स्थानीय तह

मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा २८ करोड ९४ लाखको बजेट पारित (पूर्णपाठसहित)

सुन्दरकुमार थकाली २०७९ असार १० गते २१:३६

जोमसोम–

‘कृषि र पर्यटन सुधार,वारागुङ मुक्तिक्षेत्रको समृद्धिको मुल आधार’ भन्ने नारासहित मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले शुक्रबार आगामी आर्थिक वर्ष २०७०÷०८० को लागि २८ करोड ९४ लाखको अनुमानित बजेट सार्वजनिक गरेको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको प्रशासकीय भवनमा आयोजित १४ औं गाउँ सभाको नीति तथा कार्यक्रम अध्यक्ष रिङजिन नाम्गेल गुरुङ र बजेट गाउँपालिकाकी उपाध्यक्ष ढिकी गुरुङले उक्त बजेट प्रस्तुती गरे।

प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर र प्रसिद्ध धार्मिक श्राद्ध स्थल कागबेनी समेत रहेको वारागुङ मुक्तिक्षेत्रले कृषि र पर्यटन लगायतलाई मुख्य प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको हो ।वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले चालुतर्फ १५ करोड ३३ लाख ५२ हजार र पुँजिगत विकास खर्चतर्फ १३ करोड ६० लाख ५८ हजार विनियोजन गरेको उपाध्यक्ष ढिकी गुरुङले सुनाईन् ।जसअन्तर्गत संघ तथा प्रदेशको सशर्त चालुतर्फ ७ करोड ६३ लाख र संघ तथा प्रदेशको सशर्त पुँजिगत बजेट १ करोड ३५ लाख छ ।यस्तै,संघीय विशेष अनुदान १ करोड छ भने प्रदेशतर्फ समपुरक र विशेष अनुदान गरी १ करोड विनियोजन गरिएको उपाध्यक्ष ढिकी गुरुङले जानकारी दिईन् । यस्तै,पालिकाको आन्तरिक श्रोत ३१ लाख अनुमान गरिएको छ ।

Advertisement

वारागुङ मुक्तिक्षेत्रको संघीय समानिकरण अनुदान ७ करोड १६ लाख भने प्रदेश समानिकरण अनुदान ५१ लाख ९९ हजार छ ।यस्तै,राजश्व बाँडफाँडतर्फ संघीय सरकारको ४ करोड ३७ लाख छ भने प्रदेश राजश्व ३८ लाख २० हजार छ ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कुल बजेटको २२ दशदलव २८ प्रतिशत अर्थात ६ करोड ४४ लाख ९१ हजार बजेट संस्थागत विकास तथा सेवा प्रवाहक्षेत्र तर्फ विनियोजन गरेको छ ।

आर्थिक विकासतर्फ २ करोड ११ लाख ६४ हजार अर्थात ७ दशमलव ३१ प्रतिशत ,सामाजिक विकास क्षेत्रतर्फ ८ करोड ९७ लाख ८६ हजार अर्थात ३१ दशमलव ०२ प्रतिशत ,पूर्वाधार विकास क्षेत्रतर्फ १० करोड ३२ लाख ४९ हजार अर्थात ३५ दशमलव ६६ प्रतिशत र वातावरण तथा विपद् व्यवस्थापनतर्फ १ करोड ८ लाख अर्थात ३ दशमलव ७३ प्रतिशत बजेट विनियोजन गरेको उपाध्यक्ष गुरुङले उल्लेख गरिन् ।

Advertisement

वारागुङ मुक्तिक्षेत्रले आर्थिक विकासतर्फ पर्यटकीय क्षेत्रको थप प्रर्वद्धनका लागि पर्यटकीय स्थलमा साईनबोर्ड निर्माण गर्न ७ लाख ,संस्कृति सरक्षणका लागि यार्तुङ मेला आयोजना गर्न १० लाख कृषि आत्मनिर्भर र व्यवसायिकरणका लागि कृषि औजार उपकरण साझेदारी,नगदेबाली उत्पादन ,रैथानेबाली प्रर्वद्धन,कृषि उत्पादकत्वमा अनुदान ,माटो परीक्षण र कृषिमा जोखिम न्यूनिकरण गर्न ८२ लाख ६९ हजार विनियोजन गरिएको छ । यस्तै,पशुजन्य उत्पादन वृद्धि गर्दै गाउँलाई आत्मनिर्भर तुल्याउन विभिन्न शिर्षकमा ३७ लाख ९५ हजार विनियोजन गरिएको हो ।

वातावरण तथा विपद् व्यवस्थापनतर्फ जलवायु परिवर्तनको असर र त्यसको असरबाट सुरक्षित हुने अनुकुलन ,विपद् व्यवस्थापनबाट हुने क्षति न्यूनिकरण ठुला पूर्वाधार योजनालाई वातावरणमैत्री बनाउन र वन र वातावरणक्षेत्रको सरक्षण गर्न ,पारस्थितीक प्रणालीको सरक्षण र प्रदुषण नियन्त्रण गर्ने लगायतका कार्यक्रममा ८ लाख विनियोजन गरिएको छ ।संस्थागत विकास तथा सेवा प्रवाहतर्फ पालिकाको सेवा प्रवाहलाई सेवामैत्री र प्रविधिमैत्री बनाई सुशासनको प्रत्याभुती दिने लक्ष्य अनुसार क्षमता विकास तालिम,कर्मचारीको मनोबल उच्च बनाउन ,प्रशासकीय भवनको थप सामाग्री खरिद गर्न लगायतमा ६ करोड ४४ लाख ९१ हजार बजेटमा समावेश गरिएको छ ।

सामाजिक विकास तर्फ कागबेनी स्वास्थ्य चौकीमा प्रयोगशाला निर्माण,फल्याक स्वास्थ्य चौकी व्यवस्थापन,स्वास्थ्य शिविर, चौमासिक रुपमा ३० वर्ष माथिका व्यक्तिको रक्तचाप र मधुमेह रोग परीक्षण ,६० वर्ष माथिका व्यक्तिलाई निशुल्क दीर्घ रोग परीक्षण र औषधि लगायतमा ५९ लाख छुट्याईएको छ ।

पालिका अन्तर्गतका शैक्षिक सस्थामा कार्यरत शिक्षक र कर्मचारीलाई बजेट तर्जुमा गरिएको छ ।जननर्मल माविमा २ जना शिक्षकलाई तलव भत्ता दिन १४ लाख ९८ हजार अनुदान दिईने छ ।बाल सहजकर्ता,लेखा सहायक र कार्यालय सहयोगीलाई तलव भत्ता वापत १७ लाख ६८ हजार,गाउँपालिका भित्रका कक्षा ११ र १२ मा पढ्ने गरिव तथा जेहेन्दार विद्यार्थीलाई प्रति विद्यार्थी १ लाख दिने गरी ५ लाख विनियोजन गरिएको छ ।

विद्यालय होस्टेलमा सौय उर्जा जडान गर्न ५ लाख,भाषा शिक्षक तलव १५ जना विद्यार्थीलाई ४ हजारका दरले आवासिय सुविधा,विद्यालयमा दिवा खाजा,हिउँदे बिशेष पढाई सञ्चालन,स्थानीय पाठ्यक्रम निर्माण तथा छपाई र आयुर्वेद शाखालाई कार्यक्रम सञ्चालन गर्न ५ लाख विनियोजन गरिएको छ ।

शुक्रबार वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९ ÷०८० को नीति तथा कार्यक्रम र उपाध्यक्ष ढिकी गुरुङले प्रस्तुत गरेको बजेट वारागुङ मुक्तिक्षेत्रको गाउँ सभाले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत जित बहादुर रानाले जानकारी दिए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया