रेन्बोमा विश्व संगीत दिवस
पोखरा ।
रेन्बो एकेडेमिक होम्स् पोखराले विश्व संगीत दिवसको अवसरमा विद्यालयमा प्रतियोगितात्मक एकल गायन प्रतियोगिता तथा सम्मान कार्यक्रम गरेको छ । कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई ३ तहमा विभाजन गरी आयोजना गरिएको उक्त एकल गायन प्रतियोगितमा प्राथमिक तहबाट आरुस्मा गुरुङ प्रथम, सुयोग कँडेल द्वितीय र स्यारुन गुरुङ तृतीय भएका थिए ।
निमावितर्फ निष्मा पुन, पवन विश्वकर्मा र युनिशा परियार क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भए भने मावि तहका अनु पुन प्रथम, जानुका श्रीस द्वितीय र सुशान्त राई र अजित गुरुङले तृतीय स्थान प्राप्त गरे । प्रतियोगिताका संयोजक एवं निर्णायक रविन गुरुङलाई सम्मान गरिएको छ ।
सोही अवसरमा स्टान युनेस्को ट्यालेन्ट हन्ट २०२२ गण्डकी प्रदेशमा प्रथम हुन सफल गोकुल श्रेष्ठ, आयुष मल्ल र दीप्सन गुरुङसहित विषयक शिक्षक ठाकुरसिंह थापालाई पनि सम्मान गरियो । विद्यालयका संस्थापक प्राचार्य बाबुराम बरालको अध्यक्षतामा भएको कार्यक्रममा सहप्राचार्यहरु खेम ढकाल र कृष्णप्रसाद ढकाल र शैक्षिक विभाग प्रमुख पेमा दर्शनाले पनि बोलेका थिए ।
तपाईको प्रतिक्रिया