवस्था गरी वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाइनेछ ।
२८. महानगरभित्र दक्ष, अर्धदक्ष लगायत सबै प्रकारका श्रमिकको तथ्यांकीय आधार तयार गर्न अध्ययन गरिनेछ ।
उद्योग तथा सहकारी
२९. सहकारी संस्थालाई व्यावसायिक कृषि पर्यटन उत्पादन क्षेत्रमा आफ्नो पूँजी तथा लगानी परिचालन गर्न सहजीकरण गरिनेछ । महानगर, सहकारी र समुदायको सहकार्यमा स्थानीय कच्चा पदार्थमा आधारित उद्योग व्यवसायमा लगानी विस्तार गर्ने नीति लिइनेछ । सहकारीको अनुगमन र नियमनलाई सूचना व्यवस्थापन प्रणालीमा आधारित बनाइनेछ ।
३०. ३३ वटै वडामा कम्तीमा एक सहकारी एक व्यावसायिक उत्पादनमार्फत रोजगारी सिर्जना गरिनेछ ।
३१. सहकारीमार्फत उत्पादित वस्तुको प्रशोधन, भण्डारण, बजारीकरण र विविधिकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
३२. महानगरभित्र रहेका सम्पूर्ण साना एवं ठूला उद्योगको लगत तयार पारी औद्योगिक प्रोफाइल तयार गरिनेछ । प्रदेश सरकारको अग्रसरतामा निर्माण हुन लागेको औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्तिमा आवश्यक सहजीकरण गरिनेछ ।
३३. उद्यमशीलताको प्रोत्साहन स्वरुप उद्यमी पुरस्कारको व्यवस्था गरिनेछ ।
३४. उद्यमशीलताको क्षेत्रमा कार्य गर्नका लागि युवा उद्यमशीलता कार्यक्रम तय गरी आवश्यक वीउ पुँजीको व्यवस्थापन र प्रोजेक्ट संचालनमा सहजीकरण गरिनेछ ।
३५. पोखरेली चामल जेठोबुढो धान लगायत हाम्रा आफ्ना उत्पादनहरुलाई ब्रान्डिङ गर्दै पोख्रेली ब्राण्ड स्थापना गर्ने र बजार प्रवर्दनमा विशेष योजना बनाएर लागु गरिनेछ ।
३६. नयाँ आयोजना संभाव्यता अध्ययन गरी पोखरा महानगर प्रोजेक्ट बैंक व्यवस्था गरिनेछ ।
३७. महानगरमा उद्योग व्यवसाय सहायता र सहजीकरण डेक्स व्यवस्था गरिनेछ ।
३८् आगामी आ. व. मा प्रथम पोखरा लगानी सम्मेलनको आयोजना गरिनेछ ।
३९. स्थानीय औद्योगिक उत्पादनमा बृद्धिः रोजगारी सिर्जना र समृद्धि“ लाई साकार गर्न स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई विकास, विस्तार र आधुनिकीकरण गरिनेछ ।
४०. महानगरपालिकाका लागि आवश्यक सामग्री खरिद गर्दा स्थानीय स्तरमा उत्पाद वस्तुलाई प्राथमिकता दिइनेछ ।
४१. खाद्य वस्तुको गुणस्तर मापदण्ड तर्जुमा गर्दै स्वस्थ वस्तु उपयोग सुनिश्चितताका लागि सम्बन्धित निकायको समन्वय र सहकार्यमा बजार अनुगमन सघन गर्दै लगिनेछ ।
पर्यटन विकास
४२. ‘पर्यटकीय गतिविधिमा वृद्धि ,पोखरा शहरको समृद्धि“ भन्ने अवधारणालाई साकार पार्न पोखराका पर्यटन पूर्वाधार, प्राकृतिक सम्पदाहरुको संरक्षण, मुख्य सहर र तालतलैयाहरुको सौन्दर्यकरण, सरसफाइ, शहरी सुरक्षा र आतिथ्यता जस्ता क्षेत्रमा नेपाल सरकार तथा प्रदेश सरकारसँगको समन्वयमा लगानी केन्द्रित गर्ने नीति लिइनेछ ।
४३. संघ सरकारले अगाडि बढाएको अन्तराष्ट्रिय सम्मेलन केन्द्र स्थापनाको कार्यक्रमलाई छिटो सञ्चालनमा ल्याउन थप पहलकदमी लिइनेछ भने पोखरा सभागृहको स्तरोन्नति गरिनेछ ।
४४. नयाँ अन्तराष्ट्रिय विमानस्थल सञ्चालन आएपछि प्याराग्लाइडिङको सञ्चालन गर्न विशेष पहल गरिनेछ । पर्यटन क्षेत्रको यातायातलाई व्यवस्थित गर्दै पर्यटन बसपार्कलाई समुचित व्यवस्थापन गरिनेछ ।
४५. एमआइसिई टुरिजम (मिटिङ, इनिसियटिभ, कन्फ्रेन्स र एक्जिव्युसन) लाई प्रवद्र्धन गर्दै समग्र पोखराको पर्यटन विकासमा विशेष अभियान चलाइनेछ ।
४६. बैदाम (लेकसाइड) का अलावा वेगनास ताल तथा अन्य पर्यटकीय गन्तव्यको सौन्दर्यीकरण तथा प्रचार प्रसारमा जोड दिइनेछ । पर्यटनका थप गन्तव्य जस्तै केभ टु केभ, लेक टु लेक, कोटदेखि कोटसम्म नयाँ सर्किट सडकको सम्भाव्यता अध्ययन गरिनेछ । पोखरालाई धार्मिक पर्यटनको क्षेत्रमा समेत विश्वमा परिचित गराउन लुम्बिनी पोखरा बुद्ध सर्किट निर्माण गर्न आवश्यक पहल गरिनेछ ।
४७. प्रदेश सरकारसंगगको समन्वयमा बैदाम स्थित हिमा गृह र रत्न मन्दिर व्यावसायिक तवरले खुला गर्ने र पर्यटक प्रवद्र्धननमा सहयोग पुर्याउन पहल गरिनेछ । उहिलेको पोखराको स्मरण हुने गरी एक साँस्कृतिक ग्राम निर्माण गर्न अध्ययन सुुरु गरिनेछ ।
४८. पोखराको प्रमुख आकर्षण यहाँका पर्यटकीय स्थल हुन् । पर्यापर्यटन, वातावरण र विकासलाई अन्योन्याश्रित रुपमा अंगीकार गरी यससम्बन्धी ऐन, नीति तथा कार्यविधि तर्जुमा गरिनेछ । यसका लागि महानगर पर्यटन समितिलाई अधिकार सम्पन्न बनाई पर्यटन प्रवद्र्धन गरिनेछ ।
४९. पोखरालाई संसारभर चिनाउन र पोख्रेली पर्यटन उद्योगको प्रवद्र्धन गर्न एक ल्यान्डमार्क निर्माण गरिनेछ ।
शिक्षा
५०. महानगरसहित कास्की जिल्ला नै पूर्ण साक्षर जिल्ला घोषणा गरिसकिएको सन्दर्भमा महानगरभित्र शिक्षाको अधिकारबाट बालबालिका तथा लक्षित वर्गका गरिब महिला, दलित, अल्पसंख्यक कोही पनि बञ्चित हुन नपरोस् भन्ने हेतुले गुणस्तरीय र निःशुल्क सार्वजनिक शिक्षाको व्यवस्थापन गरिनेछ ।
५१. सामुदायिक विद्यालयको विद्यालय प्रशासनलाई चुस्त एवं नतीजामुखी बनाई सञ्चालन गर्न सामयिक रुपमा प्रतिस्पर्धी र योग्य प्रधानाध्यापक नियुक्ति प्रक्रिया अगाडी बढाइनेछ ।
५२. कोचिङ तथा ट्युसन कक्षा, भाषा कक्षा, प्राज्ञिक तालिम केन्द्र, मन्टेसरी कक्षा संचालनलाई मापदण्ड तयार गरी नक्शांकन समेतका आधारमा दर्ता एवं नियमन गरिनेछ । सबैका लागि शिक्षामा पहुँच अभिवृद्धिका लागि बाल विकास केन्द्रहरुको आधुनिकीकरण गरिनेछ । महानगर शिक्षा परिषदको अग्रसरतामा तयार गरिएको शिक्षा प्रतिवेदनलाई क्रमशः लागु गरिनेछ ।
५३. महानगरका केही विद्यालयमा नेपाल सरकारले शुरु गरेको पढ्दै कमाउँदै कार्यक्रम लागु गराइनेछ ।
५४. स्थानीय बजार र प्रतिष्ठानहरुको माग बमोजिम व्यावसायिक विषयको अल्पकालीन र दीर्घकालीन शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।
५५. विद्यालयहरुमा प्रविधिमैत्री कक्षा कोठा निर्माणमा जोड दिंदै कम्तिमा एक विद्यालयः एक प्राविधिक कक्ष निर्माण गरिनेछ । गण्डकी बहु प्राविधिक शिक्षालय तथा सिटिइभिटीका प्राविधिक विद्यार्थीलाई व्यावसायिक प्रतिष्ठान वा फर्महरुमा इन्टर्नका रुपमा लैजाने नीति लिइनेछ ।
५६. अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा विशेष प्रोत्साहनसहित भर्ना गरिनेछ । फरक क्षमता भएका विद्यार्थीको सिकाइलाई निरन्तरता दिइनेछ । विद्यालय उमेर समूहका विद्यार्थीहरुलाई विद्यालयबाहिर नरहने वातावरण सिर्जना गरिनेछ ।
५७. प्रत्येक निजी र सामुदायिक शिक्षण संस्थाबीच भगिनी सम्बन्ध स्थापित गराई सामाजिक उत्तरदायित्व बहन गर्ने वातावरण तयार गरिनेछ ।
५८. पठन खोज तथा अनुसन्धान संस्कृतिको विकास गरी गुणस्तरीय शिक्षा हासिल गर्ने अवसरको सुनिश्चितता गर्न महानगर स्तरीय एक मेट्रो लाइब्रेरीको स्थापना गरिनेछ । विद्यालय तह पूरा गरेका विद्यार्थीलाई सिक्दै सिकाउँदै कार्यक्रममार्फत विद्यार्थी स्वाआर्जन कार्यक्रमलाई प्रोत्साहन गरिनेछ ।
५९. प्रत्येक माध्यामिक विद्यालयमा माध्यामिक तहको पाठ्यक्रम अन्तर्गत विद्यार्थीमा प्राविधिक सीप विकास गर्ने उद्देश्यले क्षेत्रगत आवश्यकताको आधारमा कम्तीमा एक प्रयोगशाला उपयोग गर्ने विषय अनिवार्य गरिनेछ ।
६०. लागु पदार्थको दुव्र्यसन नियन्त्रण गर्नका लागि निजी क्षेत्रको सहकार्यमा मनोपरामर्श तथा पुनस्र्थापना केन्द्र स्थापना सहित जनचेतना र जागरणको कार्यक्रम सञ्चालन गरिनेछ ।
६१. पठन संस्कृतिको विकास गर्न खोज तथा अनुसन्धान संस्कृतिको विकास गरी सुसंस्कृत समाज निर्माण गर्न महानगर स्तरीय १ र सबै वडामा कम्तीमा १ पुस्तकालय स्थापना गरिनेछ ।
५२. पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय र पृथ्वीनारायण क्याम्पससँग दुईपक्षीय सहयोग र नवीनतम खोज अनुसन्धानमा सहयोग पु¥याइनेछ ।
खेलकुद
५३. “स्वास्थ्य र सार्थक जीवनशैलीका लागि खुला व्यायामशाला’’ अवधारणा अन्तर्गत चालु वर्षमा केही स्थानमा खुला व्यायामशाला निर्माण भएका छन् । आगामी वर्ष स्वास्थ्यका लागि व्यायाम कार्यक्रम अन्तर्गत एक टोल एक खुला क्षेत्र एक व्यायामशाला निर्माण कार्यक्रम क्रमशः कार्यान्वयन गरिनेछ ।
५४. क्रिकेट र गल्फ जस्ता ठूला खेलको माध्यमबाट समग्र पोखराको विकासको सहयोग पु¥याउन सकिने हुँदा व्यवस्थित क्रिकेट खेलमैदान र गल्फ कोर्ष निर्माणको सम्भाव्यता अध्ययन गरिनेछ ।
५५. महानगर खेलकुद विकास समितिलाई प्रभावकारी बनाई खेलकुद कार्यक्रमलाई वडास्तरसम्म सञ्चालन गर्दै लगिनेछ ।
५६. पोखरालाई खेल सहरका रुपमा विकास गर्न निर्मित संरचनाको आधुनिकीकरण र थप पूर्वाधार निर्माण गर्न संघ र प्रदेश सरकारसँग सहकार्य गरिनेछ । विद्यालय खेलमैदान कार्यक्रमलाई निरन्तरता दिंदै महानगर स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरिनेछ ।
५५. खेलकुदलाई प्राथमिकतासाथ अगाडी बढाउन र खेल जगतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिको प्राप्ति सुनिश्चित गर्न आगामी वर्ष कम्तीमा ४ खेलका उत्कृष्ट खेलाडी छनोट गरी सम्मान गरिनेछ ।
स्वास्थ्य
५६. आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्दै स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र गुणस्तरीय बनाइनेछ । महानगरका तेत्तीस वटै वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना र सञ्चालन गर्ने नीति लिइनेछ ।
५७. महानगरको एकमात्र अस्पताल, शिशुवा अस्पतालमा विशिष्टीकृत अस्पतालको रुपमा विकास गर्ने नीति लिइनेछ । आगामी ४ वर्ष भित्रमा एक सुविधा सम्पन्न मेट्रो अस्पताल निर्माण गर्न आवश्यक कदमअघि बढाइनेछ ।
५८. जन्मदर्तालाई सुत्केरी पोषणसँग अन्तरसम्बन्धित गरी ६ महिनासम्म न्युन आय भएका सुत्केरी महिलालाई प्रोत्साहन भत्ता उपलब्ध गराइनेछ । यस अन्तर्गत कानुनले तोकेको म्यादभित्र व्यक्तिगत घटना दर्ता गर्ने विपन्न, न्युन आय भएका र सीमान्तकृत नागरिकहरुलाई जन्मेको २ वर्षसम्म पोषणभत्ता उपलब्ध गराउने र विवाह तथा मृत्यु दर्ताबापत प्रोत्साहन रकम उपलब्ध गराइनेछ ।
५९. महामारी रोकथाम पूर्व तयारी योजना निर्माण गरी स्रोत, साधन सहितको प्रतिकार्य समूह निर्माण गरिनेछ ।
६०. स्वास्थ्य सामग्री खरिद प्रक्रियालाई योजनाबद्ध र पारदर्शी बनाइनेछ । यसवाट स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक औषधीको कमी हुन नदिने व्यवस्था मिलाइनेछ ।
६१. ज्येष्ठ नागरिक स्वास्थ्य सेवा संचालन गरी निःशुल्क स्वास्थ्य परीक्षण, उपचार परामर्श, नर्सिङ सेवा, डाक्टर ईन कल जस्ता सुविधा समावेश गरिनेछ । साथै स्वास्थ्य सेवा व्यवस्थापन समिति मार्फत प्रत्येक वडामा ज्येष्ठ नागरिक स्याहार केन्द्र कार्यक्रम सञ्चालन गरिनेछ ।
६२. पोखरा आसपासका क्षेत्रमा रहेका औषधीजन्य जडीवुटी, वनस्पति र वनस्रोतको संरक्षण सम्वद्र्धन र उपयोगितालाई बढाउन महानगरको पहलमा जडीवुटी प्रशोधन केन्द्र स्थापना गरिनेछ ।
६३. उपचार र निदान भन्दा रोग लाग्न नदिनु बेश भन्ने अवधारणालाई आत्मसात गर्दै आयुर्वेदको प्राज्ञिक र उपचार केन्द्रका रुपमा कश्यप ऋृषिको तपोभुमिको रुपमा रहेको कास्कीकोटमा महानगरीय आरोग्य धाम स्थापना गर्न अध्ययन गरिनेछ ।
६४. विपन्न नागरिकलाई महानगरपालिकावाट स्वास्थ्य बिमा गर्ने व्यवस्था मिलाइनेछ । अशक्त÷ दीर्घरोगी र सुत्केरी महिलालाई घरमै स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइनेछ ।
६५. ४० वर्ष माथिको उमेर समूहका सबै नागरिकको आधारभुत निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइनेछ । महिलाको पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर स्क्रिनिङ लगायतका परीक्षण तोकिएका स्वास्थ्य संस्थाहरुबाट निःशुल्क रुपमा गर्ने व्यवस्था मिलाइनेछ ।
६६. सबै स्वास्थ्य संस्थाबाट सेवा लिने सेवाग्राहीको डिजिटल अभिलेख राखिनेछ । स्वास्थ्य संस्थामा हुने मृत्युको डेथ अडिटको व्यवस्था मिलाइनेछ ।
६७. महानगरभित्र सबै स्वास्थ्य संस्थाको भवन क्रमशः निर्माण सम्पन्न गरिनेछ । स्वास्थ्य भवन निर्माणमा नेपाल सरकारवाट तोकिएको मापदण्ड कडाइका साथ लागू गरिनेछ ।
६८. स्वास्थ्यका लागि जीवनशैली परिवर्तन तथा नागरिक आरोग्यताका लागि नागरिक आरोग्य केन्द्र स्थापना र सञ्चालन गरिनेछ ।
६९. पोखरा महानगरपालिकाका ग्रामीण र पछाडि जोडिएका पहाडी वडामा सम्बन्धित वडाले सञ्चालन गर्ने गरी एम्बुलेन्सको व्यवस्था गरिनेछ ।
लैंगिक समानता तथा सामाजिक समावेशीकरण
७०. महानगरभित्र लैंगिक समानता, समाजिक समावेशीकरण र समतामूलक समाज निर्माणका लागि योजना बनाई कार्यारम्भ गरिनेछ ।
७१. महिला क्षमता विकास गरि आर्थिक स्थितिमा सुधार गर्न विगत आर्थिक वर्षदेखि सञ्चालित उप प्रमुखसँग महिला कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
७२. महिला हिंसा विरुद्धका कार्यक्रममा पुरुषहरुको ऐक्यवद्धता कायम गरी महिला हिंसा न्यूनीकरण गर्न महिला हिंसा विरुद्ध महिला पुरुष समसचेतना कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
७३. आपतकालिन अवस्थाका महिलाको तत्कालै उद्धार गर्ने व्यवस्था मिलाई त्यसका लागि राहत, उद्धार र पुनस्र्थापन कार्यक्रम सञ्चालन गरिनेछ ।
७४. महानगरका विभिन्न सामाजिक विधामा क्रियाशील महिलाको नेतृत्व तथा क्षमता विकास कार्यक्रम ३३ वटै वडामा संचालन गरिनेछ । महिला सहकारी संस्थाको व्यवसायिक सीप तथा क्षमता विकास र वित्तीय अनुशासनसम्बन्धी कार्यक्रम संचालन गरिनेछ ।
७५. महानगरका सबै वडालाई बालमैत्री बनाउँदै लगिनेछ । मापदण्ड पुगेका वडालाई बालमैत्री वडा घोषणा गरिनेछ । बालबिबाहलाई निरुत्साहित गर्ने गरी कार्यक्रम सञ्चालन गरिनेछ ।
७६. बालबालिकाको हक, अधिकार सुनिश्चित गर्न र बालबालिका संरक्षण कार्यका लागि गठन भएका बाल अधिकार समिति, महानगर बालमञ्च र बाल संरक्षण समितिलाई वडा स्तरसम्म परिचालन गरी सक्रिय र प्रतिस्पर्धी बनाइनेछ ।
७७. अपांगता भएका व्यक्तिहरुको वस्तुनिष्ठ वर्गीकरण गरी अपांगता परिचयपत्रलाई समयमा नै उपलब्ध गराइनेछ । अपांगता भएकाहरुको क्षमता अभिवृद्धि गर्न लक्षित कार्यक्रम सञ्चालन गरिनेछ ।
७८. तेत्तीसै वडामा रहेका ज्येष्ठ नागरिक मिलन केन्द्रलाई थप सशक्तीकरण गरिनेछ । आर्ट अफ लिभिङ तालिमबाट वृद्धवृद्धाका जीवनलाई सहज बनाइनेछ ।
७९. ज्येष्ठ नागरिक दिवसको अवसरमा महानगर पिता र महानगर माता घोषणा गरी सम्मान गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
८०. दलित, गन्धर्व, जलारी, कुमाल तथा अतिविपन्न एवं सीमान्त्तकृत जाति र समुदायको परम्परागत पेशा र व्यवसायको प्रवद्र्धन गरिनेछ । लक्षित समुदायको पेशा, सीप तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गरिनेछ ।
८१. नेपाल सरकारसँगको समन्वय र सहकार्यमा सुरक्षित वैदेशिक रोजगार तथा सुरक्षित आप्रवासनसँग सम्बन्धित सचेतनामूलक र क्षमता विकास कार्यक्रम वडा तहसम्म पु¥याउने नीति लिइनेछ ।
८२. समाजमा रहेका अति विपन्न मध्यम र सम्पन्न परिवारको पहिचान गरी परिचयपत्र वितरण गर्ने र स्थानीय सरकारको तर्फवाट दिनुपर्ने आवश्यक सहयोग र परामर्श प्रदान गर्दै जीवनस्तर उठाउने कार्यक्रम सञ्चालन गरिनेछ ।
८३. समाजमा माग्ने व्यक्ति नरहने सुनिश्चितताका लागि मानव सेवामा केन्द्रित कार्यक्रम सञ्चालन गर्न यस क्षेत्रका विभिन्न संघसस्थासँग सहकार्य गर्ने नीति लिइनेछ ।
भाषा, कला, साहित्य र संस्कृति
८४. महानगरपालिकाभित्र रहेका प्राकृतिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक सम्पदाको अभिलेखीकरण गरी क्रमशः संरक्षण, सम्वद्र्धन र सौन्दर्यकरण गर्दै लगिनेछ ।
८५. लेखनाथको अर्चलेमा कवि शिरोमणि लेखनाथ पौडेलको जन्मस्थललाई साहित्य अनुसन्धान केन्द्रको रुपमा विकास गरिनेछ । जनकवि केशरी धर्मराज थापा, लोक गायकद्वय झलकमान गन्धर्व र अलि मियाँलगायतका स्रष्टाको सम्मानमा आवश्यक नीति बनाई कार्यान्वयन गरिनेछ ।
८६. महानगर स्रस्टाहरुको अभिलेख तयार गरिनेछ । पोखरा साहित्यिक महोत्सव सञ्चालन गर्नुका साथै महानगर नव रत्न चयन गरी सम्मान गरिनेछ ।
८७. महानगर प्रज्ञा प्रतिष्ठानलाई पोखराको भाषा, कला, संस्कृति र साहित्यको एक उत्कृष्ट केन्द्रका रुपमा विकास गरिनेछ ।
८८. पोखरालाई कला, संस्कृति र ऐतिहासिक सम्पदाको सहरका रूपमा विकास गर्दै पर्यटन प्रवर्द्धन गर्न सिद्धार्थ चोक, रामकृष्ण टोल, गणेश टोल, भैरव टोल हुँदै विन्ध्यवासिनी सम्मको क्षेत्रलाई पोखरा सम्पदास्थल पुरानो बजारको रुपमा प्रवद्र्धन गरिनेछ । यस क्षेत्रलाई क्रमशः सवारीबिहीन बनाउदैं पदमार्ग बनाउने, घरहरु पुरानै स्वरुपमा निर्माण गर्न कलात्मक झ्याल तथा ढोका अनुदानमा उपलब्ध गराउने, यस्ता घरहरुको नक्सापास वा रेक्ट्रोफिटिङ दस्तुरमा छुट दिने र मठमन्दिर जिर्णोद्वार गर्ने नीति लिइनेछ ।
पूर्वाधार तथा सहरी विकास
८९. महानगरका मुख्य सडकमा नेपाल सरकार र प्रदेश सरकारसँगको सहकार्यमा युटिलिटी कोरिडोर निर्माण गर्न अध्ययन गरिनेछ ।
९०. पोखरामा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि फेवातालसम्मको द्रुतमार्गका लागि आवश्यक सहजीकरण गरिनेछ । लामेआहालमा निर्माणाधीन अत्याधुनिक बस टर्मिनलको लागि जग्गा प्राप्ति लगायतका कार्यमा प्रदेश सरकारसँगको सहकार्यमा कामअघि बढाइनेछ ।
९१. मध्य पहाडी लोकमार्ग तथा सिद्धार्थ राजमार्ग जोड्न वाइपास रोड तथा पृथ्वी राजमार्गको वैकल्पिक मार्गको रुपमा विरौटा– कोत्रे सडकलाई प्राथमिकता दिई तयारी कार्य सम्पन्न गरिनेछ ।
९२. महानगर क्षेत्र अव्यवस्थित रुपमा सञ्चालन भएका वर्कसप व्यवस्थित गरी सहरी सुन्दरता अभिबृद्धि गर्न अध्ययन समिति गठन भई प्रतिवेदन प्राप्त भएको छ । अटो भिलेज स्थापनाका लागि प्राप्त प्रतिवेदन कार्यान्वयन गरिनेछ ।
९३. विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न सहरका प्रमुख चोक, पेट्रोल पम्प र आवश्यक स्थानहरुमा विद्युतीय चार्जिङ केन्द्र स्थापना गर्न सहजीकरण गरिनेछ । जीवनयापनलाई सरल, सुलभ, किफायती र दीर्घजिवी बनाउन स्थान विशेष अनुसार विद्युतीय उपकरणहरुको उपयोगलाई बढावा दिने नीति लिइनेछ ।
९४. आगामी दुई वर्षभित्र प्रमुख सहरी क्षेत्रभित्रका टेलिफोनका तार र अन्य तार हटाई भूमिगत अप्टिकल फाइवर जडान गरिनेछ । नेपाल विद्युत प्राधिकरणसँगको सहकार्य र लागत साझेदारीमा बिजुलीका तार भूमिगत गरी सहरी जोखिम न्यून गरिनेछ ।
९५. महानगरपालिकाभित्र निर्माण हुने भौतिक पूर्वाधारहरु अपांगमैत्री बनाइनेछ । सडकलाई वातावरणमैत्री र हरित सडकका रुपमा विस्तार र स्तरोन्नति गर्ने नीति लिइनेछ ।
९६. पोखरा महानगरपालिकाको भूउपयोग नीति तयार गरी लागू गरिनेछ । अव्यवस्थित खण्डीकरण निरुत्साहित गर्दै जग्गा विकास कार्यक्रम लागु गरिनेछ ।
९७. पृथ्वीचोक स्थित बसपार्कको क्षेत्रफल एकीन गर्ने, अव्यवस्थित बसोबासीलाई उपयुक्त स्थानमा बहुतले भवन निर्माण गरी स्थानान्तरण गर्ने र सिटी बसपार्कको रुपमा निर्माण गर्न विस्तृत सम्भाव्यता अध्ययन गरिनेछ ।
९८. भवन निर्माण कार्य व्यवस्थित गर्न एकीकृत भवन मापदण्ड निर्देशिका तर्जुमा गरी लागु गरिनेछ ।
९९. पोखरा महानगरक्षेत्रभित्र सहज आवागमन, शहरी सुरक्षा र सडक सौन्दर्यकरण गर्न मुख्य बजारक्षेत्रमा रहेका सडकहरुको अस्फाल्ड कंक्रिट र सबै सडकको आवधिक मर्मत सम्भार गरिनेछ ।
१००. पोखरा महानगरपालिकामा सञ्चालित हुने विकास निर्माणका पूर्वाधार तथा निर्माण कार्यको गुणस्तर मापन गर्ने प्रयोगशालालाई साधन सम्पन्न र सुदृढीकरण गरिनेछ ।
१०१. नक्सापास कार्य व्यवस्थित र प्रविधिमैत्री बनाउँदै आवेदन, स्वीकृति एवं इजाजत दिने प्रक्रिया अनलाइन र डिजिटल प्रणालीमार्फत फेसलेस सेवा प्रदान गर्ने नीति लिइनेछ ।
१०२. ग्रेटर पोखराको अवधारणा पत्र तयार पारी सार्वजनिक गरिनेछ ।
१०३. नेपाल सरकारसँगको समन्वय र सहकार्यमा पोखरा महानगरपालिकामा ढल व्यवस्थापन गुरुयोजनाको कार्य अन्तिम चरणमा पुगेको छ । सहरलाई स्वच्छ र सफा राख्न ढलको निर्माण गरी प्रशोधन केन्द्रमा पठाउने, नयाँ घर निर्माण स्वीकृति लिदाँका वखत जमिनमा गैर पारगम्य सेफ्टिक ट्याङ्क बनाउनुपर्ने र घरमा पर्ने वर्षातको पानी सोस्ने बनाउनुपर्ने गरी नीतिगत व्यवस्था गरिनेछ ।
१०४. “एक घर एक धाराः हाम्रो अभियान“ अभियानलाई महानगरका सबै वडा र टोल टोलसम्म क्रमशः पु¥याइनेछ ।
१०५. सहरको मुख्य बजार क्षेत्रमा राजमार्ग पर्ने भएकाले सडक जामको अवस्थावाट नागरिकले सास्ती भोग्नु परेको छ । यसको दीर्घकालीन समाधानका लागि आगामी वर्षभित्र पृथ्वीचोकमा अन्डरपास तथा फ्लाइ ओभरको सम्भाव्यता अध्ययन गरिनेछ ।
१०६. पोखरा महानगरपालिका तीव्र सहरी जनसंख्या वृद्धि हुने शहरमा पर्दछ । शहरी जनसंख्यालाई वान्छित सीमाभित्र राख्न ग्रामीण क्षेत्रमा अत्यावश्यक सुविधाको व्यवस्था गर्ने, ग्रामीण क्षेत्रसम्म सडक र सुलभ यातायात व्यवस्था गरी शहरमा दिनभर पेशा÷व्यवसाय गरी घर फर्किन सक्ने व्यवस्था गर्ने, ग्रामीण वडाको केन्द्रसम्म पुग्ने सडक स्तरोन्नति गर्दै तत्काल सुलभ बससेवा उपलव्ध गराउने कार्य अविलम्ब गरिनेछ । निर्माणाधीन गाउँशहर जोड्ने कनेक्टिङ सडकलाई आगामी वर्ष सम्पन्न गरिनेछ । यसका अतिरिक्त आगामी आर्थिक वर्ष पोखरा चक्रपथ निर्माणको लागि विस्तृत सम्भाव्यता अध्ययन गरिनेछ ।
१०७. आगामी वर्ष यातायात व्यवस्थापनका लागि ट्राम बस, सटल बस र विद्युतीय बसको रुट लगायतका मास ट्रासपोर्ट सञ्चालन सम्बन्धमा सम्भाव्यता अध्ययन गरिनेछ ।
१०८. प्रदेश सरकारको सहकार्य र समन्वयमा ट्राफिक व्यवस्थापन चुस्त र दुरुस्त बनाइनेछ । सार्वजनकि पार्किङ स्थलको उचित व्यवस्थापन गरिनेछ ।
१०८. लामेआहालको बसपार्कलाई पोखरा बसपार्क र पृथ्वीचोक स्थित बसपार्कलाई सिटी बसपार्कको अवधारणापश्चात पोखरा २ मा अवस्थित बाग्लुङ बसपार्कलाई विन्दवासिनी बसपार्कको नामाकरण गरी व्यवस्थित रुपमा स्तरोन्नति गरिनेछ ।
वन, वातावरण, सरसफाइ र विपद् व्यवस्थापन
१०८. महानगरको सौन्दर्यकरण र हरियाली प्रवद्र्धनका लागि एक घर एक विरुवा एवं सडक र नदी किनारामा जलवायु अनुकूलनयुक्त वृक्षारोपण गर्ने नीति लिइनेछ भने सम्पूर्ण विद्यालय परिसरमा फलफूलका विरुवा लगाउनुपर्ने नीति लिइनेछ ।
१०९. पोखरा महानगरपालिका क्षेत्रभित्र तत्काल र शीघ्र सम्पादन गर्नुपर्ने कार्य मर्मत सम्भार, विपद् पूर्व तयारी एवं प्रतिकार्य आकस्मिक सेवा लगायतका कार्य गर्न सम्वद्ध शाखाका अनुभवी र तालिम प्राप्त रेपिड रेस्पोन्स टिम बनाइनेछ । यस शाखालाई २४ सै घण्टा परिचालन गरिनेछ ।
११०. सेती कोरिडोरको संरक्षण तथा उपयोग गर्दै हरियाली प्रवद्र्धन गरिनेछ । सीमसार र जलाधार क्षेत्रको संरक्षण गर्दै विशेष उपयोग गर्ने नीति लिइनेछ । फेवाताल लगायतका महानगरभित्रका सबै तालतलैया, खोला, खोल्सी, सार्वजनिक जग्गा लगायतको मापदण्ड तयार गरी उपयुक्त संरक्षण र दीगो उपयोग गर्ने नीति अंगीकार गरिनेछ ।
१११. आगामी वर्षमा महानगरका सार्वजनिक, पर्ती, सरकारी जग्गाको लगत तयारी गरी खुला स्थानको पहिचान गरिनेछ । विपद् पूर्वतयारी एवं प्रतिकार्य प्रयोजनार्थ खुला स्थानको प्रोफाइल तयार गरिनेछ ।
११२. फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन विद्यालयहरुमा वर्गीकृत फोहोर संकलनका लागि डस्टबिनको व्यवस्था मिलाइनेछ र फोहोर व्यवस्थापन बारे विद्यालय तहदेखि नै व्यावहारिक शिक्षा लागू गरिनेछ ।
११३. वर्षातको पानी संकलन र पुनर्भरणसम्बन्धी रेन वाटर हार्भेष्टिङ, पानीको खपत कम गर्न घरेलु फोहोर पानीको प्रशोधनमा उपकरणको प्रयोगलाई प्रोत्साहन गरिनेछ ।
११४. पोखराका नदीघाटहरुको संरक्षण गरिनेछ । विद्युतीय शवदाह गृह निर्माणमा निजी क्षेत्रसँग सहकार्य गरिनेछ ।
११५. वेगनासताल पचभैयामा प्रदेशले प्रवद्र्धन गरिरहेको प्रकृतिक चिडियाखाना संरक्षणका लागि सहजीकरण गरिनेछ।
११६. पोखराको भौगर्भिक बनावट अत्यन्तै जोखिमपूर्ण छ । आगामी आर्थिक वर्ष विकास साझेदारसँगको सहकार्यमा महानगरपालिकाका अति जोखिमयुक्त र संकटापन्न क्षेत्रको अध्ययन गरी विपद् जोखिम न्यूनीकरण योजना कार्यान्वयन गर्ने नीति लिइनेछ ।
११७. फोहोरमैला उत्सर्जनमा न्यूनीकरण तथा स्रोतमै वर्गीकरण गरी पुनः प्रयोग एवं पुनः चक्रीय फोहोरमैला विक्री वितरण गरी आयआर्जन गर्ने वातावरण सिर्जना गरिनेछ ।
११८. निजी क्षेत्रसँगको सहकार्य र साझेदारीमा मेटेरियल रिकभरी फेसिलिटेसन सेन्टरस्थापना गरी पुनःप्रयोग एवं पुनर्चक्रीय फोहोर व्यवस्थापन गर्ने नीति लिइनेछ । वैज्ञानिक फोहोर व्यवस्थापन प्रणालीका लागि जनस्तरमा जनचेतना कार्यक्रम सञ्चालनको नीति लिइनेछ ।
११९. सडकका छाडा चौपायालाई नियन्त्रण र नियमन गर्ने नीति अबलम्बन गरिनेछ । गोरक्ष केन्द्र बनाउन धार्मिक संस्थाहरुसँग विशेष आग्रह गरिनेछ ।
१२०. महानगरभित्रका सबै सार्वजनिक संरचनाहरुको जोखिम मूल्यांकन गर्न महानगरको विपद् नक्सांकन गरिनेछ र विपद् पूर्वको सूचना प्रणाली जडान गरिनेछ ।
१२१. निजी तथा सहकारी क्षेत्रसंगको सहकार्य÷साझेदारीमा कुहिने फोहोरको व्यवस्थापन एवं प्रशोधनमार्फत बायोग्यास र प्राङ्गारिक मल उत्पादन गर्न प्रोत्साहन दिइनेछ । यसरी उत्पादित मललाई अनुदान सुविधामा कृषकसम्म पुग्ने नीति लिइनेछ । यसरी उत्पादित ग्यास र मलवाट आयात प्रतिस्थापनमा टेवा पुग्ने विश्वास लिइएको छ ।
१२२. नगरका सहरी क्षेत्रका प्रमुख चोकमा खुला स्थानको व्यवस्थापन गरिनेछ । महानगरपालिकाका प्रत्येक वडामा कम्तिमा एक–एक वटा शुद्ध खानेपानी सहितको सार्वजनिक शौचालय निर्माण गरिनेछ ।
१२३. घरायसी फोहोर व्यवस्थापन गर्ने प्रमुख जिम्मेवारी महानगरपालिकाको हो । हालको ल्यान्डफिल्ड साइट पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन हुने अवधि अगावै अन्यत्र सार्ने निर्णय भइसकेको छ । फोहोरलाई स्रोतमा नै वर्गीकरण गरी उद्यमशीलता, ऊर्जा र हरित व्यवसायसँग जोड्ने र सेनेटरी ल्यान्डफिल्ड साइट निर्माणअघि बढाइनेछ ।
कानुन, मानव अधिकार र न्यायिक समिति
१२४. पोखरा महानगरपालिकाले चालु आर्थिक वर्ष न्यायिक समिति राष्ट्रिय सम्मेलनको सफल आयोजना गरेको छ । सो सम्मेलनले ११ बुँदे घोषणा पत्र जारी गर्दै न्यायिक समितिको क्षमता अभिवृद्धि एवं क्षेत्राधिकार बढाउने लगायतका कानुनी व्यवस्था हुनुपर्ने ठहर गरेको थियो । यसलाई नेपाल सरकारसँग समन्वय गरी न्यायिक समितिको प्रभावकारिता बढाइनेछ । न्यायिक समितिको निर्णयलाई नगरबासीले न्याय अनुभूत हुने गरी नतिजामूलक कार्यान्वयन सुनिश्चित गरिनेछ ।
१२५. आगामी वर्ष कानुन सुधार र कानूनी दस्तावेज निर्माणको वर्ष हुनेछ । साबिकका कानुनको समयानुकूल परिमार्जन गर्दै कार्यान्वयनशीलता वृद्धि गरिनेछ । संघीय कानून र प्रदेश कानूनको अधिनमा रही महानगर ऐन, नियमावली तथा कार्यविधिहरु तर्जुमा गरिनेछ ।
सुशासन तथा संस्थागत विकास
१२६. राष्ट्रसेवक कर्मचारीको तलबमान तथा सुविधा वृद्धि गर्ने गरी नेपाल सरकारले लागु गरेको स्केल महानगरपालिकामा समेत लागु गरी कर्मचारीको मनोबल अभिवृद्धि गरिनेछ ।
१२७. महानगरको कार्यसम्पादनको गुणस्तरको सम्बन्धमा सुझाव तथा जनगुनासो सुन्न र समाधान गर्नका लागि हेलो मेयर कार्यक्रम १ महिनाभित्र सुरु गरिनेछ ।
१२८. हाम्रो पोखरा, डिजिटल पोखरा तयार गर्न यसै आ.व.वाट सुरु गरी पोखरा महानगरको डिजिटल प्रोफाइल तयार पारिनेछ ।
१२९. सेवा प्रवाहमा सुधार र संस्थागत क्षमता अभिवृद्धिका लागि पोखरा महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको क्षमता विकास कार्यक्रमलाई प्राथमिकता दिइनेछ ।
१३०. आगामी वर्षदेखि महानगरवाट प्रदान हुने सार्वजनिक सेवा ३६५ दिन नै प्रवाह हुने गरी व्यवस्थापन गरिनेछ । टोल फ्री सहितको हेल्पलाइनबाट सरल, सहज र शीघ्र सेवा प्रवाह सुनिश्चित गरिनेछ । कर्मचारी एवं जनशक्तिको सरुवा जिम्मेवारी लगायतलाई वस्तुनिष्ठ, पारदर्शी र अनुमानयोग्य बनाइनेछ ।
१३१. भ्रष्टाचारको शून्य सहनशीलता विकास, पारदर्शिता सुनिश्चितता र प्रभावकारी जवाफदेहिता विकास गर्नका लागि गुनासो व्यवस्थापनको वस्तुनिष्ठ संयन्त्र तयार गरिनेछ । सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, सेवाग्राही सन्तुष्टी सर्वेक्षण लगायतका जवाफदेहीता प्रवद्र्धन गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।
१३२. आगामी वर्ष महानगरको सेवा प्रणालीलाई व्यावसायिक प्रतिस्पर्धी र कार्यमूलक बनाउन संस्थागत संरचनाको पुनरावलोकन गरिनेछ । राष्ट्रसेवक कर्मचारीको वृत्ति विकास सेवाको सुरक्षा र सेवाप्रति समर्पित बनाउने मौद्रिक र गैरमौद्रिक प्रोत्साहन उपलव्ध गराइनेछ । वडा कार्यालयहरुलाई जनशक्ति तथा थप स्रोत साधनयुक्त बनाइनेछ । जनता केन्द्रित प्रायः सेवाहरु वडा कार्यालयवाट नै प्रवाह हुने गरी वडा कार्यालयको अधिकार र जिम्मेवारीलाई थप सुदृढ बनाइनेछ । महानगरपालिका साथै अन्तर्गत वडा कार्यालयवाट प्रदान गरिने अत्यावश्यक सिफारिसलाई निःशुल्क गरिनेछ ।
१३३. महानगरपालिकामा क्षतिपूर्तिसहितको डिजिटल नागरिक वडापत्र व्यवस्था गरी सेवा प्रवाहलाई प्रभावकारी बनाइनेछ ।
१३४. पोखरा महानगरपालिका कार्यरत कर्मचारीहो सरुवा मापदण्ड तयार गरी सोका आधारमा सबै भौगोलिक र जनसांख्यिक क्षेत्रको अनुभव हुने गरी व्यवस्थित गरिनेछ ।
१३५. कोभिडका कारण अप्ठ्यारोमा परेको अर्थतन्त्रलाई उठाउन नीतिगत पहल गर्ने र राहत प्रदान गर्न आवश्यक पहल गरिनेछ ।
१३६. कर्मचारीले सम्पादन गर्नुपर्ने कार्य र जिम्मेवारीको मापनयोग्य कार्यविवरण र कार्यसम्पादन सूचक निर्माण गरिनेछ । कार्यक्रमको वार्षिक लक्ष्य किटान गरी सो अनुसार कार्यसम्पादन सम्झौता गरिनेछ । कर्मचारीको वृत्ति, विकास क्षमता अभिवृद्धिका अवसर, प्रोत्साहन र पुरस्कारलाई कार्यसम्पादनसँग आवद्ध गरिनेछ ।
१३७. डिजिटल पोखरा महानगरपालिकाको अवधारणा अनुसार विद्युतीय सेवा प्रवाहमा जोड दिदैं ठूला र दीर्घकालीन परियोजनाको निर्णय गर्दा इलेक्ट्रोनिक्स पोल सर्वेक्षण गरिनेछ । अध्ययन र सम्भाव्यताका आधारमा योजनाहरुको कार्यान्वयन गरिनेछ ।
१३८. आगामी वर्ष कर्मचारी सेवा ऐनको तर्जुमा गरी जारी गरिनेछ । लामो समयदेखि वृत्तिपथ अवरुद्ध भएका र अवसर नपाएका राष्ट्रसेवकलाई वृत्तिपथ वा स्वेच्छिक अवकाशको विकल्प प्रदान गरी महानगरीय सार्वजनिक सेवालाई व्यावसायिक प्रतिस्पर्धी र नतिजामुखी बनाउने नीति लिइनेछ ।
१३९. महानगरको राजस्व प्रशासनको सुधार मार्फत सुदृढ र सक्षम बनाई राजश्वमा वृद्धि गर्ने नीति अंगीकार गरिनेछ र आन्तरिक स्रोतको परिचालनलाई सबल बनाइनेछ ।
१४०. महानगरपालिकाका विभिन्न विषयगत योजनाको तर्जुमा कार्यान्वयन अनुगमन तथा मूल्यांकन गर्दा योजना तथा कार्यक्रम सम्बन्धित वडा कार्यालयसँग समन्वय र सहकार्य गरी लक्षित उद्देश्य हासिल गर्ने नीति लिइनेछ ।
१४१. महानगरपालिका अन्तर्गत साबिक नगरपालिका क्षेत्रका घरहरुको मात्र म्यानुअल प्रणालीद्वारा क्याडस्ट्रल म्यापमा आधारित घर नम्बरको वितरण गर्दै आएकोमा महानगरपालिकाका सम्पूर्ण वडमा वैज्ञानिक ठेगाना प्रणाली (मेट्रिक एड्रेसिङ सिस्टम) प्रारम्भ गरिनेछ । प्रणालीको प्रभावकारिता बढाउन महानगरपालिकाका सबै प्रकारका भौगोलिक सूचना उपलब्ध हुने गरी अर्बान बेस म्याप तयार गरिनेछ ।
१४२. सरकारी, सार्वजनिक तथा पर्ती जग्गाको संरक्षण र सम्बर्द्धन गर्नु महानगरपालिकाको प्रमुख जिम्मेवारी हो । सार्वजनिक जग्गाको यथार्थ विवरण र तथ्यांकको अभावमा अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिक्रमण नियन्त्रण तथा रोकथामको काम प्रभावकारी हुन सकेको छैन । यसका लागि जिल्लास्थित मालपोत तथा नापी कार्यालयसँगको समन्वयमा तथ्यांक र अभिलेख अध्यावधिक गर्ने व्यवस्था मिलाई सार्वजनिक सम्पत्तिको संरक्षण गरिनेछ ।
१४३. नेपालको संविधान अनुसार स्थानीय तहको अधिकारसूचीमा नगर प्रहरीसम्बन्धी व्यवस्था छ । महानगरपालिकाको क्षेत्र र कार्यजिम्मेवारीका आधारमा विद्यमान दरबन्दी संरचनाबाट कानूनको कार्यान्वयन र बजार अनुगमन तथा नियमन कार्य वाञ्छित रुपमा सञ्चालन हुन सकेको छैन । यसलाई प्रभावकारी बनाउन आगामी वर्ष पदसोपान सहितको नगर प्रहरीको दरबन्दी थप गरी पदपूर्ति गरिनेछ ।
१४४. जापानको कोमागाने सहरसँग स्थापना गरी शुरुवात भएको भगिनी सम्बन्ध हालसम्म १२ वटा सहरसँग कायम भएको छ । नेपालको भरतपुर महानगरपालिका र धरान उपमहानगरपालिकासँग समेत भगिनी सम्बन्ध कायम गरिएको छ । भगिनी सम्बन्ध कायम भएका सहरहरुसँगको सम्बन्ध सुदृढ र प्रगाढ बनाउँदै प्रभावकारी समन्वय गरी साझेदारी गरिनेछ ।
१४५. सुसूचित हुन पाउने आम पोखरेली नागरिकको अधिकार हो । यसका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ । स्थानीय सरकार र जनतावीच पुलको रुपमा कार्य गर्दै सही र सत्य सूचना प्रवाह गर्न र स्वच्छ आलोचना महानगरपालिकाले अपेक्षा राखेको छ । श्रमजीवी पत्रकारको क्षमता विकास कार्यक्रमलाई निरन्तरता दिइनेछ । पत्रकार बिमा कार्यक्रममा पत्रकार महासंघसँग सहकार्य गरिनेछ ।

महानगर प्रमुख धनराज आचार्यले बुधबार नगरसभामा पेश गरेको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रमको मुख्य अंश

तपाईको प्रतिक्रिया