अपर सोलुको आइपिओ आउँदै

काठमाडौं ।
अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणमा साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले यही असार २० गतेदेखि प्रतिकित्ता १ सय अंकित १९ करोड ५७ लाख ५० हजार मूल्य बराबरको १९ लाख ५७ हजार ५ सय कित्ता साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले कुल निष्काशनको २ प्रतिशतले हुने ३९ हजार १ सय ५० कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात् ९७ हजार ८ सय ७५ कित्ता सामूहिक लगानी कोषलाई छुट्याई बाँकी १८ लाख २० हजार ४ सय ७५ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्ने जनाएको छ । कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रानुसार सर्वसाधारणले यही असार २३ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने छन् ।
जसमा मागबमोजिम आवेदन नपरे आगामी साउन २ गतेसम्म बिक्री खुला हुनेछ । हाल आइपिओमा आवेदन दिनेको संख्यामा उल्लेख्य वृद्धि भएकाले निष्काशन बन्द छिटो नै हुने देखिन्छ । कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिका हुँदै बहने सोलुखोलामा २३.५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत तथा मेरो शेयरको मोबाइल एप तथा वेबसाइटमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्रनपी–आइआर बिबी प्लस’ ग्रेडिङ दिएको छ ।
तपाईको प्रतिक्रिया