टेलिकमले घटायो इन्टरनेट शुल्क

समाधान संवाददाता २०७९ असार १० गते ११:३०

काठमाडौं ।
नेपाल टेलिकमले इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल घटाएको छ । कम्पनीले यही असार १ गतेदेखि लागू हुने गरी इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म घटाएको हो । इन्टरनेटको लिज लाइनअन्तर्गत १ देखि २० एमबिपीएस ब्यान्डविथको महसुल दर अब १ हजार ६ सयमात्र कायम गरिएको छ । यसअघि २ हजार शुल्क थियो ।

Advertisement

२१ देखि ५० एमबिपीएसको महसुल दर २ हजार ३ सय रहेकामा १ हजार ६०० बनाइएको छ । ५१ देखि १ सय एमबिपीएसको २ हजार १ सय र १ सय एमबिपीएस ब्यान्डविथभन्दा बढी क्षमताको महसुल १ हजार ९ सय रहेकामा दुवैको महसुल दर घटाएर १ हजार ५ सय कायम गरिएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

इन्ट्रानेट लिज लाइनअन्तर्गत १ देखि १० एमबिपीएस व्यान्डविथको महसुल २ हजार ७ सय रहेकामा २ हजार ४ सय बनाइएको छ । यसैगरी ११ देखि १ सय एमबिपीएसको २ हजार ४ सय रहेकामा २ हजार १ सय, १ सय एमबिपीएसभन्दा बढीको २ हजार १ सय रहेकामा १ हजार ८ सय कायम गरिएको छ ।

नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका माग अनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । उक्त सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधैं बराबर रहननाका साथै २४ सै घण्टा निरन्तर डेडिकेटेडरूपमा उपलब्ध भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया