भूगोल फेरिँदा फेरिएको प्रेम-मोचन

अभिषेक अधिकारी २०७९ असार ९ गते १३:१२

पोखरा ।
उही प्रेमी, उही प्रेमिका तर भूगोल फरक भए के हुन्छ ? प्रेमलाई भूगोलले फरक पार्छ कि पार्दैन ? प्रेमका सदावहार पण्डितहरुले त प्रेममा न भूगोल हुन्छ भन्छन् न अरु कुनै बन्धन र तगारो । डा तुलसी आचार्यको उपन्यासले भने उही प्रेमीप्रेमिकाको सम्बन्ध भूगोल फेरिँदा फेरिएको कथा भन्छ ।

नेपालमा हुँदा सामाजिक संरचना र संस्कारका कारण बाँधिने र पश्चिमा देशमा पुग्दा त्यहाँको संस्कार र सभ्यताले स्वतन्त्र बनाई प्रेम पनि बदलिने दृश्यहरुले आचार्यको उपन्यास मोचन फिल्म हेरेजस्तै लाग्ने पत्रकार गोपीकृष्ण ढुंगानाले सुनाए । ढुंगाना बुधबार पोखरामा उपन्यास मोचनमाथिको परिचर्चामा समीक्षात्मक टिप्पणी राख्दै थिए ।

नेपाल—अमेरिका आउजाउ गरिरहने डा. तुलसी आचार्यले दुवै समाजलाई जोडेर लेखेको उपन्यासमाथि परिचर्चाको चाँजो पुछारसिटे अभियानले मिलाएको थियो । ‘नेपाल र अमेरिकाबिचको परिवेश, श्रीमान्श्रीमतीबिचको दरारको यथार्थपरक सामाजिक विषय उठान गरेको छ, डा तुलसी आचार्यको उपन्यास ‘मोचन’ले,’ पत्रकार ढुंगानाले भने, ‘विविध परिवेशले व्यक्तिको मनोविज्ञानमा कस्तो प्रभाव पार्छ भन्ने उपन्यासले देखाएको छ ।’

Advertisement

लेखक आचार्यले पुरुष मनोविज्ञानमाथि पुरुष लेखकबाटै लेखिएका कमै कृतिमध्ये आफ्नो उपन्यास आएको भनेर समीक्षकहरुले उल्लेख गरेको सुनाए । उनले लेखकलाई जिम्मेवार बनाउने जिम्मेवारी समीक्षकहरुको भएको विचार राखे ।
साहित्यकार सरुभक्तले २१ औं शताब्दीलाई सम्बोधन गर्ने शक्तिशाली साहित्यिक विधा आख्यान भएको बताए । साहित्य रचना पश्चात पाठकको हातमा पुग्दा पाठकले आफ्नै दृष्टिले पढ्ने र लेखकको दृष्टिको कुनै अर्थ नहुने उनको भनाइ थियो ।

नेपाली लेखक संघका अध्यक्ष तीर्थ श्रेष्ठले कथा आदिम परम्परा भएको बताए । उनले जन्मदेखि मृत्युसम्म कथा भएको भन्दै विज्ञानका कुरा भन्नलाई पनि कथा चाहिने विचार राखे । उनले नेपाली भाषा राज्यको संवेदनहीनताका कारण मर्दै गएको दुखेसो पनि पोखे । गजलकार प्रकट पगेनी शिवले कविता, गीत र गजलभन्दा उपन्यास लेखन कठिन भएको बताए । अभियानका संयोजक सञ्जीव पौडेलको अध्यक्षताको कार्यक्रम सचिव मोहन भण्डारीले सञ्चालन गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया