पोखरा–‘खेलकुदको शहर’

समाधान संवाददाता २०७९ असार १२ गते १६:३८

धन बस्नेत । पोखरा
पोखराको खेलकुद इतिहासमै पहिलो पटक दक्षिण एशियाली खेलकुद(साग) आयोजना गरियो । पोखरालाई खेल पर्यटन(स्पोर्टस टुरिज्म)को हब बनाउने सपना र योजनालाई उचाईमा पु¥याईदियो । खेलकुदमा लगानी गर्नुपर्छ भन्ने भावना जगाईदियो । स्थानीय तहले पनि खेलकुदको पूर्वाधारमा लगानी र प्रतियोगिता आयोजना गर्नुपर्छ भन्ने सन्देश दियो । त्यही सन्देशलाई आत्मसात गर्दै महानगरपालिकाले पनि खेलकुदको पूर्वाधार विकास र प्रतियोगितालाई बजेट छुट्टाउन शुरु गर्यो ।

Advertisement


महानगरले अभियान नै चलायो–‘स्वास्थ्य नागरिक’ । तत्कालिन नगरप्रमुख मानबहादुर जिसीले स्वास्थ्य नागरिक अभियानलाई सार्थकता दिन ‘ओपन जिम’(खुल्ला व्यायामशाला) शुरु गरे । महानगरका वडाहरुमा रहेका खुला पार्कमा ९ वटा सामानको सेटसहित खुल्ला व्यायामशाला निर्माणलाई प्राथमिकता दिए । प्रत्येक वडाका खुल्ला पार्कहरुमा व्यायामशाला निर्माण गरिसकिएको छ । त्योसँगै महानगरले ‘एक वडा एक खेल मैदान’लाई मूर्त रुप दिएको छ । प्रत्येक वडामा खेल मैदानको रुपमा व्याडमिन्टन कोर्ट र भलिबल कोर्ट बनाइएको छ । ‘स्वास्थ्य नागरिक नै विकासको सूचक हो ।’ पोखरा महानगरपालिकाका तत्कालिन नगरप्रमुखका प्रेस संयोजक माधव बरालले बताए । उनका अनुसार व्यायामशाला र प्रत्येक वडामा खेलमैदान बनाउन महानगरपालिकाले झण्डै डेढ करोड रुपैयाँ खर्च गरेको छ ।


वडामा खेलकुदको पूर्वाधार विकास गर्ने ध्येयसहित महानगरले पोखरा–२० आँटीघर मौजा र पोखरा–१३ आर्वामा दीर्घकालिन योजनासहितको काम अघि बढाएको छ । मौजामा उचाईको खेलमैदान बनाउने गुरुयोजना बनेको छ । फुटबल मैदानसहित अन्य खेलको पूर्वाधार विस्तृत परियोजना प्रतिवेदनमा समेटिएको छ । १६ करोडको योजनासहित दीर्घकालिन खेलकुद परियोजनाको काम महानगरले दुईवर्ष अघि शुरु गर्यो । पहिलो र दोस्रो वर्ष गरी महानगरले ९० लाख रुपैयाँ उपलब्ध गराईसकेको छ । फुटबल मैदानको लागि वडाले ७ लाख रुपैयाँ खर्चिएको छ ।

Advertisement

‘खेलकुद पूर्वाधारलाई बजेट माग्छौं । यो महानगरकै गौरवको योजना हो । त्यसैले पहिलेको जति नघट्ने गरी बजेट माग्ने योजना छ ।’ पोखरा–२० का वडाध्यक्ष गंगाबहादुर केसीले भने–‘बजेट मागेर काम गर्न सकिए भने फ्रिज हुन्छ । गतवर्षको बजेट फ्रिज भएको सुन्नमा आएको छ । त्यसैले मागिएको बजेट अनुसार काम गर्छौ ।’ मौजाको फुटबल मैदानको लागि निवर्तमान वडाध्यक्ष सीम गुरुङको पालामा शुरु गरिएको थियो । मौजाको फुटबलमैदान १ हजार ७ सय मिटर उचाईमा छ । मौजामा फुटबल मैदान बनेको अवस्थामा ग्रामीण पर्यटन प्रवद्र्धनमा नयाँ आशा जाग्ने वडाध्यक्ष केसीको भनाई थियो ।


महानगरले दीर्घकालिन योजना अन्तर्गत पोखरा–१३ आर्वामा खेलग्राम निर्माण अगाडि बढायो । निर्वतमान वडाध्यक्ष दर्शन लामाले योजना अघि सार्दै काम शुरु गरेका थिए । शुरुको वर्षमा महानगरले १ करोड रुपैयाँ बजेट उपलब्ध गराएको थियो । त्यही बजेटबाट डाडाँ कटान गरेर फुटबल मैदानको आकार दिएको थियो । ‘यो वर्ष बजेट नै दिएको छैन् । आगामी आर्थिक वर्षमा खेलकुद पूर्वाधारको लागि महानगरसँग माग्छौं ।’ पोखरा–१३ का वडाध्यक्ष किरण बरालले भने–‘ठूलै पैसा लगानी भईसकेको छ । त्यसलाई पुरा गर्नुपर्ने खाँचो, दायित्व र जिम्मेवारी हाम्रो छ ।’

Advertisement


महानगरले आफनै योजना बाहेक अन्य विभिन्न संघसंस्थाको अगुवाईमा निर्माण शुरु गरिएका खेलकुद पूर्वाधारलाई समेत बजेट उपलब्ध गराएको छ । महानगरले पोखरा–१९ लामाचौरस्थित गोस्ते खेलमैदानलाई ६० लाख रुपैयाँ छुट्टाएको थियो । ‘पहिला ५० लाख रुपैयाँ र दोस्रो पटक १० लाख रुपैयाँ उपलब्ध गराएको छ ।’ गोस्ते खेल मैदान निर्माण उपभोक्ता समितिका सचिव बुद्धिबहादुर खत्री क्षत्रीले भने–‘कोभिड पछाडिको महानगरले गोस्ते खेलमैदानलाई बजेट दिएको छैन् ।’


उनका अनुसार महानगरले खेलमैदान निर्माणको शुरुवाती चरणमा उपलब्ध गराएको हो । लामाचौर गोस्ते खेल मैदान पोखरा रंगशालाको बैकल्पिक फुटबल मैदानको रुपमा विकास गरिएको छ । गण्डकी प्रदेश युथा तथा खेलकुद मन्त्रालयले समेत यसै आर्थिक वर्षभित्र सक्ने गरी केही रकम उपलब्ध गराएको छ । पोखरा–२९ भण्डारढीकलाई १ करोड रुपैयाँ छुट्टाएको थियो ।
तर कोभिड–१९ को त्रस्त अवस्थामा टेण्डर प्रक्रियामा जान नसक्दा बजेट फ्रिज भएको महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले बताए । पोखरा–१७ स्थित फेवा पावर हाउस नजिकै महानगरले खेलकुद पूर्वाधार बनाउने प्रयास गर्यो । फुटबल मैदानसम्म पुग्न तत्कालिन नगरप्रमुख जिसीले बाटो निर्माण गर्न २० लाख रुपैयाँ छुट्टाउँदै शिलान्यास गरे ।

फुटबल मैदानसम्म पुग्ने बाटो बन्यो । बाटो बनेपनि थप रकम विनियोजन नहुदाँ फुटबल मैदानको योजना अलपत्र परेको छ ।
खेलकुदको नयाँ ऐन बन्यो । युवा तथा खेलकुद मन्त्रालयले खेलुकद ऐन २०७५ बनायो । ऐनले स्थानीय तहमा समेत खेलकुद विकास समिति गठन गर्ने उल्लेख गरियो ।

स्थानीय तह देखि नै खेलकुदको विकास गर्नुपर्ने सुझावसहित खेलकुद विकास समिति गठन गर्ने ऐनमै उल्लेख भए अनुसार पोखरामा पनि महानगर खेलकुद विकास समिति गठन गरिएको छ । त्यसभन्दा अघि राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्ने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता प्रत्येक निर्वाचन क्षेत्रमा आयोजना गर्नुपर्ने प्रावधान बनायो । प्रावधान अनुसार कास्कीका चार गाँउपालिकामा छुट्टाछुट्टै रुपमा राष्ट्रपति रनिङ आयोजना गरिदैं आएको छ ।

महानगरले पनि पहिलो पटक राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना गर्यो । कोभिड–१९ अघि पहिलो पटक राष्ट्रपति रनिङशिल्डकै लागि बजेट छुट्टाउँदै प्रतियोगिता टुग्यायो । त्यसपछि कोभिडले दुई वर्ष रोकियो । महानगरले आयोजना गरेको राष्ट्रपति रनिङशिल्ड पहिलो हो । रनिङ शिल्डका लागि महानगरले १० लाख रुपैयाँ विनियोजन गरेको थियो । रनिङ शिल्डमा महानगरभित्रका निजी तथा सामुदायिक गरी ६० भन्दा बढी विद्यालयले सहभागिता जनाएका थिए ।


महानगरले खेलकुद विकास समिति गठनपछि पूर्वाधार र प्रतियोगिताको लागि झण्डै पौने दुई करोड रुपैयाँ बजेट छुट्टाएको छ । पोखरा अन्तराष्ट्रिय म्याराथनलाई १० लाख रुपैयाँ बजेटमा निरन्तरता दिइएको छ । त्यसपछि आहा रारा गोल्डकपलाई ५ लाख रुपैयाँ । ती बाहेक अन्य प्रतियोगितालाई समेत बजेट छ । ‘महानगर खेलकुद समिति गठनपछि कोभिडले केही समय प्रतियोगिता आयोजना गर्न सकिएन् ।’ महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारले भने–‘कोभिडको त्रास केही कम भएपछि स्वास्थ्य नागरिक अभियानसँगै खेलुकद प्रशिक्षण शुरु गरियो । प्रशिक्षण पछि प्रतियोगिता आयोजना गर्यौं ।’ खेलकुद समिति गठनपछि पूर्वाधार नभएको ठाँउमा पूर्वाधार बनाउने र भएका ठाँउहरुमा प्रतियोगिता सञ्चालन गर्ने गरी काम गरेका छौं ।’ उनको भनाई थियो ।


पोखरा रंगशालामा महानगर खेलकुद विकास समितिले व्याडमिन्टन, टेवलटेनिस, अन्तर पालिकास्तरीय भलिबल जस्ता प्रतियोगिता आयोजना गर्यो । आगामी असार ४ गते शनिबार ४५ किलोमिटरको साईक्लिङ रेस आयोजनाको संघारमा छ । त्यसपछि महानगर खेलकुद समितिले ‘महानगर वडास्तरीय फुटबल प्रतियोगिता’ आयोजना गर्ने जमर्कोसहित कास्की जिल्ला फुटबल संघसँग छलफलमा जुटेको छ । ती प्रतियोगिताको लागि आवश्यक बजेट विनियोजन भईसकेको छ ।


साग भन्दा अघि पोखरा महानगरपालिकाले खेलकुदको पूर्वाधार विकास र प्रतियोगिताकै लागि बजेट छुट्टाउने गरेको थिएन् । विभिन्न संघसंस्थाले आयोजना गर्ने प्रतियोगितालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएपनि महानगरले आफैंले आयोजना गरेको थिएन् । त्यसो त नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजना गरिने हुदाँ महानगरपालिकाले छुट्टाउने बजेट बढाउनुपर्ने खेलकुदकर्मीको सुझाव दिएका छन् । पदक जित्ने सम्भावित खेलमा महानगरले लगानी गर्नुपर्ने खाँचो खेलसंघले औल्याउँदै आएका छन् ।


पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन र खेलकुदको शहर उपमा दिइएको छ । खेलकुदको शहरको उपमालाई सार्थकता दिने प्रयासमा यतिबेला महानगर जुटिरहेको छ । पूर्वाधार विकास र नियमित प्रतियोगिताले खेलकुदको शहरको उपमालाई थप प्रष्टाईदिएको छ । राजधानी काठमाडौंपछि सबैभन्दा बढी खेलकुद प्रतियोगिता पोखरामै आयोजना हुने गरेका छन् । त्यसले पनि पोखरालाई खेलकुदको शहर भन्नुमा दुईमत छैन् ।

तपाईको प्रतिक्रिया