२० युनिटसम्म बिजुली खपत गर्ने रुपाबासीको बिल पालिकाले तिरिदिने

आगामी आर्थिक वर्षलाई स्वरोजगार वर्षका रुपमा मनाउने ७० लाख बजेट

समाधान संवाददाता २०७९ असार १० गते १२:३०

पोखरा ।
रुपा गाउँपालिकाले २० युनिटसम्मको बिजुली खपत गर्ने पालिकाबासीको महसुल तिरिदिने भएको छ । उपाध्यक्ष लालसुब्बा गुरुङले बिहीबार प्रस्तुत गरेको आव वर्ष २०७९-८० को बजेटमा यस्तो उल्लेख छ । विद्युत महसुल तिर्न पालिकाले १५ लाख विनियोजन गरेको छ । स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन लक्षित समूहलाई प्राथमिकता दिन ५ लाख बजेट छ ।

‘गाउँपालिकाभित्रका सांस्कृतिक सम्पदा र संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्न ३० लाख विनियोजन गरेको छु,’ उपाध्यक्ष गुरुङले भनिन् । रुपाकोट अस्पताल भवन निर्माण गर्न १ करोड छुट्याइएको छ । रुपाले प्रशासकीय भवन निर्माणका लागि २ करोड रुपैयाँ बजेट राखेको छ । वडा नं २ को भवन निर्माणका लागि १ करोड ५७ लाख बजेट छ । वडा नं १ र ३ जोड्ने सडक निर्माणका लागि २ करोड ५० लाख बजेट छुट्याएको उपाध्यक्ष गुरुङले बताइन् ।

‘गाउँपालिकाले कमाउँदै पढ्दै कार्यक्रमलाई प्राथमिकता दिएको छ,’ उनले भनिन्, ‘कमाउँदै पढ्दै कार्यक्रमसँगै गाउँपालिकाको शैक्षिक विकासका लागि ६५ लाख रुपैयाँ छुट्याएको छु ।’ लक्षित वर्गको सशक्तीकरण र सुरक्षाका लागि लैंगिक समानता र सामाजिक समावेशीकरणका लागि ६२ लाख विनियोजन भएको छ । पालिकाका कर्मचारीको पोशाक भत्ताका लागि ४ लाख ७० हजार र करार कर्मचारीको तलब भत्ताका लागि २ करोड ९२ लाख विनियोजन गरिएको छ ।

Advertisement

पालिाकाले खेलकुदमा २० लाख विनियोजन गरेको छ । स्थानीय सडक स्तरोन्नति गरी सुरक्षित र बाह्रै महिना यातायात सञ्चालनका लागि पूर्वाधार निर्माण र पुल निर्माणका लागि १ करोड २४ लाख ५० हजार बजेट छुट्याएको छ । कृषिको विकासका लागि सिँचाइ पूर्वाधारको निर्माण गरी उत्पादन वृद्धि गर्न ४१ लाख विनियोजन गरिएको उपाध्यक्ष गुरुङले बताइन् । गाउँपालिकालाई सूचना प्रविधिमैत्री बनाई सेवा प्रवाह गर्न ३० लाख बजेट छ ।

आधारभूत तथा माध्यामिक तहका स्वीकृत शिक्षक, राहत तथा विद्यालय कर्मचारीको तलव भत्ताका लागि १० करोड ४८ लाख ३४ हजार रुपैयाँ बजेट छ । क्षयरोगमुक्त गाउँपालिका अभियानलाई सार्थकता दिन विभिन्न कार्यक्रम सञ्चालन गर्न १७ लाख बजेट विनियोजन भएको छ । ‘खानेपानी तथा सरसफाइ व्यवस्थापनका लागि ३६ लाख ५० हजार रुपैँया विनियोजन गरेको छु,’ उनले भनिन्, ‘सुरक्षित आवास कार्यक्रमलाइ निरन्तरता दिइएको छ ।’

Advertisement

गाउँसभामा अध्यक्ष नवराज ओझाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले आगामी आर्थिक वर्षलाई स्वरोजगार वर्षका रुपमा मनाइने उल्लेख गरे । स्वरोजगार वर्षको रुपमा मनाउन तथा स्थानीय स्तरमा सुलभ र सुरक्षित व्यवसायिक कर्जा उपलब्ध गराई स्वरोजगारतर्फ उन्मुख गराउन गाउँपालिकाले ७० लाख विनियोजन गरेको छ ।

तपाईको प्रतिक्रिया