स्थानीय तह

लोमान्थाङले ल्यायो २५ करोडको बजेट

लोमान्थाङमा विद्युतीय भुक्तानी सुरु :

सुन्दरकुमार थकाली २०७९ असार ११ गते १९:५३

जोमसोम–
उत्तरी चिनसंग सीमाना जोडिएको धार्मिक तथा पर्यटकीय गाउँपालिका लोमान्थाङले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि २५ करोड ३५ हजारको बजेट पेश गरेको छ ।शुक्रबार लोमान्थाङमा आयोजित तेह्रौ गाउँ सभामा अध्यक्ष टसी नर्बु गुरुङले नीति तथा कार्यक्रम र उपाध्यक्ष छ्युमी बिष्ट गुरुङले बजेट प्रस्तुत गरे ।

लोमान्थाङ गाउँपालिकाले चालुतर्फ १२ करोड ४८ लाख ८५ हजार र पुँजिगततर्फ १२ करोड ५१ लाख ५० हजार बजेट विनियोजन गरेको छ । लोमान्थाङको प्रस्तावित बजेटमा चालु र पुँजिगत खर्च समान रुपमा विनियोजन भएको छ ।
जसअन्तर्गत संघीयतर्फको बजेटमा वित्तिय समानीकरण ७ करोड १७ लाख, शसर्त अनुदान ८ करोड १ लाख, समपुरक अनुदान ५० लाख, विशेष अनुदान ८० लाख र राजश्व बाँडफाँडतर्फ ४ करोड ३८ लाख १९ हजार गरी २० करोड ८६ लाख १९ हजार बजेटमा समावेश गरिएको छ ।
यस्तै,प्रदेशतर्फको बजेटमा वित्तिय समानीकरण ४६ लाख ३३ हजार, शसर्त अनुदान ५० लाख र समपुरक अनुदान ५० लाख गरी १ करोड ६९ लाख बजेटमा समावेश गरिएको उपाध्यक्ष छ्युमी बिष्ट गुरुङले जानकारी दिईन् ।
लोमान्थाङ गाउँपालिकाले प्रस्ताव गरेको बजेटमा यसअघि विभिन्न योजनाहरुमा खर्च हुन नसकी मौज्याद रहेको रकम र गाउँपालिकाले प्रक्षेपण गरेको राजश्व अनुमान गरी २ करोड ४५ लाख १६ हजार समेत बजेटमा जोडिएको छ ।

लोमान्थाङ गाउँपालिकी उपाध्यक्ष छ्युमी बिष्ट गुरुङले प्रस्तुत गरेको बजेटमा आर्थिक विकासतर्फ ४ करोड ५५ लाख ६९ हजार, सामाजिक विकासतर्फ ६ करोड ९२ लाख २५ हजार, पूर्वाधार विकासतर्फ ८ करोड ३१ लाख ५० हजार, सुशासन तथा संस्थागत विकास योजनातर्फ ९० लाख ५१ हजार र कार्यालय सञ्चालनतर्फ ४ करोड ३० लाख ४० हजार रुपैया बजेट विनियोजन गरिएको छ ।

Advertisement

लोमान्थाङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि पेश गरेको बजेटमा लोमान्थाङमा एक स्थानीय तह एक अस्पतालको अवधारण मुताबिक ५ शैयाको अस्पताल निर्माण गर्न १ करोड बजेट विनियोजन गरेको छ ।लोमान्थाङले पालिकाका गौरवका योजना अन्तर्गत किमलिङ युनिफाईड स्कुल निर्माण गर्न १ करोड बजेट छुट्याएको छ भने दिव्यदीप घुम्ती विद्यालय भवन निर्माण गर्न ८० लाख बजेट विनियोजन भएको उपाध्यक्ष छ्युमी बिष्ट गुरुङले बताईन् ।

लोमान्थाङको १ र २ नं. वडामा नदी नियन्त्रण तटबन्ध निर्माण गर्न १ करोड ,ढाकार्तान देखि नामग्याल फुवा हुँदै किमलिङ सम्म मोटर बाटो निर्माण गर्न १ करोड, किमलिङ हाईअल्टिच्युड खेलमैदान निर्माण गर्न ५० लाख र हाईअल्टिच्युड गल्फ प्रतियोगिता सञ्चालन गर्न १० लाख बजेट विनियोजन गरिएको उपाध्यक्ष गुरुङले जनाईन् ।

Advertisement

लोमान्थाङमा विद्युतीय भुक्तानी सुरु :
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका जिल्लामै पहिलो आर्थिक वर्ष २०७९÷०८० को बजेट तथा कार्यक्रम सुत्र प्रणालीमा प्रविष्ट गरी स्वीकृत गरिसकेको लोमान्थाङ गाउँपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख उज्वल चपाईले जानकारी दिए । यसअघि कोष तथा लेखा नियन्त्रण कार्यालयले जिल्लाका ५ वटै स्थानीय तहका लेखा अधिकृतहरुलाई सुत्र प्रणाली सम्वन्धि जोमसोममा तालिम दिएसंगै लोमान्थाङ गाउँपालिकाले चेक लेस आर्थिक कारोबार गर्न सुरु गरेको आर्थिक प्रशासन शाखा प्रमुख चपाईले बताए ।
लोमान्थाले सुत्र प्रणाली मार्फत जिल्लामै ईएफटी बिद्युतीय भुक्तानी गरिसकेको र गत असार देखि चेक भुक्तानी बन्द गरेको उनले बताए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया