कर्मचारी—व्यवस्थापन किचलोको मारमा बिरामी

समाधान संवाददाता २०७९ असार १० गते २०:२३

अभिषेक अधिकारी । पोखरा
उमेरले ६० पार गरिसकेका बागलुङका एकजना पुरुष कलेजोका बिरामी छन् । विगत १ वर्षदेखि पोखराको मणिपाल अस्पतालमा उपचरत उनी प्रत्येक महिना डाक्टरको परामर्शमा आउँछन् । उपचारको सिलसिलामा बिहीबार मध्यान्ह ३ बजे मणिपाल शिक्षण अस्पताल आएका उनले ओपिडी टिकट नै पाएनन् । ‘हड्ताल छ भन्ने थाहै भएन बिहीबारै उपचार हुन्छ भनेर अएको हड्तालले गर्दा समयमा उपचार पाइएन आज (शुक्रबार) बिहानै साढे ५ बजे लाइन बस्दा बल्ल ५१ नम्बरको टोकन पाइयो,’ उनले भने । उनी जस्ता सयौँ विरामी पहिलो दिन आएर उपाचार नपाउने छन् ।

Advertisement


लेकसाइड निवासी ७० वर्षीय वृद्धाले पनि आफू बिहान ५ बजे लाइन बस्दा मात्रै टोकन पाएको गुनासो गरे । बिरौटा निवासी ६५ वर्षीया महिलाले पनि बिहान ७ बजे लाइन बस्दा ९१ नम्बरको टिकट पाएको गुनासो गरिन् । दैनिक ६ सय बिरामीलाई ओपिडी सेवा दिँदै आएको मणिपाल शिक्षण अस्पतालमा कर्मचारीहरुले बिहान ८ः३० देखि मध्यान्ह १ बजेसम्म आन्दोलन चलाइरहेका छन् । अस्पतालले स्वास्थ्य बिमा भएका सयजना र नभएका सयजना गरी २ सय जनालाई मात्र सेवा उपलब्ध गराएको छ । अस्पतालका एक कर्मचारीले मध्यान्ह साढे ३ बजेदेखि नै डाक्टरहरुले सेवा नदिने गरेको बताए ।


अस्पताल प्रशासनले शोषण गरेको आरोप लगाउँदै मणिपाल स्वतन्त्र कर्मचारी युनियन, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन, अखिल नेपाल स्वास्थ्य श्रमिक संघ र अस्पतालका कर्मचारीहरुले संयुक्त रुपमा नै अस्पतालको सेवा प्रभावित हुने गरी ओपिडी दैनिक ५ घण्टा अवरुद्ध पारेका छन् । कर्मचारीहरुलाई सुत्केरी बिदा, किरिया बिदा नदिएको, तलब वृद्धि नगरेको र उपदानजस्ता सेवासुविधा नदिइएको कर्मचारीहरु बताउँछन् ।

Advertisement


अखिल नेपाल स्वस्थ्य श्रमिक संघकाका अध्यक्ष कमलप्रसाद अधिकारीले अस्पताल प्रशासनले स्थायी कर्मचारीहरुलाई सम्पूर्ण सेवा सुविधा दिइएको तर करारकालाई भने भेदभावपूर्ण व्यवहार गरेको बताए । ‘अस्पतालको भेदभावले नै हामी आन्दोलित भएका हौ, गर्भपात भएको अवस्थामा पनि सुत्केरी विदामा झै महिला कर्मचारीले विदा पाउनुपर्ने हो तर अस्पताल प्रशासनले करारमा रहेका कर्मचारीलाई यस्तो संवेदनशील समयमा पनि विदा दिएको छैन,’ उनले भने । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष अमृतबाबु पौडेलले किरिया बिदा माग्दासमेत अस्पतालले विदा चाहिने भए जागिर छोड्न धम्की दिएको बताए ।


अस्पतालको प्रांगणमा नै ७ बुँदाको मागपत्रसहित कर्मचारी आन्दोलनमा बस्ने गरेका छन् । श्रम ऐन ०७४ अन्तर्गत एकैघरका आफन्तको मृत्यु हुँदा कर्मचारीले पाउनुपर्ने किरिया बिदा नदिएको भन्ने उनीहरुको भनाइ छ । अस्पताल प्रशासनका बारेमा विभिन्न निकायमा निवेदन दिँदासमेत सुनुवाइ नभएको ३ वटै कर्मचारी संगठनले जनाएका छन् ।

Advertisement


नेपाल स्वस्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष अमृतबाबु पौडेलका अनुसार सन् २०१० मा कास्की सिडिओ कार्यालयमा अस्पताल प्रशासन र कर्मचारी संगठनहरुबीच ५ वर्ष अस्पतालमा काम गरिसकेका कर्मचारीले ३० प्रतिशत उपदान पाउने, १० वर्ष काम गर्नेले ६६ प्रतिशत १५ वर्ष वा सोभन्दा बढी अस्पतालमा आवद्ध कर्मचारीले सत प्रतिशत अनुदान पाउनुपर्ने सम्झौता भएको थियो । ‘२०७४को श्रम ऐन आएसँगै अस्पताल प्रशासनले उपदानको सम्बन्धमा सन् २०१० मा गरिएको सम्झौता बहिष्कार गरेको छ,’ उनले भने, ‘हामी ०७४ सालपछि आएका कर्मचारीहरुमा ०७४ कै ऐन लागु हुन्छ भने पनि स्वीकार्न तयार छौँ तर ७४ अघिका कर्मचारीलाई सन् २०१०को सम्झौता बमोजिम नै उपदान उपलब्ध गराइनुपर्छ ।’ सम्झौता गरिएभन्दा कम उपदानको व्यवस्था ७४ सालको श्रम ऐनले गरेको छ ।


माणिपालका प्रशासक भानु भाद्वाजले भने श्रम ऐन २०७४ को लागु सँगै सन् २०१० को सम्झौता खारेज भएको बताए । स्थायी र अस्थायी कुनै पनि कर्मचारीलाई अस्पताल प्रशासनले कुनै पनि भेदभाव नगरेको प्रशासक भारद्वाजको भनाइ छ । ‘किरिया बिदा लिइसकेको २ महिनासम्ममा कर्मचारीले डेथ सर्टिफिकेट कर्मचारीले देखाउनुपर्छ,’ उनले भने, ‘मणिपालले नेपालभर नै उत्कृष्ट पारिश्रमिक दिएको छ र कोभिडपछि भने वृद्धि गरिएको छैन । अब तलब वृद्धि पहल गर्न राखिएको फाइल मेरो अफिसमा छ जहाँ कर्मचारीहरुले जनवरी ५ देखि तालाबन्दी गरेका छन् । मैले उहाँहरुको माग कसरी पूरा गर्ने ? मैले अस्थायी रुपमा नै आफ्नो अफिस सारेर कम गरिरहको छु ।’


भारद्वाजले कर्मचारीहरुलाई वार्ता लागि आह्वान गरिएको र हप्ता दिनभित्र वार्ता गरिने जनाए । उनले भने, ‘संसारको जुनसुकै आन्दोलन पनि वार्ताबाट समाधान नहुने भन्ने हुँदैन, हामीले कर्मचारीहरुलाई अन्याय गरेका छैनौं,’ उनले भने, ‘हामीलाई पूर्ण विश्वास छ वार्ताको माध्यमबाट नै समस्या समाधान हुन्छ र बिरामीहरुले विना अवरोध स्वास्थ्य सेवा पाउँछन् ।’ कर्मचारीहरुले भने माग पूरा नभए अझ कडा विरोधमा उत्रने बताएका छन् ।

तपाईको प्रतिक्रिया