वालिङमा व्यावसायिक ड्रागनखेती सुरु

राष्ट्रिय समाचार समिति (रासस) २०७९ असार १० गते १४:२९

वालिङ ।
स्याङ्जाको वालिङ–१ धरमपानीमा व्यावसायिकरुपमा ड्रागनखेती सुरु भएको छ । वालिङ नगरपालिका–१ का कृष्णप्रसाद ढुङ्गानाले गत फागुनदेखि व्यावसायिकरुपमा ड्रागन खेती थालेका हुन् ।

Advertisement

ढुङ्गानाले ८० रोपनी जमिन भाडामा लिएर सुरुमा चार हजार बिरुवाबाट व्यवसाय थालेका हुन् । यस क्षेत्रकै नयाँ र नौलो व्यवसायको थालनी उनले युटुबको सहायतामा अगाडि बर्ढाएका हन् ।

‘युटुब हेर्दै जाँदा ड्रागन खेतीकाबारेमा देखेपछि यस क्षेत्रमै नयाँ र सम्भावना देखेकाले व्यावसायिकरुपमा थालनी गर्ने सोंच बनाएँ’ उनले भने ‘सुरुमा जमिन भाडामा लिएर सम्याउने काम सकिएसँगै चार हजार बिरुवा लगाएर सुरुआत गरेको हुँ । ८० रोपनी जमिनमा ३० हजार ड्रागनका बिरुवा लगाउने उनको योजना छ । तीस हजार बिरुवाका लागि उनले १० हजार सिमेन्टका खम्बा निर्माण गरेका छन् भने प्रत्येक खम्बामा तीन-चार वटा बिरुवा लगाउने तयारीमा छन् ।

सिँचाइका लागि पर्याप्त पानीको आवश्यकता नपर्ने, हावापानी र माटो ड्रागनखेतीका लागि उपयुक्त भएकाले हालसम्म लगाएको बिरुवा राम्रो हुँदै गएको उनले बताए ।

‘वीरगञ्ज, विराटनगरबाट बेर्ना तथा बीउ ल्याएर लगाएको हुँ’, उनले भने ‘अहिले राम्रो हुँदै गएकाले अझै बिरुवा थप्दै विस्तार गर्दै जाने तयारीमा छु ।’ नयाँ र नौलो फल हुनुका साथै यसको माग पनि बढ्दै गएकाले उत्पादित वस्तुको बजारीकरणमा समस्या नहुने उनको धारणा छ ।

Advertisement

एकपटक रोपेपछि वर्षौंसम्म पनि फल दिने भएकाले पनि यो खेती सजिलो र पछिल्लो समय व्यावसायिकरुपमा गरिँदै गएको छ । फल र स्वाद दुवै स्थानीयका लागि नौलो भएकाले पनि उत्पादन गर्नसकेमा उत्पादन भएको ठाउँबाट नै बिक्री हुनसक्ने उनको भनाइ छ ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया