कास्की कांग्रेस लयमै छः किशोरदत्त बराल

समाधान संवाददाता २०७९ असार १२ गते १२:१३

पोखरा ।
नेपाली कांग्रेस कास्कीको बैठक शनिबार बसेको छ । यसअघिको बैठक सभापति किशोरदत्त बरालको कार्यशैलीप्रति आक्रोश पोख्दै केही सदस्यले बहिष्कार गरेका थिए । केहीको बहिष्कार र केही उपस्थित नभएपछि असार ५ गते बोलाइएको बैठक स्थगित भएको थियो ।
शनिबार बसेको बैठकले जिल्लाका विभागहरुलाई पूर्णता दिन संयोजकहरुलाई निर्देशन दिनेसहित विभिन्न निर्णय गरेको छ । सभापति बरालले सौहार्दपूर्ण वातावरणमा बैठक भएको समाधानलाई बताए । उनले भने, ‘प्रचारमा आएजस्तो केही भएको थिएन । सौहार्दपूर्ण वातावरणमा बैठक बस्यो । कास्की कांग्रेस लयमै छ ।’
बैठकमा स्थानीय चुनावको समीक्षा भएको छ । साउन ६ गते विपि स्मृति दिवस मनाउने, असार २५ कास्की स्थानीय तहमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई कार्यक्रम गरी बधाई दिने, मतदाता नामावली संकलनमा सक्रिय हुन कांग्रेसका नेता, कार्यकर्तालाई अनुरोध गर्ने निर्णयसमेत भएको जिल्ला सदस्य गंगाधर पराजुलीले जानकारी दिए ।
बैठकमा आएका केही सदस्यले आफूहरुलाई बैठकमा नजान कार्यसमितिभित्रै र बाहिरबाट समेत १९ पटकसम्म फोन आएको बताएका थिए । शनिबारको बैठकले जिल्ला सभापति बराल बहुमतमा भएको प्रमाणित भएको र अविश्वासको प्रस्ताव आउने हल्लेसमेत चिरेको एक जिल्ला सदस्यले बताए ।
यसअघिको बैठकमा सभापति बरालको कार्यशैलीको विरोधको नेतृत्व बरालसँगै सभापतिमा पराजित सुदीपमोहन भट्टराईले गरेका थिए । उनलाई कार्यसमितिका पदाधिकारी र सदस्यहरुले साथ दिएका थिए । कांग्रेसका तल्ला समितिमा नेतृत्व नगरी एकैचोटि जिल्ला सभापति भएका बराललाई पार्टीको संरचनागत पद्धति बिगारेको आरोपसमेत असन्तुष्ट पक्षले लगाएको थियो ।

तपाईको प्रतिक्रिया