यातायात स्वतन्त्र मजदुरको ४३ औं स्थापना दिवसमा ६० युनिट रगत संकलन

समाधान संवाददाता २०७९ असार १० गते १३:१७

पोखरा ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४३ औं स्थापना दिवसको अवसरमा संगठनको गण्डकी प्रदेश कार्यालयले खुला रक्तदान, शुभकामना आदानप्रदान र दीप प्रज्वलन कार्यक्रम गरेको छ ।

Advertisement

रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको संगठनका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश कमिटी अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए । ‘श्रमको सम्मान, मर्यादित काम, सामाजिक सुरक्षा कार्यान्वयनमा हाम्रो अभियान’ भन्ने नाराका साथ कार्यक्रम भएको थियो ।

नेपाल टे«ेडयुनियन महासंघ (जिफन्ट) राष्ट्रिय कमिटी उपाध्यक्ष तथा गण्डकी प्रदेश सभाका सदस्य मिना गुरुङले आम मजदुरको सामूहिक प्रयास र एकता विना योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याउन नसकिने बताइन् । उनले योजनालाई प्रभावकारी कार्यान्वयनका लागि आम श्रमिकहरु एकजुट हुनुपर्ने आवाज उठाइन् ।

उनले ट्रेड युनियनहरुले योजना कार्यान्वयनका लागि रोजगारदाता र सरकारबीच समन्वय गरेको उल्लेख गरिन् । जिफन्ट गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्रबहादुर खत्रीले मजदुरको एकतामा बल र शक्ति भएको बताए । उनले लागुऔषधको सेवन गरेर सवारी दुर्घटना भएको प्रमाणित भएमा जन्मकैद (२४ वर्ष) हुने बताए । निजी क्षेत्रबाट सार्वजनिक यातायातको क्षेत्रमा २० अर्बको लगानी भए पनि राज्यले व्यवस्थित गर्न नसकेको उनले उल्लेख गरे ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका संस्थापक सदस्य उद्धव दाहालले विचारले प्रशिक्षित र गुणात्मक संगठन बनाएमा सबै खालका अराजकताको अन्त्य हुने बताए । संगठनका केन्द्रीय उपमहासचिव तथा गण्डकी प्रदेशका इन्चार्ज विष्णुबहादुर पराजुलीले हरेक पार्टीका नाममा सगठन खोले मजदुरका मुद्दा कमजोर हुने टिप्पणी गरे ।

Advertisement

संगठनका सचिव तथा गण्डकीका अध्यक्ष विष्णुबहादुर केसीले संगठनले आधारभूत तहमा यातायात क्षेत्रका मजदुरको पक्षमा काम गरेको दाबी गरे । कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक प्रकाश ठकुरी, यातायात मजदुर संगठन गण्डकीका पूर्व अध्यक्ष बद्रीनाथ पराजुली, संगठनका गण्डकी प्रदेश कमिटीका सचिव नारायणप्रसाद रिमाल, संगठन गण्डकीका सचिवालय सदस्य श्यामकुमार बजगाई, संगठनका पोखरा महानगर कमिटीका अध्यक्ष बेनीराज थिङ लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया